युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच आइतबार हुने भनिएको शान्ति वार्ताअघि रुसले युक्रेनको राजधानी किभ माथि व्यापक हवाई आक्रमण गरेको छ। करिब १० घण्टा लामो मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित ३२ जना घाइते भएका छन्। किभ प्रहरीले जनाएअनुसार ७१ वर्षका एक वृद्धको ज्यान गएको हो। किभका मेयर भिटाली क्लिच्कोका अनुसार कडा जाडोका बीच २,६०० भन्दा बढी आवासीय भवनमा तापक्रम (हिटिङ) अवरुद्ध भएको छ। यसका साथै १८७ किंडरगार्टेन, १३८ विद्यालय र २२ सामाजिक संस्थामा पनि ताप सेवा बन्द भएको छ।
युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रातमा ५१९ ड्रोन र ४० मिसाइल प्रहार गरेको हो। आक्रमणले मुख्यतः ऊर्जा र नागरिक पूर्वाधारलाई निशाना बनाएको बताइएको छ। शहरका विभिन्न भागमा आगलागी हुँदा कार मर्मत केन्द्र र आवासीय भवनहरू जलेका छन्। वृद्धाश्रमका बासिन्दालाई आपतकालीन रूपमा सुरक्षित स्थानमा सारिएको छ। अमेरिका प्रस्थानअघि विमानमै बोल्दै राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँगको भेटमा युक्रेनका लागि कानुनी रूपमा बाध्यकारी सुरक्षा प्रत्याभूति (security guarantees) चाहिने स्पष्ट संकेत खोज्ने बताएका छन्। उनले रुसका निरन्तर आक्रमणका कारण युक्रेनलाई थप वायु प्रतिरक्षा प्रणाली र मिसाइल आवश्यक रहेको दोहोर्याए। “युरोपेली समर्थन आज हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। हामीसँग पर्याप्त अतिरिक्त वायु प्रतिरक्षा छैन,” उनले भने।
ट्रम्पसँग भेटअघि जेलेन्स्की क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग छलफल गर्न क्यानडा जाने कार्यक्रम पनि छ। उता ट्रम्पले पोलिटिकोसँगको अन्तर्वार्तामा जेलेन्स्कीसँगको भेट “राम्रै हुने” अपेक्षा व्यक्त गर्दै आफूले छिट्टै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गर्ने बताएका छन्। आक्रमणपछि पोल्याण्डले लडाकु विमानहरू तयारी अवस्थामा राख्दै अस्थायी रूपमा दुई विमानस्थल बन्द गरेको रोयटर्सले जनाएको छ। यसैबीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायन ले शनिबार जेलेन्स्की, ट्रम्प र अन्य युरोपेली नेताहरूसँग संयुक्त टेलिफोन संवादमा सहभागी हुने आयोगका प्रवक्ताले बताएका छन्।
युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा तयार पारिएको प्रारम्भिक २८ बुँदे प्रस्तावलाई छोट्याएर हाल २० बुँदे रूप दिइएको छ, जसलाई जेलेन्स्कीले “युद्ध अन्त्यतर्फको आधारभूत दस्तावेज” भनेका छन्। यद्यपि क्रेमलिनबाट औपचारिक प्रतिक्रिया नआएको जेलेन्स्कीको भनाइ छ। उनले दबाब पर्याप्त नभए थप उपायबारे ट्रम्पसँग छलफल गर्ने संकेत पनि दिएका छन्।
रुसका केन्द्रीय मागहरूमा युक्रेनले नेटो सदस्यता त्याग्नु र पूर्वी डोनबास (डोनेत्स्क र लुहान्स्क)बाट युक्रेनी सेना पूर्ण रूपमा फिर्ता हुनु समावेश छन्। जेलेन्स्कीले नेटो सदस्यता नलिने सर्तमा नेटोको अनुच्छेद–५ सरह सुरक्षा प्रत्याभूति खोज्ने र क्षेत्रीय व्यवस्थामा पारस्परिक (reciprocal) फिर्ता र निष्सैन्यीकरण (demilitarization) को प्रस्ताव अघि सारेका छन्। युक्रेनको संविधानअनुसार सीमासम्बन्धी कुनै पनि परिवर्तन जनमतसंग्रहबाट मात्र हुन सक्ने उनले पुनः जोड दिएका छन्। शान्ति वार्ताको तयारी भइरहँदा किभमाथिको यो ठूलो आक्रमणले वार्ताको वातावरण थप जटिल बनाएको छ। जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “लामो वार्ताका शब्दभन्दा ‘किन्झाल’ र ‘शाहेद’ ड्रोनहरू नै क्रेमलिनको वास्तविक सन्देश हुन्।”
प्रतिक्रिया