द हेग, नेदरल्याण्ड्स / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी युद्धविरामलाई “स्थिर” भन्दै अर्को साता अमेरिका र इरानबीच वार्ता हुने बताएका छन्।
बुधवार द हेगमा सम्पन्न नाटो सम्मेलनको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “हामी इरानसँग अर्को साता वार्ता गर्नेछौं।” यद्यपि उनले कुन अधिकारीहरू सहभागी हुने वा वार्ता कहाँ हुने भन्ने स्पष्ट गरेका छैनन्।
उनले भने, “मलाई सम्झौता चाहिन्छ कि चाहिँदैन भन्नेमा खास चासो छैन। हामीले पहिले पनि भनेका थियौं, ‘हामीलाई आणविक हतियार चाहिँदैन।’ अहिले त्यो त नष्ट भइसकेको छ। त्यो खत्तम भइसकेको छ।”
राष्ट्रपति ट्रम्पले भने, “मैले भनेको थिएँ, इरानसँग आणविक हतियार हुनेछैन। अनि हामीले त्यो उडायौं, ध्वस्त पार्यौं।” यद्यपि अमेरिकी रक्षा गुप्तचर निकाय (DIA)को प्रारम्भिक गोप्य मूल्याङ्कनले इरानको आणविक कार्यक्रम केही महिनासम्ममात्रै पछि धकेलिएको हुनसक्ने बताएको छ।
राष्ट्रपति ट्रम्पले इरान-इजरायल द्वन्द्वको १२ दिने अवधिमा दुबै पक्ष थकित भएको बताएका छन्। “दुबै पक्ष थाकिसकेका छन्, हिंसात्मक तरिकाले लडेका थिए। अब उनीहरू घर फर्कन चाहन्छन्,” उनले भने।
गाजासम्बन्धी प्रश्नमा ट्रम्पले भने, “हामीले गरेको आक्रमणका कारण अब राम्रो समाचार आउँदैछ भन्ने विश्वास छ।”
नाटोका महासचिव मार्क रुट्टेले ट्रम्पको प्रयासको प्रशंसा गर्दै भने, “तपाईं शक्ति र शान्ति दुबैको प्रतीक हुनुहुन्छ।”
राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसँग पनि भेट गरे। जेलेंस्कीले सामाजिक सञ्जाल X मा लेखे, “हामीले युद्धविराम र शान्ति सम्झौताको सम्भावना बारे छलफल गर्यौं। विस्तृत जानकारी पछि आउनेछ।” ट्रम्पले भने, “उहाँ यो युद्ध सकियोस् भन्ने चाहनुहुन्छ। म पुटिनसँग पनि बोल्नेछु र सकिन्छ कि हेरौँ।”
एक युक्रेनी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले प्याट्रियट मिसाइल युक्रेनलाई दिन सकिने संकेत दिए। “हामीसँग पर्याप्त छैन, इजरायललाई दिइरहेका छौं। तर प्रयास गर्नेछौं,” उनले भने।
स्पेन र स्लोभाकियाबाहेक सबै नाटो सदस्य राष्ट्रहरूले आफ्नो रक्षा खर्च ५% जीडीपीसम्म बढाउने सहमति जनाएका छन्। ट्रम्पले यसलाई “The Hague Defense Commitment” को संज्ञा दिएका छन्।
स्पेनको असहमति बारे सोध्दा ट्रम्पले भने, “म स्पेनलाई मन पराउँछु, तर अहिले उनीहरू नाटोमा एक्लै ‘फ्री राइड’ लिइरहेका छन्। त्यसैले अब हामी स्पेनसँग व्यापारमा दुईगुना शुल्क लगाउनेछौं।”
ट्रम्पले यस भ्रमणपछि नाटोको अनुच्छेद ५ (एक सदस्यमाथि आक्रमण भएमा सबैको सामूहिक सुरक्षा ग्यारेन्टी) बारे आफ्नो धारणा परिवर्तन भएको बताए। “अब म नाटोलाई धोका मान्दिनँ। म चाहन्छु, अमेरिका नाटो राष्ट्रहरूको रक्षा गरून्,” उनले अन्त्यमा भने।

नेदरल्याण्ड्सको द हेगमा सम्पन्न ऐतिहासिक शिखर सम्मेलनमा नाटो सदस्य राष्ट्रहरूले आफ्नो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौं लामो दबाबपछि यस्तो निर्णय आएको हो।
