समय बलवान हुन्छ। समय आउँछ, तर कहिल्यै कसैलाई पर्खिँदैन। इतिहासले बारम्बार देखाएको सत्य यही हो कि समयको चाल नबुझ्नेहरू, चाहे उनीहरू जति शक्तिशाली किन नदेखिऊन्, अन्ततः समयको भेलमा बगेर हराउँछन्। समयसँगै परिवर्तन स्वीकार्न नसक्नेहरू पुराना हुन् वा नयाँ, कुनै न कुनै मोडमा इतिहासको पानाबाट हराउँदै जान्छन्। त्यसैले चेतनशील समाजका लागि सबैभन्दा ठूलो पाठ यही हो समय बुझ्नु, समय अनुसार चल्नु, र समयले दिएको संकेतलाई गम्भीरतापूर्वक ग्रहण गर्नु।
नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको एक प्रमुख पात्र केपी शर्मा ओली हुन्। उनी बोल्न जान्ने, भाषणमा माहिर, व्यंग्य र कटाक्ष प्रयोग गरेर जनतालाई आकर्षित गर्न सक्ने नेता मानिन्छन्। तर कहिलेकाहीँ यही बोल्ने सिप, यही मुखको धार, उनीकै लागि “बैरी थुतुनो” बन्न पुगेको देखिन्छ। अत्यधिक आत्मविश्वास, व्यंग्यात्मक शैली र आलोचकलाई तुच्छ देखाउने प्रवृत्तिले उनको राजनीतिक छवि बलियो बनाउनुको सट्टा अहिले कमजोर पनि बनाएको छ।
यही अवस्थामा केही समर्थकहरूले उनलाई “राष्ट्रिय बा” भन्दै महिमा मण्डन गर्न थाले। राजनीतिमा नेताको आलोचनात्मक मूल्यांकन हुनु पर्ने ठाउँमा अत्यधिक प्रशंसा र अन्ध समर्थनको वातावरण सिर्जना हुँदा त्यसले नेताको विवेकलाई सन्तुलित बनाउनुको सट्टा अझ बढी अहङ्कारी, घमण्डी र एकतर्फी बनाउने खतरा हुन्छ। एमालेभित्र पनि यस्तो प्रवृत्ति बढेको छ।
कुनै समय पुष्पलाल श्रेष्ठ, मोहनचन्द्र अधिकारी, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रित र मोदनाथ प्रश्रित जस्ता नेताहरूको नैतिक र वैचारिक धरातलमा उभिएको एमाले आज धेरैको नजरमा फरक दिशामा पुगेको देखिन्छ। उनीहरूले बनाएको राजनीतिक संस्कार, वैचारिक अनुशासन र संगठनात्मक मर्यादा अहिले कमजोर हुँदै गएको अनुभूति धेरै पुराना कार्यकर्ताले व्यक्त गर्ने गरेका छन्।
राजनीतिक यात्रामा सबैभन्दा विवादास्पद मोड भनेको केपी ओलीले प्रचण्डसँग गरेको गठबन्धन थियो। प्रचण्ड जसलाई आलोचकहरूले “भस्मासुर” जस्तो छवि भएको नेता भन्छन्उ नीसँगको सहकार्यले तत्कालीन अवस्थामा सत्ताको गणित मिलाएको भए पनि, त्यसले एमालेको वैचारिक पहिचान र नैतिक धरातललाई प्रश्नको घेरामा पारेको धेरै विश्लेषकहरूको भनाइ छ। त्यसबेला ओलीले राजनीतिक समिकरण मिलाउन प्रचण्डलाई “सुनपानी छर्केर” पार्टीभित्र भित्र्याएको आरोप लाग्यो।
पछि के भयो, त्यो नेपाली जनताले आफ्नै आँखाले देखे। एमाले माओवादी एकता, नेकपाको निर्माण, त्यसपछि भंग, फेरि विभाजन यी सबै घटनाले नेपाललाई झन् कमजोर बनायो। एकता हुँदा “ऐतिहासिक उपलब्धि” भनिएको त्यो प्रक्रिया केही वर्षमै विघटनमा पुग्दा धेरै कार्यकर्ताको मनोबल खस्किएको थियो।
अहिले देखिँदै गएको अर्को प्रवृत्ति भनेको विभिन्न विवादित व्यक्तिहरू जस्तै पहिला दुर्गा प्रसाईं, अहिले ज्योति मगर, रबी चुँडाल, चक्रे मिलन, गुन्डु ग्याङ्ग जस्ता नामहरू एमालेको राजनीतिक बहसमा जोडिनु, ओलीले तिनैलाई काखा र अशली एमाले जनहरु पाखा गर्नु पनि एमाले पतनको कारण बन्न पुगेको देखिन्छ । आलोचकहरू भन्छन्, यस्तो प्रवृत्तिले राजनीतिक दलको वैचारिक मर्यादा घटाउँछ र गम्भीर राजनीतिक आन्दोलनलाई हलुका बनाउँछ। जब राजनीतिक नेतृत्वले यस्ता शक्तिहरूलाई नजिक राख्छ, त्यो दिनदेखि नै नैतिक रूपमा दलको पतन सुरु हुन्छ भन्ने धारणा पनि सुनिन्छ।
