काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु र भोजपुर जिल्लाको भ्रमणपछि निर्वाचन तयारी सन्तोषजनक रहेको बताएकी छन्। देशकै सबैभन्दा उच्च जिल्ला सोलुखुम्बु जिल्ला र छिमेकी भोजपुर जिल्लाको स्थलगत अनुगमनपछि उनले शान्तिपूर्ण, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन्।
प्रधानमन्त्री कार्कीले स्थानीय बासिन्दा, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा जनप्रतिनिधिसँग विस्तृत छलफल गरिएको बताएकी छन्। उनले निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, मतदान सामग्री ढुवानी, दुर्गम क्षेत्रका मतदातासम्म पहुँच र मौसमी अवस्थाबारे प्रत्यक्ष जानकारी लिइएको उल्लेख गरेकी छन्।
सुरक्षाको दृष्टिले अवस्था शान्त र सन्तोषजनक रहेको जानकारी आफूले पाएको उनले बताएकी छन्। हालसम्म कुनै उल्लेखनीय मौसमी प्रतिकूलता नदेखिएको र सम्भावित हिमपात भएमा वैकल्पिक व्यवस्था गरिने तयारी रहेको उनले जानकारी दिएकी छन्। आवश्यक परे हेलिकप्टरमार्फत सामग्री ढुवानी तथा थप सुरक्षाकर्मी परिचालन गरिने उनले बताएकी छन्।
भोजपुरमा पनि निर्वाचनको तयारी सन्तोषजनक अवस्थामा रहेको उनले बताएकी छन्। संवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी सुरक्षा योजना तयार गरिएको र प्रशासन तथा सुरक्षा निकाय समन्वयमा रहेको उनले जानकारी दिएकी छन्।
प्रधानमन्त्री कार्कीले सरकारको लक्ष्य स्पष्ट गर्दै शान्तिपूर्ण वातावरण, स्वतन्त्र र विश्वसनीय प्रक्रिया तथा अधिकतम मतदाता सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। लोकतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको उनले बताएकी छन्।
“हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ,” प्रधानमन्त्री कार्कीले भनिन्।




प्रतिक्रिया