
हेम–सरिता पाठक फाउण्डेशनले जेन–जी आन्दोलन र अन्तरिम सरकारलाई समर्थन गर्दै प्रेस विज्ञप्ति जारी
काठमाडौं / हेम–सरिता पाठक फाउण्डेशनले मुलुकमा व्यापक भएको भ्रष्टाचार, बेथिति, अनियमितता र परिवारवाद विरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनको परिणामस्वरूप अन्तरिम सरकारको निर्माण र संसद् विघटन भएको घटनालाई स्वागत गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।
फाउण्डेशनको हालै सम्पन्न भेलाले आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति गहिरो सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ। विज्ञप्तिमा भनिएको छ, “मुलुकको परिवर्तनको लागि बलिदान दिने ती सहिदहरूको सपना पूरा गर्न अबका कदमहरू पारदर्शी, जनमुखी र सुशासनको दिशामा हुनुपर्छ।”
फाउण्डेशनले विसं २०४६ सालपछिका सबै सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन गर्न र भ्रष्टाचारबाट कमाइएका अकुत सम्पत्ति तत्काल जफत गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जफत गरिएका सम्पत्ति शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ, ताकि न्यूनतम आय भएका नागरिकले निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा पाउन सकून्।”
त्यस्तै, हाल देशभर अप्रत्याशित रूपमा धनी देखिएका बिचौलिया र दलालहरूको सम्पत्तिमाथि पनि कठोर छानबिन गर्नुपर्ने फाउण्डेशनको माग छ। “नेपाली जनताको आम्दानी र मिहिनेतको मूल्य बिचौलियाले लुट्न नपाउने वातावरण बनाउनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।
फाउण्डेशनले सन् २०११ देखि गीत, कविता, पत्रकारिता, शिक्षा र सचेतनामूलक कार्यक्रममार्फत भ्रष्टाचारविरुद्ध र सुशासनका लागि निरन्तर अभियान सञ्चालन गर्दै आएको तथ्य स्मरण गराएको छ। विज्ञप्तिमा भनिएको छ, “देशलाई स्थायित्व र समृद्धिको बाटोमा डोर्याउन अन्तरिम सरकारले पारदर्शी नीतिहरू ल्याउनुपर्छ र जनताले बोकिरहेको पीडा बुझ्नुपर्छ।”
फाउण्डेशनले अन्ततः सबै सरोकारवालालाई एकताबद्ध भई नयाँ युगको सुरुवात गर्न आह्वान गर्दै जनताले बलिदान गरेर ल्याएको परिवर्तनलाई अस्थिरता वा स्वार्थी राजनीति र चलखेलको बलिवेदीमा चढाउन नहुने चेतावनी दिएको छ।

प्रतिक्रिया