बुझ्नु पर्ने कुरा के हो भने – हिजो दुर्गा प्रसाईँ, आज ज्योति मगर, रबी चुँडाल, चक्रे मिलनहरू र गुन्डु ग्याङ्ग दाहिने बन्ने, दाहिने हुने ओली र ओली नेतृत्वको एमालेको त्यही दिन नैतिक रूपमा मृत्यु भएको हो जुन बेला अर्का भस्मासुर छविलाल उर्फ प्रचण्ड र उनको हत्यारा ग्याङ्ग लाई ओलीले सुन पानी छर्केर भित्र्याएका थिए। पछि के के भयो दुनियाले देखे जानेको कुरा हो। अहिले के के हुँदै छ तस्विर बिस्तारै देखिँदै छ ।
यस प्रसङ्गमा कतिपयले शेरबहादुर देउवाको उदाहरण पनि दिन्छन्। देउवा धेरै बोल्दैनन्, सार्वजनिक भाषणमा तीखा टिप्पणी कम गर्छन्। उनलाई कहिलेकाहीँ कमजोर नेतृत्वको आरोप पनि लाग्छ। तर उनका आलोचकहरू समेत एउटा कुरा स्वीकार गर्छन्उ नी प्रायः आफ्नो मुख सम्हालेर बोल्छन्। राजनीतिक तनाव, आलोचना, यहाँसम्म कि शारीरिक आक्रमणको घटनामा समेत उनले सार्वजनिक रूपमा संयमता देखाउने प्रयास गरेका छन्।
राजनीतिमा कहिलेकाहीँ कम बोल्ने तर समय बुझ्ने नेता पनि टिक्न सक्छन्। ओली–प्रचण्ड सहकार्यको राजनीतिक प्रयोगले कांग्रेस र एमाले दुबैलाई कमजोर बनाएको विश्लेषण पनि गरिन्छ। तर पछिल्लो समय शेरबहादुर देउवा र आरजु राणा जस्ता नेताहरूले समयको संकेत बुझ्दै राजनीतिक रणनीति परिवर्तन गर्न थालेको चर्चा सुनिन्छ।
यो मामला मा त बरु बोल्न नजाने पनि शेर बहादुरलाई मान्नु पर्छ । पिटाइ पनि खाए बिचराले, पैसा पनि जलाए तर मुख सम्हाले, मुखलाई “थुतुनो” भनाउन दिएनन् । ओली प्रचण्डको सङ्गतले आफू सकिए पनि, हुँदा खाँदाको काँग्रेस सकाए पनि यो निरीह अवस्थामा पुगेका शेर बहादुर र आरजु समय बुझे र चुनाव अगावै सिंगापुर उडे। तर यता ५ मिनेटले गर्दा बाँचेको हुँ भन्ने “ओली महाराजा” ले अझै पनि समय बुझ्न तयार देखिएका छैनन् । ओलीले आफू खरानी बन्दै गर्दा एमाले पनि खरानी बनाउने लक्षण देखाइरहेका छन् ।
यता ओली भने अझै पनि आफूलाई अजेय ठान्ने मनोवृत्तिमा देखिन्छन् भन्ने आलोचना बढ्दै गएको छ। केही विश्लेषकहरू भन्छन् यदि नेता आफैं पतनको बाटोमा लागे भने त्यो केवल उनको व्यक्तिगत पतन हुँदैन, त्यो सँगै उनको दल र विचारधारालाई पनि कमजोर बनाउने प्रक्रिया बन्छ।
ओली निसन्तान भएकाले उनी व्यक्तिगत रूपमा आफ्नो राजनीतिक विरासतबारे कम चिन्तित हुन सक्छन् भन्ने टिप्पणी पनि कतिपयले गर्छन्। तर पार्टीभित्र रहेका हजारौं कार्यकर्ता, उनीहरूका परिवार, उनीहरूको राजनीतिक भविष्य यी सबै एमालेको अस्तित्वसँग जोडिएका छन्। यदि पार्टी कमजोर भयो भने त्यसको असर केवल एक व्यक्तिमा होइन, पूरै पुस्तामा पर्छ।
तर अहिले पार्टीभित्र धेरै नेता र कार्यकर्ताहरू अझै पनि ओलीकै स्वरमा स्वर मिलाउँदै, उनको समर्थनमा शंख फुक्दै हिँडिरहेका देखिन्छन्। राजनीतिक इतिहासले भने एउटा कठोर सत्य सिकाएको छ नेताहरूको अन्ध समर्थन गर्नेहरूले अन्ततः पार्टीलाई नै संकटमा पार्छन्।
यस्तो राजनीतिक यात्राले अन्ततः सबैलाई एउटै ठाउँमा पुर्याउँछ आर्यघाट। सत्ता, शक्ति, पद, प्रतिष्ठा सबै क्षणिक हुन्। इतिहासले अन्ततः मानिसलाई होइन, उसको कर्म र योगदानलाई मात्र सम्झिन्छ।
ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन खलनायकका रुपमा। समयको संकेत बुझ्नेहरू टिक्छन्, समयलाई चुनौती दिनेहरू हराउँछन्। एमालेका कार्यकर्ताहरूले समयमै यो सन्देश बुझ्ने कि नबुझ्ने त्यो उनीहरूकै हातमा छ। आगे एमालेजनहरूकै जो मर्जी।

प्रतिक्रिया