ट्रम्पले यस निर्णयलाई “युरोप र पश्चिमी सभ्यताका लागि ठूलो सफलता” भन्दै स्वागत गरे। संयुक्त विज्ञप्तिमा सदस्य राष्ट्रहरूले रुसबाट उत्पन्न दीर्घकालीन खतरा र आतंकवादलाई लक्ष्य गर्दै साझा सुरक्षा चुनौतीहरूविरुद्ध एकतामा रहेको घोषणा गरेका छन्।
नाटोका महासचिव मार्क रुट्टेले भने, “हाम्रो सुरक्षामा खतरा आए कसैले पनि हाम्रो क्षमता र प्रतिबद्धतामा शंका गर्नु हुँदैन। हामी अझ बलियो, न्यायोचित र प्रभावकारी गठबन्धनको निर्माण गरिरहेका छौं।”
रुसको युक्रेनमाथिको आक्रमणको स्पष्ट निन्दा भने यसपटकको विज्ञप्तिमा उल्लेख गरिएको छैन, जुन अघिल्लो वर्षको घोषणापत्रमा थियो।
शिखर सम्मेलन अघि राष्ट्रपति ट्रम्पले नाटोको अनुच्छेद ५ सम्बन्धमा विभिन्न व्याख्याको संकेत दिएका थिए। तर सम्मेलनपछि उनले भने, “म अनुच्छेद ५ को पक्षमा छु, त्यसैले म यहाँ छु।”
अनुच्छेद ५ ले कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भएमा सबै सदस्य राष्ट्रहरू मिलेर जवाफ दिने ग्यारेन्टी दिन्छ।
नयाँ सम्झौता अनुसार, सदस्य राष्ट्रहरूले २०३५ सम्ममा कम्तीमा ३.५% जीडीपी कोर रक्षा खर्चमा र थप १.५% सुरक्षा पूर्वाधारलगायत अन्य सुरक्षासम्बन्धी लगानीमा खर्च गर्नेछन्।
स्पेनले सम्मेलनअघि नै ५% लक्ष्यप्रति असन्तुष्टि जनाएको थियो। अर्थमन्त्री कार्लोस कुर्पोले २.१% लक्ष्य नै ठूलो प्रयास भएको बताए। यद्यपि प्रधानमन्त्री पेड्रो सान्चेजले अन्ततः नाटोको विज्ञप्तामा हस्ताक्षर गरे।
बेल्जियम र स्लोभाकिया जस्ता देशहरूले पनि सुरुवातमा हिचकिचाहट जनाए तापनि अन्ततः उनीहरूले सम्झौतामा अवरोध नगर्ने संकेत दिए।
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले ट्रम्पको युरोपमाथिको व्यापार कर नीतिको आलोचना गर्दै भने, “हामी एकआपसमा रक्षा खर्च बढाउने कुरा गर्छौं, अनि एकअर्कामाथि व्यापार युद्ध थोपर्छौं भने त्यसको कुनै अर्थ रहँदैन।”
शिखर सम्मेलनमा रुट्टेले ट्रम्पको इरान-इजरायल द्वन्द्व समाधानमा देखिएको सक्रियता प्रशंसा गर्दै उनको केही अभिव्यक्तिहरूको समर्थन समेत गरे। ट्रम्पले इरान र इजरायलको लडाइँलाई “स्कूलका दुई बालबालकबीचको झगडा” भनेर तुलना गरे भने रुट्टेले त्यसमा टिप्पणी गर्दै भने, “र कहिलेकाहीँ बुबाले कडा भाषा प्रयोग गर्नुपर्छ।”
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेंस्कीसँग पनि छुट्टै बैठक गरे। पत्रकार सम्मेलनमा उनले युक्रेन युद्धविराम “आशभन्दा कठिन” भइरहेको बताएका थिए।
अन्तिम संयुक्त वक्तव्यमा नाटो राष्ट्रहरूले युक्रेनलाई प्रत्यक्ष सैन्य सहायता र यसको रक्षा उद्योगको सुदृढीकरणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।
बेलायतका प्रधानमन्त्री कीर स्टारमरले भने, “आजको यो सम्मेलन नाटोको एकताबद्ध शक्ति प्रदर्शन हो। हामी पहिलेभन्दा ठूलो छौं, बलियो छौं, र अझ सशक्त छौं।”

प्रतिक्रिया