अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अध्यागमन कार्यवाहीका क्रममा एक अमेरिकी अध्यागमन अधिकृतको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी गृह सुरक्षा विभागका अनुसार उक्त घटना एक “हिंस्रक प्रदर्शनकारी” ले अध्यागमन अधिकृतलाई गाडीले ठक्कर दिन खोजेपछि भएको हो। विभागको दाबीअनुसार आत्मरक्षाका क्रममा अधिकृतले गोली चलाएका हुन्।
अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले मिनियापोलिस पुगेर पत्रकार सम्मेलनमार्फत घटनाको आधिकारिक विवरण प्रस्तुत गर्दै भनिन् कि अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का एजेन्टहरू एक कार्यवाही पूरा गरी कार्यालय फर्किंदै गर्दा उनीहरूको सवारी साधन हिउँमा फसेको थियो। सो सवारी साधन धकेल्ने क्रममा दिनभरि एजेन्टहरूलाई पछ्याइरहेका प्रदर्शनकारीहरू वरिपरि जम्मा भई बाटो अवरुद्ध गर्न थालेको उनको भनाइ छ। उनका अनुसार गोली लागेकी महिलाले आफ्नो गाडीलाई हतियारझैँ प्रयोग गर्दै अधिकृतहरूतर्फ तीव्र गतिमा हान्न खोजेकी थिइन् र एक अधिकृतलाई ठक्करसमेत लागेको थियो। उक्त अधिकृत अनुभवी भएको र पूर्ण रूपमा आत्मरक्षाका लागि गोली चलाइएको उनले जिकिर गरिन्। घटनाको संघीय अनुसन्धान ब्युरोमार्फत छानबिन हुने र आइसका कार्यवाही रोकिँदैनन् पनि उनले स्पष्ट पारिन्।
तर मिनियापोलिसका मेयर जेकब फ्रेले संघीय निकायले दिएको विवरणप्रति असहमति जनाउँदै आइसका एजेन्टहरूलाई सहरबाट फिर्ता लैजान माग गरेका छन्। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय तथा राज्यस्तरमै निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्ने बताएका छन्।
गोली लागेर मृत्यु हुने महिला ३७ वर्षीया रेनी निकोल गुड भएको पहिचान गरिएको छ। उनी अमेरिकी नागरिक थिइन्। यो घटना मिनियापोलिस र नजिकैको सेन्ट पॉल क्षेत्रमा एकैसाथ सञ्चालन भइरहेको ठूलो अध्यागमन कडाइ अभियानकै बीच भएको हो, जहाँ दुई हजारभन्दा बढी संघीय एजेन्ट परिचालन गरिएको बताइएको छ।
घटनापछि मिनियापोलिस सहरका विभिन्न भागमा विरोध प्रदर्शन चर्किएका छन्। मुख्य प्रदर्शन बुधबार भएको गोलीकाण्ड स्थल इस्ट ३४औँ स्ट्रिट र पोर्टल्यान्ड एभिन्यु नजिक केन्द्रित भएको छ। त्यहाँ प्रदर्शनकारीहरूले फूल र मैनबत्ती राखी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने प्रहरी गोलीकाण्डको विरोधमा नाराबाजी र भाषण गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सयौँ मानिस घटनास्थलमा जम्मा भएका थिए, जसमा धार्मिक अगुवाहरूको समूहले भजनसमेत गाएको उल्लेख गरिएको छ। सहरका अन्य स्थानमा पनि प्रदर्शन भएका छन् र केही व्यक्तिहरू पक्राउ परेको जनाइएको छ।
यसैबीच, मिनेसोटा पब्लिक रेडियोका अनुसार अमेरिकी सीमा सुरक्षा अधिकारीहरू घटनास्थलबाट करिब तीन माइल टाढा रहेको एक सार्वजनिक विद्यालय परिसरमा प्रवेश गरी केही व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। विद्यालय छुट्ने समयमै भएको उक्त कार्यवाहीमा पेपर स्प्रे प्रयोग गरी पक्राउ गरिएको बताइएको छ, जसले अभिभावक र स्थानीय समुदायमा थप आक्रोश पैदा गरेको छ।
यसअघि दिनको समयमा करिब ५० जना प्रदर्शनकारीहरूले संघीय अदालत भवनको प्रवेशद्वार अवरुद्ध गर्दै मृतक रेनी गुडको नाम जप्दै विरोध गरेका थिए। प्रदर्शनकारीहरूले सिसा फुटाएपछि दिउँसो करिब चार बजे उनीहरू तितरबितर भएका थिए।
घटनाप्रति प्रतिक्रिया जनाउँदै पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले मिनियापोलिसमा भएको गोलीकाण्डलाई “अत्यन्तै स्तब्ध पार्ने” भन्दै ट्रम्प प्रशासनको आधिकारिक व्याख्यालाई “ग्यासलाइटिङ” अर्थात् जनतालाई वास्तविकतामाथि शंका गर्न बाध्य पार्ने प्रयासको संज्ञा दिएकी छन्। उनले राज्यस्तरमै पूर्ण र निष्पक्ष अनुसन्धान अनिवार्य भएको बताएकी छन्।
प्रतिक्रिया