
Updated
सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको जेन–जी आन्दोलन अझै पनि उग्र बन्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको पछिल्लो विवरणअनुसार मृतकको संख्या १९ पुगेको छ भने ३ सय ४७ जना घाइते उपचाररत छन्।
राष्ट्रिय ट्रमा सेन्टर : ८
सिभिल अस्पताल, काठमाडौं : ३
एभरेष्ट अस्पताल : ३
केएमसी अस्पताल : २
त्रिवि शिक्षण अस्पताल : १
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : २
देशभरका अस्पतालमा उपचाररत ३४७ घाइतेमध्ये धेरैजना गोली, अश्रुग्यास र लाठी प्रहारबाट गम्भीर चोटपटक बोकेका छन्। घाइतेको थप विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।
*****
सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको जेन–जी युवाहरूको आन्दोलन सोमबार झन् उग्र बन्दै गएको छ। शान्तिपूर्ण प्रदर्शनलाई रोक्न प्रहरीले अश्रुग्यास, लाठी प्रहार र गोली प्रयोग गरेपछि व्यापक मानवीय क्षति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १८ जनाले ज्यान गुमाएका छन् भने २५६ जना घाइते भएका छन्।
आन्दोलनकै केन्द्रविन्दु बनेको राजधानी काठमाडौंमा मात्रै १६ जनाले ज्यान गुमाएका छन्।
ट्रमा सेन्टर, सिभिल अस्पताल, केएमसी र शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्थाहरू घाइतेले भरिएका छन्।
घाइतेमध्ये धेरैजना रबरको गोली, अश्रुग्यासको असर र लाठी प्रहारका कारण गम्भीर अवस्थामा रहेका छन्।
अस्पतालहरू युद्धक्षेत्रसरह भीडभाड भएका छन्, नातेदारले आफन्त खोज्ने भीडमा स्वास्थ्यकर्मीमाथि पनि दबाब बढेको छ।
काठमाडौंसँगै देशका अन्य सहरहरूमा पनि जेन–जी आन्दोलन फैलिएको छ।
चितवन, पोखरा, झापा, सुनसरी लगायतका जिल्लामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा धेरै घाइते भएका छन्।
केही जिल्लामा तोडफोड र आगजनीको घटना भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको छ।
पोखरामा प्रहरीले प्रहार गरेको रबरको गोलीबाट घाइते भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भए पनि प्रहरीले आधिकारिक रूपमा स्वीकार गरेको छैन।
नागरिक समाज, मानव अधिकारकर्मी र स्वतन्त्र अभियन्ताहरूले सरकारको दमनकारी शैलीप्रति तीव्र आपत्ति जनाएका छन्।
विपक्षी दल नेपाली कांग्रेसभित्र आकस्मिक बैठक बसेर आन्दोलनप्रति समर्थनको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ।
सत्तारूढ एमालेको कार्यालय च्यासलनजिक पनि प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृतक र घाइतेहरूको विवरण अझै संकलन भइरहेको छ। मृत्यु हुने संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
मन्त्रालयले नागरिकलाई अनावश्यक भिडभाडमा नजान र घाइतेलाई तुरुन्त नजिकैको अस्पताल पुर्याउन आग्रह गरेको छ।
जेन–जी आन्दोलनमा १८ जनाको ज्यान गएर सयौं घाइते भएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले सोमबार विज्ञप्ति जारी गरेको छ। आयोगले सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रणका क्रममा ‘अत्यधिक बल प्रयोग गरेको’ स्वीकार गरे पनि सरकारको भूमिकाबारे भने स्पष्ट टिप्पणी गरेको छैन।
आयोगको विज्ञप्तिमा भनिएको छ– लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाजलाई समयमै पहिचान गर्नुपर्छ। तर बल प्रयोगमाथि आयोगले केवल ‘दुःखद’ भन्दै सीमित प्रतिक्रिया दिएको छ।
आन्दोलन सुरु हुनु अघिदेखि नै असन्तुष्टि बढिरहेको संकेत पाइए पनि आयोग नेतृत्व तहमा मौन बस्यो।
प्रदर्शन नियन्त्रणका क्रममा मृत्यु र घाइतेको संख्या बढिसक्दा पनि आयोगले तत्काल प्रतिक्रिया दिएको थिएन।
अध्यक्ष तपबहादुर मगर सोमबार दिनभर भाषा आयोगको गोष्ठीमा व्यस्त रहे।
चौतर्फी आलोचना भएपछि मात्र आयोगले विज्ञप्ति जारी गरेको हो।
आयोगका सबै पदाधिकारीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त भएकाले उनीहरूलाई सधैं सरकारको पक्षपाती देखिने आरोप लाग्दै आएको छ।
आयोगले आफ्नो अनुगमनमा संसद भवनतर्फ प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको तथ्य फेला परेको जनाएको छ।
मर्नेहरूमध्ये धेरैलाई टाउको र छातीमा गोली लागेको भए पनि आयोगले यसबारे मौनता अपनाएको छ।
आयोगले आफ्ना अनुगमन टोली र सवारीसाधनमाथि समेत आक्रमण भएको दाबी गरेको छ।
आयोगले मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ। साथै, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गर्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेको छ।
प्रदर्शनकारीलाई भने आयोगले संयमित, शान्तिपूर्ण र मर्यादित ढंगले विरोध जारी राख्न अनुरोध गरेको छ।
प्रतिक्रिया