काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। केन्द्रीय बैंकले १६० दिनका लागि ४० अर्ब रुपैयाँ प्रणालीबाट खिच्ने तयारी गरेको हो।
पछिल्लो समय कर्जाको माग कमजोर हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक जम्मा भएको छ। सोही कारण बैंकहरूले करिब ३ प्रतिशत हाराहारीको न्यून ब्याजदरमै केन्द्रीय बैंकमा रकम राखिरहेका छन्। तरलता व्यवस्थापन र बजार ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।
यसपटकको बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्। बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँट गरिने व्यवस्था गरिएको छ।
बोलकबोल अनलाइन प्रणालीमार्फत हुने र ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ। न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोडको गुणनफलमा आवेदन दिन पाइनेछ। उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ।
खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन तरलता बढी देखिएमा केन्द्रीय बैंकले ६ महिनासम्मका लागि यस्तो उपकरण प्रयोग गर्न सक्ने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले पटक–पटक यस्तो उपाय अपनाउँदै आएको छ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको आरोपमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार निर्माण सेवासँग सम्बन्धित ठेक्काहरूबाट घुसबापत प्राप्त रकम विभिन्न बैंक खातामार्फत अधिकारीको नाममा जम्मा गरिएको पाइएको छ। सो रकमबाट संयुक्त रूपमा जग्गा, सुन खरिद तथा अन्य भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ।
कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामध्ये ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ घुस लिएको आरोप आयोगले लगाएको छ। गैरकानुनी रूपमा आर्जित रकम लुकाउन तथा रूपान्तरण गर्न गरिएको गतिविधि पनि पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै आरोपितविरुद्ध समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया