अमेरिकी संघीय सरकार आंशिक रूपमा बन्द हुने जोखिम बढ्दै जाँदा सिनेटका रिपब्लिकनहरू ठूलो खर्च प्याकेज अघि बढाउन सक्रिय बनेका छन् । तर होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) को बजेट विधेयकलाई लिएर सिनेटका डेमोक्र्याटहरू अझै कठोर अडानमै अडिग रहेकाले वाशिङ्टनको राजनीतिक वातावरण तनावग्रस्त बनेको छ । सिनेटका बहुमत नेता जोन थुन (रिपब्लिकन–दक्षिण डाकोटा) ले मंगलबार छ वटा विधेयक समेटिएको खर्च प्याकेजमाथि बिहीबार निर्णायक परीक्षण मतदान हुने गरी प्रक्रिया अघि बढाएका छन् । यस कदमले रिपब्लिकन र डेमोक्र्याटबीच सहमति खोज्न केही समय उपलब्ध गराउने अपेक्षा गरिएको छ । डेमोक्र्याटहरू भने डीएचएस अन्तर्गतका आप्रवासन निकाय, विशेषगरी आईसीईमाथि थप नियन्त्रण र कडाइका प्रावधान समेटिनुपर्ने माग गर्दै आएका छन् ।
रिपब्लिकन नेतृत्व हालको खर्च प्याकेजमा संशोधन नगरी सहमति खोज्न चाहन्छ । विधेयक फेरबदल गर्दा सरकार बन्द हुने सम्भावना झन् बढ्ने र पेन्टागनसहित अन्य संघीय निकायको बजेटसमेत जोखिममा पर्ने उनीहरूको बुझाइ छ ।
यसैबीच सिनेट विनियोजन समितिकी अध्यक्ष सुसान कोलिन्स (रिपब्लिकन–मेन) ले डीएचएस सचिव क्रिस्टी नोएमसँग सोमबार कुराकानी भएको पुष्टि गरे पनि त्यसको विवरण सार्वजनिक गरेकी छैनन् । कोलिन्सका अनुसार हालको डीएचएस बजेट विधेयकमै द्विदलीय सहमतिमा आधारित केही नियन्त्रणका व्यवस्था छन् । त्यसमा बडी क्यामेराका लागि २ करोड डलरको बजेट र विभिन्न रिपोर्टिङ सर्तहरू समावेश छन्, जसको पालना नभए आप्रवासन कारबाहीमा जाने रकम रोक्न सकिने व्यवस्था छ । आवश्यक परे थप सुधार र प्रक्रियागत सुरक्षा उपाय थप्न सकिने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
तर डेमोक्र्याटहरू अहिलेको अवस्थामा डीएचएस बजेट विधेयक जस्ताको तस्तै पारित गर्न तयार देखिँदैनन् । सिनेटका अल्पमत नेता चक शुमर (डेमोक्र्याट–न्युयोर्क) ले सिनेटमै स्पष्ट शब्दमा भनेका छन् कि डीएचएस बजेट हालको स्वरूपमा पारित हुनु हुँदैन । उनका अनुसार आईसीईलाई नियन्त्रण र संरचनागत सुधार नगरी जनसुरक्षा सुनिश्चित हुन सक्दैन । शुमरले समाधान कार्यकारी निकाय वा राष्ट्रपति डोनाल्ड ट्रम्पको भरमा छोड्न नसकिने भन्दै आवश्यक सुधार कांग्रेसबाटै हुनुपर्ने जिकिर गरेका छन् ।
डेमोक्र्याटहरूको एकजुट विरोधको पृष्ठभूमिमा मिनियापोलिसमा सीमा सुरक्षा अधिकारीद्वारा एलेक्स प्रेट्टीको गोली लागेर मृत्यु भएको घटना र त्यसअघि आईसीई एजेन्टद्वारा रेनी निकोल गुडको हत्या भएको घटनाले ठूलो प्रभाव पारेको बताइएको छ । यी घटनापछि डीएचएस र आईसीईको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको डेमोक्र्याटहरूको तर्क छ । बहुमत नेता जोन थुनले ती घटनाले बहसको दिशा बदलेको स्वीकार गरे पनि डेमोक्र्याटहरूले आफ्ना माग स्पष्ट रूपमा राखेर प्रशासनसँग संवाद गर्नुपर्ने धारणा राखेका छन् । उनले खर्च प्याकेज एकसाथ राखेर समाधान खोजिनु उपयुक्त हुने बताएका छन् ।
यद्यपि डेमोक्र्याटहरूले डीएचएस बजेट रोके पनि विभागसँग अझै अर्बौँ डलर उपलब्ध रहेको तथ्यले रिपब्लिकनहरूलाई केही हदसम्म सहज बनाएको छ । गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरबाट पारित भएको ‘ठूलो, सुन्दर विधेयक’ मार्फत डीएचएसले पर्याप्त बजेट प्राप्त गरिसकेको थियो । तर डेमोक्र्याट सिनेटर रुबेन गालेगो (डेमोक्र्याट–एरिजोना) ले पैसा पर्याप्त भए पनि नियन्त्रण र सुधारका लागि संघर्ष गर्नैपर्ने बताएका छन् ।
समाधानका लागि समय अत्यन्त सीमित बन्दै गएको छ । जनवरी ३० को समयसीमा नजिकिँदै जाँदा बिहीबारको मतदान सफल भए सिनेटमा घण्टौँ लामो बहस हुने र अन्तिम निर्णय मध्यरातसम्म तानिन सक्ने देखिएको छ । डेमोक्र्याटहरूको अचानक कडा अडानले रिपब्लिकनहरूलाई दबाबमा पारेको छ । यसै क्रममा सिनेट होमल्यान्ड सेक्युरिटी विनियोजन उपसमितिकी अध्यक्ष केटी ब्रिट (रिपब्लिकन–अलाबामा) सम्भावित सहमतिमा निर्णायक पात्र बन्ने देखिन्छिन् । उनले सरकार बन्द हुँदा कसैलाई फाइदा नहुने भन्दै सबै पक्ष मिलेर अर्थपूर्ण समाधान खोज्नुपर्ने बताएकी छन् । “अहिलेसम्म स्पष्ट बाटो तय भइसकेको छैन, तर विधेयक अघि बढाउन आवश्यक समायोजन खोज्ने प्रयास जारी छ,” उनले भनिन् ।
प्रतिक्रिया