अमेरिकी रक्षा मन्त्रालयमा फेरि ठूलो हलचल आएको छ। रक्षा मन्त्री पिट हेगसेथले रक्षा गुप्तचर एजेन्सी (DIA) का प्रमुख लेफ्टिनेन्ट जनरल जेफ्री क्रुजलाई पदमुक्त गरेका छन्। केही साताअघि मात्र व्हाइट हाउसले इरानमाथि अमेरिकाले गरेको आक्रमणको प्रभावबारे DIA को मूल्याङ्कनलाई अस्वीकार गरेको थियो।
पेन्टागनले शुक्रबार दिएको जानकारीअनुसार क्रुज मात्र होइन, अमेरिकी नौसैनिक रिजर्भका प्रमुख र नेभल स्पेशल वारफेयर कमाण्डका कमाण्डरसमेत हटाइएका छन्। तर मन्त्रालयले तत्काल कुनै कारण भने खुलाएको छैन।
यसअघि जुन महिनामा DIA को एक गोप्य प्रतिवेदन बाहिरिएको थियो, जसमा इरानको आणविक कार्यक्रमलाई अमेरिकी आक्रमणले केही महिनामात्र पछि धकेलेको उल्लेख गरिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त प्रतिवेदनलाई ‘पूर्णरूपमा गलत’ भन्दै अस्वीकार गरेका थिए। ट्रम्पले आक्रमणपछि इरानका आणविक साइटहरू ‘पूणर्रूपमा ध्वस्त’ भएको दाबी गरेका थिए र त्यसलाई इतिहासकै सफल सैन्य कारबाही भनेका थिए।
नाटो सम्मेलनका बेला मन्त्री हेगसेथले DIA को प्रतिवेदनलाई ‘कमस्तरीय जानकारीमा आधारित’ भन्दै आलोचना गरेका थिए। साथै एफबीआईले प्रतिवेदन चुहावटबारे छानबिन गरिरहेको जानकारी दिएका थिए।
अमेरिकी सेनाटर मार्क वार्नरले भने क्रुजलाई हटाउनु भनेको राष्ट्रपति ट्रम्पले गुप्तचर एजेन्सीलाई देशको सुरक्षाको साधन होइन, निष्ठाको परीक्षणका रूपमा प्रयोग गर्ने खतरनाक बानी भएको आरोप लगाएका छन्।
यसअघि पनि राष्ट्रपति ट्रम्पले आफ्नो मूल्याङ्कनसँग मेल नखाने अधिकारीहरूलाई लगातार हटाउँदै आएका छन्। जुलाईमा उनले श्रम तथ्याङ्क आयुक्त एरिका म्याकएन्टरफरलाई तत्काल बर्खास्त गरेका थिए, जब एक प्रतिवेदनले रोजगारी वृद्धिदर सुस्ताएको देखाएको थियो। अप्रिलमा उनले राष्ट्रिय सुरक्षा एजेन्सी (NSA) का निर्देशक जनरल टिमोथी हगसहित राष्ट्रिय सुरक्षा परिषद्का दर्जनभन्दा बढी सदस्यलाई हटाएका थिए।
रक्षा मन्त्रालयभित्र हेगसेथको सक्रियताले पेन्टागनका उच्च तहमा लगातार हल्ला मच्चाएको छ। यसअघि फेब्रुअरीमा उनले एयरफोर्सका जनरल C Q ब्राउनसहित पाँच जनरल र एडमिरललाई बर्खास्त गरेका थिए।
👉 अमेरिकामा गुप्तचर एजेन्सी र सेनाभित्र भइरहेको लगातार शुद्धिकरणलाई धेरैले ट्रम्प प्रशासनको कडा हस्तक्षेपको परिणामका रूपमा हेरिरहेका छन्।
प्रतिक्रिया