जेंजीहरु हो, तिमीहरू आफैले भन त,
कसरी पत्याउनु परिवर्तन भयो भनेर ?!
“लुटतन्त्र” र “गलगाँड तन्त्र” गयो भनेर ?!
संविधान उही, कायमै छ,
नियम, कानुन उनै कायमै छन् !
निर्दोषहरूको रगत घुटुघुटु पिउने,
मान्छे जस्तै देखिने “राक्षस” र उसका मतियारहरू,
आज पनि सेना र प्रहरीको भिभिआइपी नै छन्
सुरक्षा दिएर राखिएकै छ ब्यारेक भित्र !
देश जलेर नष्ट हुँदा उनीहरू भने सकुशल नै छन् !
सिंहदरबार, अदालत, सरकारी सम्पत्तिहरूको बेहाल देखियो,
सुरक्षा तिनै आतङ्ककारी र हत्याराहरूकै भएको थियो !
हेलिकोप्टर खटाइएका थिए तिनीहरूलाई मात्रै बंचाउँन,
त्यति मात्र हो र जेंजीहरु ??
उनैका टिके न्यायालयमा,
उनैका भरौटे संवैधानिक निकायमा,
उनैको सेटिङ्ग कायमै छ सिंहदरबार देखि गाउँ सम्म,
उनैका मुली कायमै छन् शीतल निवास मुख्य ठाउँ सम्म,
सङ्घीयता, व्यवस्था उही छ, प्रदेश देखि स्थानीय तह सम्म
टाउके, माउते उनै छन् जसलाई उनीहरूले नै बनाएका थिए
एक थान अन्तरिम प्रधानमन्त्री, तीन थान मन्त्रीहरू मात्र,
के यही मात्रै थियो जेंजीको माग, जनताको चाहना ??
कसरी बुझ्छन मनहरु संसद मात्रै बिघटन भयो भनेर ?
केन्द्र देखि गाउँ सम्म लुटतन्त्र र गलगाँड तन्त्र गयो भनेर ??
खबरदार जेंजीहरु,
होशियार जेंजीहरु,
रगतको आहाल सुक्न नपाउँदै,
घाइते भई ढलेका जनहरू उठ्न नपाउँदै,
उठ्न थालेका छन् फेरि,
“लुटतन्त्र” र “गलगाँड तन्त्र”का मतियारहरू !
सम्झ त बाल बालिकाहरू कसरी ढलेका थिए ??
राष्ट्रिय सम्पत्तिहरू कसरी जलेका थिए ??
सोंच घोरिएर सोंच, मन मस्तिष्कले सोंच,
के यही थियो तिमीहरूको माग ??
के यसैका लागि थियो अबोधहरूको बलिदान ??
म भित्री मन देखि प्रश्न गर्दै छु फेरि पनि,
के यही हो परिवर्तन ? के यही हो उपलब्धि ??
के यही थियो तिमीहरूको माग र चाहना ????
तिमीहरूले उत्तर दिनै पर्छ, मनमा कुरा लिनै पर्छ,
यदि चुप लागेर बस्यौ भने इतिहासले धिक्कार गर्छ !
मैले मात्र होइन, स्वतन्त्र नागरिक हरेकले तिमीलाई यो प्रश्न गर्छ।
तिमीहरुले यो प्रश्नको जबाफ दिन पर्छ पर्छ ।
– रामप्रसाद खनाल, सेप्टेम्बर १६, २०२५
प्रतिक्रिया