साँझ
या विहान
सिर्जनाको मुहान
कि त
भ्रष्टहरूले बाटो काटेर फुट्छ
कि त
देशद्रोहीसँग
जम्काभेट भएर फुट्छ
सिर्जनाको मुहान !
मेरो स्वाभिमानी
वीर रगतको मूल भएर
किन फुट्दैन ?
किन लिपुलेक
र कालापानीको नक्सा बेचिएको
खबर लिएर फुट्छ ?
किन देशद्रोही नेता
देश निकाला गरेको
खबरले फुट्दैन ?
धिक्कार छ तक्मा
र पदक बोकेर
देशको माटो बेच्ने
पुरस्कार
र खादामा पल्केका
गद्दार कविहरू!
तिमीहरूले
आमा बेचेर आफ्नो
पेट पाल्दै छौ
याद गर
कुनै दिन तिमी
तिनै आमाको पेटमा थियौ
जुन पेटमा
अहिले लात मार्दै छौ
धमिलिएको छ
सिर्जनाको मुहान!
किनकि
सर्जक गद्दार छन्
देशप्रति बफादार छैनन्
ठेकेदार छन्
झोले छन्
पैसामा बिकेका छन्
हे, कवि !
के सत्ताका लागि
आमा बेच्छौ?
कतिन्जेल बेच्छौ?
नेताका लागि
भाषा बेच्छौ?
किन चल्दैनन्
तिम्रा कलम?
कता सुक्यो
तिम्रो सिर्जनाको मुहान ?
मेरो रगत बगाई दिन्छु
आऊ पिएर जाऊ
आऊ यौटा अर्को
नोबल पुरस्कार थाप
यही हो
तिम्रो सिर्जनाको मुहान ??
प्रतिक्रिया