अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता अगाडि बढिरहेको दाबी गर्दै आफ्नो प्रशासन “सही व्यक्तिहरूसँग संवादमा रहेको” बताएका छन्। उनका अनुसार इरान पक्ष सम्झौताका लागि अत्यन्त आतुर देखिएको छ। उनले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि वार्तामा सक्रिय रूपमा संलग्न रहेको जानकारी दिए।
ट्रम्पले पुनः एकपटक इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने सहमति जनाएको दाबी दोहोर्याए। साथै, तेहरानमा गरिएका आक्रमणहरूले “शासन परिवर्तन” ल्याएको उल्लेख गर्दै उनले त्यसलाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरे। उनले वार्ताबाट अमेरिकाले “अत्यन्त महत्वपूर्ण लाभ” पाउने संकेत पनि गरे, जसको सम्बन्ध तेल, ग्यास र होर्मुज जलडमरूमध्यसँग जोडिएको हुनसक्ने उनले बताए, तर विस्तृत विवरण खुलाएनन्।
शान्ति सम्झौताबारे सोधिएको प्रश्नमा ट्रम्पले आत्मविश्वासपूर्वक “यो युद्ध जितिसकिएको छ” भन्ने प्रतिक्रिया दिए। यद्यपि युद्ध कसरी औपचारिक रूपमा अन्त्य हुन्छ भन्ने स्पष्ट खाका भने उनले प्रस्तुत गरेनन्। उनले इरानसँग युद्ध अन्त्य गर्ने वार्ता अहिले नै जारी रहेको र अमेरिकी पक्षले कुरा गरिरहेका व्यक्तिहरू सम्झौताका लागि निकै इच्छुक रहेको दाबी दोहोर्याए।
तर ट्रम्पको यो दाबी इरानको आधिकारिक भनाइसँग मेल खाँदैन। केही दिनअघि मात्र इरानी अधिकारीहरूले अमेरिकासँग कुनै प्रत्यक्ष सम्पर्क नभएको भन्दै यस्ता समाचारलाई “नक्कली प्रचार” भनेका थिए।
यता इजरायल र इरानबीचको सैन्य टकराव जारी छ। दक्षिणी लेबनानका बासिन्दालाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिएको छ। उता अमेरिकी रक्षा मन्त्रालयले ८२औँ एयरबोर्न डिभिजनका सैनिकहरू मध्यपूर्वतर्फ पठाउने तयारी गरिरहेको खबर पनि सार्वजनिक भएको छ।
इरानभित्र भने युद्धको प्रभाव झन् गहिरिँदै गएको देखिन्छ। बीबीसी पर्सियनसँग कुरा गर्दै केही इरानी नागरिकहरूले “एकछिन आँखा चिम्लिँदा नै यो सबै समाप्त भइदियोस्” भन्ने चाहना व्यक्त गरेका छन्। इरानी रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ८२ हजारभन्दा बढी स्थानहरूमा क्षति पुगेको छ।
यसबीच अमेरिकी तथा इजरायली सञ्चारमाध्यमहरूले युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई १५ बुँदे प्रस्ताव दिएको दाबी गरेका छन्, तर उक्त दस्तावेज स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
अर्कोतर्फ, यो द्वन्द्वको प्रभाव विश्व अर्थतन्त्रमा पनि देखिन थालेको छ। विश्वकै ठूलो लगानी व्यवस्थापक कम्पनी ब्ल्याकरकका प्रमुख ल्यारी फिङ्कले तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुगेमा विश्वव्यापी मन्दी निम्तिने चेतावनी दिएका छन्। उनका अनुसार इरानबाट खतरा कायम रहिरह्यो र ऊर्जा मूल्य उच्च रह्यो भने त्यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्नेछ।
फिङ्कले द्वन्द्वको अन्तिम परिणाम दुई फरक दिशामा जानसक्ने बताए। यदि अवस्था सामान्य हुँदै इरान पुनः अन्तर्राष्ट्रिय समुदायमा स्वीकार्य बन्यो भने तेलको मूल्य घट्न सक्छ। तर त्यसो नभए लामो समयसम्म १०० डलरभन्दा माथि, सम्भवतः १५० डलरसम्म तेलको मूल्य रहनसक्ने र त्यसले गम्भीर आर्थिक मन्दी निम्त्याउने जोखिम रहेको उनको विश्लेषण छ।
ऊर्जा मूल्यमा आएको उछालपछि केही देशहरूमा आफ्नै तेल र ग्यास उत्पादन बढाउनुपर्ने बहस पनि चर्किएको छ। बेलायतमा उद्योग निकायहरूले आयातमा निर्भरता बढ्दै जाँदा ऊर्जा सुरक्षामा खतरा बढ्ने चेतावनी दिएका छन्।
मध्यपूर्वको यो युद्ध केवल सैन्य टकरावमा सीमित नरही विश्व राजनीति र अर्थतन्त्र दुवैलाई गहिरो असर पार्ने दिशातर्फ अघि बढिरहेको संकेत देखिएको छ।
प्रतिक्रिया