काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए । उनका अनुसार नयाँ सरकार गठन भएपछि पहिलोपटक संसद्को अधिवेशन आह्वान गर्न लागिएको हो । गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि बनेको सरकारले अब विधायिकालाई सक्रिय बनाउने तयारी थालेको उनले बताए ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले संविधान संशोधनका लागि बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता पोखरेलका अनुसार उक्त कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता रहनेछ । उनले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गरिने र राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पारिने बताए । सरकारले संसद् सञ्चालनसँगै आवश्यक कानुनी तथा नीतिगत सुधारलाई अघि बढाउने उद्देश्यका साथ यी निर्णयहरू गरेको उनले बताए ।
प्रतिक्रिया