चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालीहरू विदेश जाँदा देशबाट ७५ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा उक्त रकम विदेशिएको हो।
राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ११.८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो चार महिनामा नेपालीहरू विदेश जाँदा ६७ अर्ब ७५ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो।
विदेशिने रकममध्ये ठूलो हिस्सा शिक्षा प्रयोजनका लागि भएको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्र विदेश अध्ययन गर्न जाने विद्यार्थीले ४८ अर्ब २६ करोड रुपैयाँ नेपालबाट बाहिर लगेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३७ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो, जसले विद्यार्थी विदेशिने प्रवृत्ति र त्यससँग जोडिएको खर्च उल्लेख्य रूपमा बढ्दै गएको संकेत गर्छ।
यता पर्यटन आम्दानीमा भने सामान्य सुधार देखिएको छ। राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपाल भ्रमणमा आएका पर्यटकले गरेको खर्च ०.९ प्रतिशतले वृद्धि भई २७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २६ अर्ब ९० करोड रुपैयाँ रहेको थियो।
समग्र तथ्यांकले एकातर्फ शिक्षा तथा वैदेशिक यात्राका कारण ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिँदै गएको देखाउँछ भने अर्कोतर्फ पर्यटन क्षेत्रबाट आउने आम्दानीमा अपेक्षाकृत सीमित मात्र वृद्धि भएको अवस्था देखाएको छ।
प्रतिक्रिया