ह्वाइट हाउस छाडेपछि पहिलोपटक राष्ट्रिय मंचमा फर्किंदै, पूर्व राष्ट्रपति जो बाइडेनले सामाजिक सुरक्षासम्बन्धी विषयमा केन्द्रित भाषण दिए र ट्रम्प प्रशासनप्रति कडा आलोचना गरे।
बाइडेनले सामाजिक सुरक्षा (Social Security) लाई “प्राप्त गर्नेहरूका लागि एक पवित्र प्रतिज्ञा”को रूपमा प्रस्तुत गर्ने तयारी गरेका थिए, विशेषगरी ट्रम्प प्रशासनले यस सरकारी सेवामा ठूला परिवर्तन ल्याउने र कटौती गर्ने योजना बनाइरहेको समयमा।
बाइडेनले साँच्चिकै त्यही शैलीमा सम्बोधन गरे र आफ्नो लामो भाषणभरि ट्रम्प प्रशासनप्रति आलोचनात्मक तेवर देखाए। “अहिलेसम्मको स्थिति हेरौं: सय दिन नपुग्दै, यो नयाँ प्रशासनले यति धेरै क्षति र विनाश गरिसकेको छ,” बाइडेनले भने।
“यो साँच्चिकै स्तब्ध बनाउने खालको हो। उनीहरूले सामाजिक सुरक्षा प्रशासनलाई कुल्हाडी हानेका छन्, त्यो अवधिमा ७,००० कर्मचारीहरूलाई बाहिर निकालिसकेका छन्, जसमा सबैभन्दा अनुभवी अधिकारीहरू पनि छन्…”
पूर्व राष्ट्रपति जो बाइडेन मंगलबार शिकागोमा आयोजित अपांगता भएका व्यक्तिहरूका पक्षमा काम गर्ने वकिल, सल्लाहकार र प्रतिनिधिहरूको राष्ट्रिय सम्मेलनका प्रमुख वक्ता (keynote speaker) थिए। बाइडेन केही सार्वजनिक कार्यक्रममा देखिए पनि, यो सम्मेलन जनवरीपछि उनको सबैभन्दा खुला र सक्रिय सार्वजनिक उपस्थिति मानिएको छ।
यो भाषण त्यस्तो समयमा आएको हो, जब डेमोक्र्याटिक पार्टीले पार्टीमा पुस्तागत विभाजनका बहसबीच नयाँ नेतृत्वको खोजी गरिरहेको छ। भर्मन्टका सिनेटर बर्नी स्यान्डर्स र न्युयोर्ककी प्रतिनिधि अलेक्जेन्ड्रिया ओकासियो-कोर्टेजले ठूला जनसभा आयोजना गरेका छन्, जसले ठूलो जनसमूह तानेको देखिएको छ।
कांग्रेसभित्रका केही डेमोक्र्याट नेताहरूले पूर्व राष्ट्रपति बाइडेनलाई पार्टीको वर्तमान नेता वा प्रवक्ता मान्न रुचि नदेखाएको बताइएको छ।
ट्रम्प प्रशासनको सामाजिक सुरक्षामा लिएको धाराबारे डेमोक्र्याटहरूको आलोचना मुख्यतः सरकारी कार्यक्षमता विभागका प्रमुख एलन मस्कका टिप्पणीबाट उत्पन्न भएको हो, जसमा मस्कले सामाजिक सुरक्षालाई “सबैभन्दा ठूलो पन्जी स्किम” भनेका थिए।
“के बोलिराखेका छन् यी मान्छेहरू?” बाइडेनले मस्कको भनाइप्रति प्रतिक्रिया दिँदै भने। “मानिसहरूले यी लाभहरू कमाएका छन्, तिनीहरूले त्यसमा तिरेका छन्, तिनीहरू त्यसमा निर्भर छन्, र कसैले पनि, कसैले पनि, कसैले पनि त्यो लाभ खोस्नु हुँदैन।”
प्रतिक्रिया