पेरिस, फ्रान्स, अक्टोबर २२। बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि, कमजोर सार्वजनिक सेवा र शिक्षा क्षेत्रको समस्याविरुद्ध सुरु भएको जनआन्दोलन हिंसात्मक बन्दै गएपछि फ्रान्स सरकारले राजधानी पेरिससहित विभिन्न प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा बनाएको छ। आगामी शनिबार पुनः व्यापक प्रदर्शन हुने सम्भावनालाई ध्यानमा राख्दै सरकारले कर्फ्यु, प्रदर्शन प्रतिबन्ध र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।
राजधानी पेरिसको ऐतिहासिक प्लास द ला रिपब्लिक र व्यस्त व्यापारिक क्षेत्र ले हालमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म आवतजावतमा लगाइएको प्रतिबन्ध सोमबारसम्म लम्ब्याइएको छ। मार्से र लियोनमा प्रदर्शन नियन्त्रण गर्न थप कडा प्रतिबन्ध लगाइएको छ। सुरक्षा जोखिमका कारण शनिबार विश्वप्रसिद्ध लुभ्र, ओर्से र पिकासो संग्रहालयसमेत बन्द गरिने भएको छ।
गत अक्टोबर १७ मा देशव्यापी प्रदर्शनमा करिब पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। सुरुमा अधिकांश स्थानमा शान्तिपूर्ण रहेका प्रदर्शनहरू पछि केही समूहको हिंसात्मक गतिविधि, आगजनी, लुटपाट र प्रहरीसँगको झडपका कारण भड्किएका थिए।
लियोनमा पर्यटन कार्यालयमा आगजनी गरिएको थियो भने लिमोज सहरको ऐतिहासिक नगरपालिका भवनमा भीषण आगलागी हुँदा भवनको छाना र घडी टावरमा गम्भीर क्षति पुगेको थियो। मार्सेमा पाँच सयभन्दा बढी व्यापारिक प्रतिष्ठान तोडफोड र लुटपाटको सिकार भएका थिए। पेरिसका विभिन्न सडकमा सवारीसाधन जलाइनुका साथै सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरिएको थियो।
फ्रान्सेली अधिकारीहरूका अनुसार देशव्यापी हिंसाका घटनामा हालसम्म करिब दुई हजार सात सय व्यक्ति पक्राउ परेका छन्। तीमध्ये एक हजारभन्दा बढी अदालतमा उपस्थित भइसकेका र २१७ जनालाई द्रुत न्यायिक प्रक्रियाबाट कारागार सजाय सुनाइएको जनाइएको छ। पक्राउ परेकामध्ये करिब आधाको यसअघि कुनै आपराधिक अभिलेख नभएको बताइएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसात्मक गतिविधिप्रति कठोर नीति अपनाउने स्पष्ट पार्दै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने नागरिकको अधिकार सुरक्षित रहने तर आगजनी, लुटपाट र राज्यका संस्थामाथिको आक्रमण सह्य नहुने बताएका छन्। उनले हिंसाका पछाडि अतिवामपन्थी समूहहरूको संलग्नता रहेको आरोपसमेत लगाएका छन्। यद्यपि प्रदर्शनकारीहरूले आफ्नो आन्दोलन महँगी, आर्थिक असमानता, कमजोर शिक्षा प्रणाली र सरकारका नीतिविरुद्ध केन्द्रित रहेको बताएका छन्।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आगामी प्रदर्शनलाई ध्यानमा राख्दै व्यापक सुरक्षा परिचालन गर्ने घोषणा गरेका छन्। सरकारले प्रहरी, विशेष सुरक्षा इकाइ र आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।
यसैबीच, प्रसिद्ध ‘येलो भेस्ट’ आन्दोलनका समर्थक, विद्यार्थी संगठन र मजदुर युनियनहरू फेरि सडकमा उत्रिने तयारीमा छन्। सरकारले अनुमति प्राप्त मजदुर संगठनका प्रदर्शनलाई सीमित मार्गमा सञ्चालन गर्न दिने तर अन्य जोखिमपूर्ण प्रदर्शनमाथि प्रतिबन्ध लगाउने नीति अघि सारेको छ।
राष्ट्रपति म्याक्रोंको कार्यकाल अन्तिम चरणमा प्रवेश गरिरहेको र सन् २०२७ को अप्रिल तथा मे महिनामा राष्ट्रपतीय निर्वाचन तय भएको अवस्थामा चर्किएको यो आन्दोलनले फ्रान्सको राजनीतिक वातावरण थप तनावपूर्ण बनाएको छ।
बढ्दो जनअसन्तुष्टि, आर्थिक दबाब र सुरक्षा चुनौतीबीच फ्रान्स सरकारले शान्ति सुव्यवस्था कायम गर्न सकेन भने आगामी दिनमा राजनीतिक अस्थिरता अझ गहिरिन सक्ने चिन्ता बढेको छ।
प्रतिक्रिया