इरानको सर्वोच्च अदालतले पप गायक तातालुलाई मृत्युदण्डको सजाय सुनायो
इरानको सर्वोच्च न्यायालयले चर्चित पप गायक अमिर हुसेन मघसौडलु (तातालु) लाई शनिबार अल्लाहको निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।
सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुस्लिम धर्म र यसको प्रचारकहरूको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो। सर्वोच्च अदालतले उक्त फैसलालाई उल्ट्याउँदै मुद्दालाई पुनः अर्को अदालतमा पठाएको थियो। सो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो।
न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भने, “यो फैसला अब पुष्टि भइसकेको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ।”
उनले थपे, “तातालुका वकिलहरूले पुनः सुनुवाइ र क्षमादानको लागि दुईवटा निवेदन दर्ता गरेका छन्। ती निवेदनहरू हाल पुनरवलोकनको प्रक्रियामा छन्।”
जहाँगीरले यसअघि जनवरीमा पनि मृत्युदण्डको घोषणा गरे पनि उक्त फैसला अन्तिम नभएको जानकारी दिएका थिए।
तातालुलाई यसअघि ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रचार गरेको’ अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको थियो। हाल उनी उक्त सजाय भुक्तानी गरिरहेका छन्।
तातालुलाई पूर्व राष्ट्रपति इब्राहिम राइसीलगायत केही रूढिवादी राजनीतिज्ञहरूको समर्थन रहेको थियो। सन् २०१५ मा उनले आणविक सम्झौताका पक्षमा एउटा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले समेत प्रचार गरेको थियो।
पक्राउ र सुपुर्दगी अघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बसोबास गर्दै आएका थिए। – Photo : getty Image
प्रतिक्रिया