“५ मिनेट ढिलो भएको भए मलाई मार्थे” भन्ने वाक्य स्वयं **केपी शर्मा ओली**ले भदौ २३–२४ पछाडि सार्वजनिक रूपमा स्वीकार गरेको कुरा हो । यो वाक्य सामान्य आत्मकथा जस्तो लाग्न सक्छ, तर यसको राजनीतिक अर्थ गहिरो छ ।
एउटा चार पटक प्रधानमन्त्री भइसकेको, राज्यसत्ताको सबैभन्दा उच्च तहमा बसेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु आफैंमा राज्य, सुरक्षा संयन्त्र र राजनीतिक संस्कृतिप्रति गम्भीर प्रश्न उठाउने विषय हो । तर त्योभन्दा पनि चिन्ताजनक पक्ष के देखिन्छ भने, यस्ता स्वीकारोक्तिपछि आत्मसंयम, भाषिक जिम्मेवारी र लोकतान्त्रिक परिपक्वता देखिनुपर्ने ठाउँमा उल्टो रूपमा पछिल्ला उनका सार्वजनिक अभिव्यक्तिहरू झन् आक्रामक, उक्साहटपूर्ण, हिंसा भड्काउने र अराजकता सिर्जना गर्न सक्ने प्रकृतिका देखिँदै गएका छन् ।
उनका बोलीहरूमा राज्यका नियम–कानुनभन्दा आफू माथि भएको जस्तो भाव, संस्थागत मर्यादाप्रति तिरस्कार, आलोचकहरूप्रति घृणा र असहिष्णुता, तथा राजनीतिक प्रतिद्वन्द्वीलाई शत्रुका रूपमा चित्रण गर्ने शैली बारम्बार दोहोरिएको पाइन्छ ।
लोकतन्त्रमा असहमति स्वाभाविक हुन्छ, तर असहमतिलाई दबाउन धम्की, व्यंग्य र अपमानजनक भाषा प्रयोग गर्नु घोर गैरजिम्मेवार नेतृत्वको लक्षण हो । यही सन्दर्भमा एउटा साधारण तर गम्भीर प्रश्न उठ्छ – चार पटक प्रधानमन्त्री भएको, दशकौंसम्म एमालेभित्र निर्विवाद शक्ति केन्द्र बनेको मान्छे यति नीच, यति असंयमित र यति गैरजिम्मेवार कसरी हुन सक्छ ? उनका अन्तर्वार्ता, भाषण र सार्वजनिक टिप्पणीहरू ध्यान दिएर हेर्ने हो भने, शब्द चयनमा कडाइभन्दा बढी कटुता, राजनीतिक तर्कभन्दा बढी भावनात्मक आक्रोश, र राज्यनेतृत्वको गरिमा भन्दा बढी व्यक्तिगत अहंकार झल्किन्छ । यो केवल व्यक्तिको बोलीको समस्या होइन, यसले समाजमा गलत सन्देश दिन्छ – शक्ति भए नियम मिच्न पाइन्छ, भीड उक्साएर दबाब सिर्जना गर्न सकिन्छ, र असहमतिलाई देशद्रोहजस्तै देखाउन सकिन्छ ।
यस्तो भाषा जब पूर्व तथा सम्भावित सत्ताधारीको मुखबाट आउँछ, तब त्यसले समाजमा हिंसात्मक मनोवृत्ति, ध्रुवीकरण र अराजकताको बीउ रोप्छ । अझ अर्को महत्त्वपूर्ण पक्ष के हो भने, हालै सम्पन्न एमालेको महाधिवेशनबाट करिब दुई हजार दुई सय प्रतिनिधिको बहुमतका आधारमा उनी पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । अर्थात् उनी जननिर्वाचनबाट होइन, पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट छानिएका नेता हुन् ।
तर अध्यक्षमा निर्वाचित भएलगत्तै उनका अभिव्यक्तिहरू हेर्दा यस्तो लाग्छ, मानौं तीन करोड नेपालीले प्रत्यक्ष रूपमा उनलाई छानेका छन् । आफू र पार्टी नेतृत्वलाई छोए देश ठप्प पार्ने चेतावनीदेखि हालसम्मका अन्तर्वार्तासम्म आइपुग्दा, अहंकार, दम्भ र घमन्ड झन् स्पष्ट हुँदै गएको अनुभूति हुन्छ । यो अवस्था केवल बाहिरका विरोधीहरूका लागि होइन, एमालेभित्रका असल कार्यकर्ता, इमानदार नेता र शुभचिन्तकहरूका लागि पनि चिन्ताको विषय हो ।
कुनै समय प्रचण्डका राजनीतिक सहयात्री तथा ‘मित’ मानिने ओलीको प्वाँख त विस्तारै झर्न थालेको देखिन सक्छ, तर एमालेभित्र रहेका हजारौं समर्पित कार्यकर्ता, संगठनप्रेमी नेता र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने शुभचिन्तकहरूको प्वाँख नझरोस् भन्ने कामना गर्नु आज हरेक सचेत नागरिकको दायित्व हो । एमालेलाई कसैले बाहिरबाट सिध्याउनुपर्दैन भन्ने यथार्थ पनि यहीँ छ – ओली स्वयंले आफ्नो बोली, व्यवहार र अहंकारका कारण पार्टीलाई कमजोर बनाउँदै लगेका छन् भन्ने संकेतहरू स्पष्ट देखिन थालेका छन् ।
राजनीतिक इतिहासले बारम्बार सिकाएको पाठ यही हो – सत्ता र अहंकारले अन्धो बनेको नेतृत्व अन्ततः आफ्नै संगठनको बोझ बन्छ । भीरमा जाने गोरुलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन भन्ने उखान आज एमालेको सन्दर्भमा झन् सान्दर्भिक देखिन्छ । अब प्रश्न बाहिरका आलोचकहरूले होइन, एमाले जनहरूले आफैंले सोध्नुपर्ने बेला आएको छ -के यस्तो भाषा, यस्तो घृणा र यस्तो अराजक शैलीले पार्टी र देशको भविष्य सुरक्षित रहन्छ ? चेत खुल्ने कि नखुल्ने ? तर ढिला हुनुअघि आत्मसमीक्षा गर्ने साहस एमालेभित्रैबाट जन्मियो भने मात्र पार्टी र लोकतन्त्र दुवै जोगिन सक्छन् । चेतना भया !
प्रतिक्रिया