सन् २०२५ अमेरिकी सेयर बजारका लागि सफल वर्ष रह्यो। तर विश्वका अन्य मुलुकका सेयर बजारले अमेरिकालाई समेत पछि पार्दै उल्लेखनीय प्रदर्शन गरे। अमेरिकाबाहिरका सेयर बजार समेट्ने प्रमुख सूचक MSCI All Country World ex-USA सन् २०२५ मा २९.२ प्रतिशतले बढ्यो। यसको तुलनामा अमेरिकी S&P 500 सूचक १६.३९ प्रतिशतले मात्र उकालो लाग्न सक्यो। यसले सन् २०२५ मा अन्तर्राष्ट्रिय बजार अमेरिकी बजारभन्दा धेरै अगाडि रहेको देखायो।
सन् २०२५ सुरु हुँदासम्म नै अमेरिकी सेयरहरूको मूल्याङ्कन विश्वका अन्य बजारको तुलनामा महँगो भइसकेको थियो। यही कारणले लगानीकर्ताहरूले नयाँ प्रतिफल खोज्दै अमेरिकाबाहिरका बजारतर्फ ध्यान केन्द्रित गरे। यस क्रममा एशिया र युरोपका सेयर बजारले ठूलो फाइदा उठाए।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकासले एशियाली बजारलाई विशेष रूपमा बलियो बनायो। प्रविधि कम्पनी र सेमिकन्डक्टर उत्पादकहरूमा माग बढेपछि दक्षिण कोरिया, ताइवान, जापान र चीनका सेयर बजार तीव्र रूपमा उकालो लागे। दक्षिण कोरियाको प्रमुख सूचक Kospi सन् २०२५ मा करिब ७६ प्रतिशतले बढ्यो, जुन सन् १९९९ यताकै उत्कृष्ट प्रदर्शन हो। जापानको Nikkei 225 २६ प्रतिशतले उक्लियो।
जापानको मेमोरी चिप निर्माता Kioxia का सेयर ५३६ प्रतिशतले उफ्रिए भने दक्षिण कोरियाको प्रविधि कम्पनी Samsung का सेयर करिब १३० प्रतिशतले बढे। ताइवानको सेमिकन्डक्टर कम्पनी Taiwan Semiconductor Manufacturing Company (टीएसएमसी) का सेयर ४६.५४ प्रतिशतले बढ्दै ऐतिहासिक उच्च बिन्दुमा पुगे। चीनको ई–कमर्स कम्पनी Alibaba ले एआई प्रविधि अपनाउँदै आफ्नै च्याटबोट सार्वजनिक गरेपछि यसको सेयर ७५.८१ प्रतिशतले बढ्यो।
पिक्टेट एसेट म्यानेजमेन्टका वरिष्ठ बहु–सम्पत्ति रणनीतिकार अरुण साईका अनुसार पछिल्लो एक वर्षमा एआईसम्बन्धी लगानी विश्वव्यापी रूपमा फैलिएको छ र यसको प्रभाव अमेरिका बाहिरका बजार—विशेषगरी कोरिया र जापानमा स्पष्ट देखिएको छ।
युरोपेली सेयर बजारले पनि सन् २०२५ मा बलियो प्रदर्शन गरे। जर्मनी सरकारले रक्षा क्षेत्रमा ऐतिहासिक खर्च बढाउने निर्णय गरेपछि रक्षा उद्योगका सेयरमा ठूलो उछाल आयो। जर्मन रक्षा निर्माता Rheinmetall का सेयर मात्र १५४ प्रतिशतले बढे। ग्रीस, स्पेन र पोल्याण्डजस्ता देशहरूको आर्थिक अवस्था सुधारिँदै जाँदा ती मुलुकका सेयर बजारले पनि लाभ उठाए।
युरोपेली बैंकिङ क्षेत्रमा स्पेनको Santander र जर्मनीको Deutsche Bank का सेयर करिब १२६ प्रतिशतले बढे। स्पेनको IBEX 35 ४९ प्रतिशतले उक्लियो, जुन सन् १९९३ यताकै सबैभन्दा राम्रो वर्ष हो। इटालीको FTSE MIB करिब ३२ प्रतिशतले बढ्यो। जर्मनीको DAX २३ प्रतिशत र ग्रीसको ATHEX Composite ४४ प्रतिशतले उकालो लाग्यो। पोल्याण्डको WIG सूचक ४७ प्रतिशतले बढ्यो।
सन् २०२५ मा अमेरिकी डलर कमजोर रहनु पनि अन्तर्राष्ट्रिय सेयर बजारका लागि अनुकूल बन्यो। अमेरिकी डलरको शक्ति मापन गर्ने US Dollar Index करिब ९.४ प्रतिशतले घट्यो, जुन सन् २०१७ यताकै सबैभन्दा खराब वर्ष हो। डलर कमजोर हुँदा अन्य मुद्रामा गरिएको लगानी डलरमा रूपान्तरण गर्दा अझ मूल्यवान् बन्न पुगे।
ग्लेनमेडका लगानी रणनीति उपाध्यक्ष माइकल रेनोल्ड्सका अनुसार सन् २०२५ मा अन्तर्राष्ट्रिय सेयर बजारका लागि धेरै सकारात्मक पक्षहरू एकैपटक अनुकूल बने। यद्यपि, वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका समीर समानाका अनुसार अझै पनि अमेरिकी बजारलाई पहिलो प्राथमिकता दिनुपर्ने आधार बलियो छ र डलर स्थिर भएमा उदाउँदो बजारको फाइदा केही कम हुन सक्छ।
तर मर्गन स्टेनली वेल्थ म्यानेजमेन्टकी प्रमुख लगानी अधिकृत लिसा शालेटका अनुसार पछिल्ला १५ वर्ष अमेरिकी बजारमा केन्द्रित लगानीले राम्रो प्रतिफल दिएको भए पनि बदलिँदो भू–राजनीति, मौद्रिक नीति र प्रविधिगत परिवर्तनका कारण अब दीर्घकालीन लगानीकर्ताले अमेरिकी सेयर र बन्डभन्दा बाहिर पनि विविधीकरण गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।
समग्रमा, सन् २०२५ ले विश्व सेयर बजारमा अन्तर्राष्ट्रिय बजारको शक्ति, सम्भावना र लगानी विविधीकरणको महत्वलाई स्पष्ट रूपमा उजागर गरिदिएको छ।
प्रतिक्रिया