अमेरिकी राष्ट्रपति Donald Trump दुई दिने उच्चस्तरीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । यो भ्रमणलाई विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति Xi Jinping सँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
आजको पहिलो औपचारिक कार्यक्रममा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा ट्रम्पको स्वागत समारोह आयोजना गरिनेछ । त्यसपछि दुई नेताबीच द्विपक्षीय वार्ता हुनेछ भने साँझ राजकीय भोजको कार्यक्रम तय गरिएको छ ।
भेटवार्तामा अमेरिका–चीन व्यापार सम्बन्ध, चर्किंदो प्रविधि प्रतिस्पर्धा, इरान युद्धको प्रभाव, ताइवानको विषय तथा विश्व शक्ति सन्तुलनजस्ता संवेदनशील मुद्दाहरू मुख्य एजेन्डामा रहने बताइएको छ । पछिल्लो समय दुवै देशबीच व्यापारिक शुल्क (ट्यारिफ), चिप प्रविधि र सैन्य प्रभाव विस्तारलाई लिएर तनाव बढिरहेको अवस्थामा यो भेटलाई विशेष चासोका साथ हेरिएको छ ।
ट्रम्पसँगै अमेरिकी प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि चीन पुगेका छन् । Elon Musk र Jensen Huang लगायतका प्रविधि उद्योगका शीर्ष अधिकारीहरू भ्रमण टोलीमा सहभागी छन् । चीन प्रस्थानअघि ट्रम्पले अमेरिकी उद्योग र प्रविधि कम्पनीहरूका लागि चीनले आफ्नो बजार अझ खुला बनाउनुपर्ने बताएका थिए ।
सन् २०१७ मा चीन भ्रमण गर्ने अन्तिम अमेरिकी राष्ट्रपति रहेका ट्रम्प यसपटक अझ शक्तिशाली र आत्मविश्वासी चीनको सामना गर्दै बेइजिङ पुगेका हुन् । पछिल्ला वर्षहरूमा चीनले आफूलाई स्थिर र प्रभावशाली विश्व शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास तीव्र बनाएको छ ।
अमेरिकी राष्ट्रपति Donald Trump र चिनियाँ राष्ट्रपति Xi Jinping बीच आज बेइजिङमा हुने उच्चस्तरीय वार्तामा व्यापार, प्रविधि, ताइवान र मध्यपूर्वको सुरक्षा अवस्थासहितका संवेदनशील अन्तर्राष्ट्रिय मुद्दाहरू केन्द्रमा रहने भएका छन् ।
दुई देशबीच गत अक्टोबरमा भएको व्यापारिक युद्ध ‘विराम’ सम्झौता यस भेटको सबैभन्दा महत्वपूर्ण एजेन्डा मानिएको छ । उक्त सहमतिपछि दुवै देशले नयाँ ट्यारिफ वृद्धि रोक्ने सहमति गरेका थिए । तर त्यो सम्झौताको अवधि आगामी नोभेम्बरमा सकिन लागेकाले अब त्यसलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।
बेइजिङले अमेरिकासँग व्यापार सन्तुलन सुधार गर्न केही ठूला खरिद प्रस्ताव अघि सार्ने तयारी गरेको जनाइएको छ । विश्लेषकहरूले यसलाई “फाइभ बी” रणनीति भनेर व्याख्या गरेका छन् । यसअन्तर्गत Boeing का विमान, अमेरिकी गाईको मासु, सोयाबिन तथा भविष्यमा व्यापार र लगानी विस्तारका लागि ‘बोर्ड अफ ट्रेड’ र ‘बोर्ड अफ इन्भेस्टमेन्ट’ गठनका प्रस्ताव समावेश छन् ।
यता चीनले भने वार्तालाई “थ्री टी” अर्थात् ट्यारिफ, टेक्नोलोजी र ताइवानको मुद्दामा केन्द्रित गरिरहेको छ । चीनले अझै पनि Taiwan लाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ ।
प्रविधि र आपूर्ति श्रृंखला (सप्लाई चेन) अहिले अमेरिका–चीन सम्बन्धको सबैभन्दा जटिल क्षेत्र बनेको छ । चीनले उन्नत सेमिकन्डक्टर चिप र चिप निर्माण उपकरणमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो बनाउन दबाब दिइरहेको छ । उता वाशिङ्टनले विद्युतीय सवारी, रक्षा उद्योग र एयरोस्पेस क्षेत्रमा अत्यावश्यक मानिने दुर्लभ खनिज (रेयर अर्थ) को आपूर्ति स्थिर बनाउन चीनसँग आग्रह गरिरहेको छ ।
ट्रम्पसँगै विश्वका ठूला उद्योगपति र प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरू पनि चीन पुगेका छन् । भ्रमण टोलीमा Elon Musk, Tim Cook तथा Kelly Ortberg सहभागी छन् । यसले अमेरिका–चीन सम्बन्ध केवल राजनीतिक मात्र नभई विश्वव्यापी उद्योग र आपूर्ति प्रणालीसँग प्रत्यक्ष जोडिएको सन्देश दिएको विश्लेषण गरिएको छ ।
वार्तामा इरान युद्ध, मध्यपूर्वको समुद्री सुरक्षा तथा विश्वकै महत्वपूर्ण तेल मार्ग मानिने Strait of Hormuz को अवस्थाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । एशियातर्फ तेल र एलएनजी आपूर्तिको मुख्य मार्ग भएकाले यस क्षेत्रको अस्थिरताले विश्व अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने चिन्ता बढिरहेको छ ।
यसैबीच ट्रम्प बेइजिङ पुगेको पहिलो रात चिनियाँ उपराष्ट्रपति Han Zheng ले स्वागत गरेका थिए । त्यसपछि उनी फोर सिजन होटलमा बसेका थिए ।
आजको कार्यक्रमअनुसार ट्रम्पलाई बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा औपचारिक स्वागत गरिनेछ । त्यसपछि ट्रम्प र सी चिनफिङबीच प्रत्यक्ष वार्ता हुनेछ भने साँझ राजकीय भोज आयोजना गरिने तालिका छ ।
विश्लेषकहरूका अनुसार वार्ताबाट निस्कने शब्द, संकेत वा सानो स्वर परिवर्तनले समेत विश्व शेयर बजार, अन्तर्राष्ट्रिय व्यापार र एशियाली क्षेत्रीय सुरक्षामा ठूलो प्रभाव पार्न सक्छ ।
यो भ्रमण मूलतः मार्च महिनाका लागि तय गरिएको भए पनि इरान युद्धका कारण स्थगित भएको थियो । अहिले मध्यपूर्वको तनाव, विश्व व्यापार र भू-राजनीतिक प्रतिस्पर्धाको पृष्ठभूमिमा ट्रम्पको चीन भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया