अमेरिकामा सरकारी शटडाउन जारी रहेको बेला राष्ट्रपति डोनाल्ड जे. ट्रम्प अहिले एक साता लामो एशिया भ्रमणमा निस्किएका छन्। यस्तो अवस्थामा, ट्रम्प को यो कूटनीतिक यात्राले के कस्ता राजनीतिक उपलब्धि ल्याउने हो त्यो भने चासोका साथ हेरिएको छ। यस भ्रमणका क्रममा उनी दक्षिण कोरियामा हुने APEC शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्नेछन्। साथै, उनी मलेसिया र जापानका शीर्ष नेताहरूसँग पनि द्विपक्षीय छलफल गर्नेछन्।
ट्रम्पको यो भ्रमण खासगरी सरकारभित्रको अवरोध र चीनसँगको व्यापार तनावको पृष्ठभूमिमा आएको हो। उनले दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जाई–म्युंगसँग पहिलो पटक भेट गर्दैछन् र जापानमा नयाँ प्रधानमन्त्री सानाए ताकाइचिसँग पनि भेटवार्ता हुने कार्यक्रम छ। सबैभन्दा ठूलो चासो त चीनका राष्ट्रपति सीसँगको भेटवार्तामा छ, जसबाट व्यापार तनाव केही हदसम्म मत्थर हुने अपेक्षा गरिएको छ। तर अहिले नै कुनै ठोस सम्झौता हुने सम्भावना कमै देखिएको छ।
घरभित्रको राजनीतिक अवरोधले ट्रम्पको कूटनीतिक सक्रियतामाथि प्रश्न उब्जिएको छ। विश्लेषकहरू भन्छन्— “सरकार आफै बन्द छ, तर विश्व राजनीति चलाउन दौडिनु विरोधाभासपूर्ण कदम हो।” यस यात्रा अवधिमा ट्रम्पले जापान र दक्षिण कोरियासँग अपूरो व्यापार सम्झौता टुंग्याउने र क्षेत्रीय सुरक्षा मुद्दामा अमेरिकी भूमिका बलियो पार्ने दाबी गर्दै आएका छन्। ट्रम्प र चीनबीच व्यापार तनाव फेरि चर्किँदासँगै वैश्विक बजार समेत अस्थिर भइरहेकाले बैठकलाई थप संवेदनशील मानिएको छ।
साथै, थाइल्यान्ड–कम्बोडियाबीचको लामो सीमा तनाव अन्त्य गर्दै क्वालालम्पुरमा आसियान शिखर बैठकमा शान्ति सम्झौतामा अमेरिकाले भूमिका खेलेको दाबी वाशिङ्टनले गर्दै आएको छ। दक्षिण कोरियामा ट्रम्पले नवनिर्वाचित राष्ट्रपति ली जाई–म्युंगसँग पहिलोपटक प्रत्यक्ष वार्ता गर्नेछन्, जहाँ उत्तर कोरिया र अमेरिकी भूमिमा कोरियन कामदारको गिरफ्तारी प्रकरण पनि मुख्य विषय रहने अपेक्षा गरिएको छ।
जापानमा उनी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीसँग द्विपक्षीय सहयोग विस्तारबारे छलफल गर्दै अमेरिकी युद्धपोत यूएसएस ‘जर्ज वासिङ्टन’ मा सम्बोधन दिने कार्यक्रम छ।
यात्राको ‘सबैको नजर’ त ट्रम्प–सी सम्भावित भेटमै छ। दुर्लभ खनिज निर्यातमा चीनले गरेको कडाइपछि सम्बन्ध फेरि तन्किएका बेला सीसँगको संवाद कत्तिको सार्थक बन्ने भन्ने चिन्ता यतिबेला कूटनीतिक वृत्तमा छ्यापछ्याप्ती छ।
विश्लेषकहरूको बुझाइमा अहिले दुवै शक्तिलाई समय चाहिएको छ, त्यसैले शिखर वार्ताबाट ठूलो ब्रेकथ्रु भन्दा, अवस्थित व्यापार युद्ध विराम (Trade Truce) लाई केही महिना थप्ने सम्भावना बढी देखिन्छ।
प्रतिक्रिया