मानिसको वास्तविक परिचय उसको धनसम्पत्ति, पद, प्रतिष्ठा, पहुँच र शक्तिले होइन, उसको चरित्र, व्यवहार, इमानदारी र नैतिकताले दिन्छ। मानिस कति ठूलो पदमा पुग्यो, कति धन कमायो भन्ने कुराभन्दा पनि उसले ती उपलब्धि हासिल गर्न कस्तो बाटो अपनायो, कसलाई कस्तो व्यवहार गर्यो र आफ्ना सम्बन्धहरूलाई कति इमानदारीपूर्वक निर्वाह गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। धन गुमे फेरि कमाउन सकिन्छ, पद गुमे फेरि प्राप्त गर्न सकिन्छ, तर गुमेको विश्वास र नैतिक प्रतिष्ठा पुनः आर्जन गर्न त्यति सजिलो हुँदैन।
हाम्रो समाजमा कतिपय मानिसहरू सम्बन्धलाई पनि आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाउँछन्। आवश्यक पर्दा नजिकिने, मिठामिठा कुरा गर्ने, आत्मीयता देखाउने, नाता जोड्ने, विश्वास जित्ने, दुःखका कथा सुनाउने अनि आफ्नो स्वार्थ पूरा भएपछि चटक्कै बिर्सिने प्रवृत्ति भएका मानिसहरूको कमी छैन।
उनीहरू सोच्छन्, एक पटक त हो नि ! अब फेरि यो मान्छेसँग के काम पर्ला र ! एक पटक बेइमानी गर्दा के फरक पर्ला र ! एक पटक ढाँटेर, छलेर, ठगेर आफ्नो काम बनाउन पाए भइहाल्यो नि ! फेरि यो मान्छे मलाई कहिल्यै चाहिँदैन !
तर उनीहरू बिर्सिन्छन्, जीवन एक दिनको होइन, संसार एक पटकको भेटघाटमा सीमित छैन। आज बितेर जान्छ, भोलि आउँछ, पर्सि पनि आउँछ। समयको चक्र निरन्तर घुमिरहन्छ। एउटा माघले मात्रै जाडो जाँदैन !
आज आफूलाई आवश्यक नठानेको मानिस भोलि सबैभन्दा आवश्यक पर्न सक्छ। आज जसको विश्वासमाथि घात गरिन्छ, भोलि उसैको सहयोग खोज्नुपर्ने परिस्थिति आउन सक्छ। आज आफू शक्तिशाली भएको घमण्डमा जसलाई अपमान गरिन्छ, भोलि उसैका अगाडि उभिनुपर्ने अवस्था सिर्जना हुन सक्छ। समय सधैँ आफ्नो अनुकूल रहँदैन भन्ने सामान्य सत्यलाई मानिसले कहिल्यै बिर्सिनु हुँदैन।
अझ दुःखद कुरा त के छ भने आजभोलि आफ्नै नालनाता, आफन्तजन, दाजुभाइ, दिदीबहिनी, साथीभाइ र इष्टमित्रहरूमध्ये कतिपयबाट समेत अकल्पनीय बेइमानी र विश्वासघात भएका घटनाहरू देख्न र सुन्न पाइन्छन्। जसले उनीहरूलाई आफ्नो ठान्छ, माया गर्छ, सम्मान गर्छ, दुःख पर्दा सहयोग गर्छ, उसैलाई धोका दिने, उसैको विश्वासमाथि खेलबाड गर्ने र आफ्नो स्वार्थ पूरा भएपछि फेरि कहिल्यै चाहिएला जस्तो नगर्ने प्रवृत्ति बढेको अनुभूति हुन्छ।
पराइले दिएको चोटभन्दा आफ्नाले दिएको चोट कैयौँ गुणा पीडादायी हुन्छ। किनकि पराइसँग त्यति ठूलो अपेक्षा हुँदैन, जति आफ्नासँग हुन्छ। आफ्नै ठानेर विश्वास गरिएको हुन्छ, आफ्नै सम्झेर सहयोग गरिएको हुन्छ, आफ्नै मानेर कतिपय जोखिमसमेत उठाइएको हुन्छ। तर जब तिनै मानिसबाट विश्वासघात हुन्छ, त्यहाँ आर्थिक क्षति मात्रै हुँदैन, भावना, आत्मीयता र मानवीय सम्बन्धमाथि समेत गम्भीर चोट पुग्छ।
नाता रगतले मात्रै बन्दैन, व्यवहारले पनि बन्छ। रगतको नाता भएर पनि व्यवहारमा पराइ बन्न सकिन्छ भने कुनै रक्तसम्बन्ध नभएको मानिस पनि आफ्नो व्यवहार, सहयोग र आत्मीयताका कारण परिवारको सदस्यभन्दा नजिक बन्न सक्छ। त्यसैले नाताको महत्व जन्मले मात्रै होइन, कर्म र व्यवहारले पनि निर्धारण गर्छ।
आफूलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने, लड्दा उठाउने, दुःखमा हात दिने, निराश हुँदा हौसला दिने र कठिन परिस्थितिमा साथ दिने मानिसलाई जीवनभर सम्झिनुपर्छ। परिस्थितिमा सुधार आयो, पैसा कमाइयो, पद प्राप्त भयो वा आफू सम्पन्न भइयो भन्दैमा विगतमा सहयोग गर्ने मानिसलाई बिर्सिनु कृतघ्नता हो।
मलाई पर्दा हात दिने हातहरू, दुःखमा साथ दिने मानिसहरू र अप्ठ्यारोमा सहयोग गर्ने आफन्त तथा मित्रहरूलाई म सधैँ सम्झिन्छु। उनीहरूप्रति म जीवनभर कृतज्ञ रहन्छु, कृतघ्न कहिल्यै बन्दिनँ।
सहयोग सानो थियो वा ठूलो, त्यो मेरो मूल्याङ्कनको विषय होइन। मलाई आवश्यक परेको समयमा कसले साथ दियो, त्यो महत्वपूर्ण हो। सम्पन्न भएपछि सहयोगको आकार नाप्नुभन्दा विपत्तिमा देखाइएको आत्मीयताको मूल्य बुझ्न सक्नुपर्छ।
कृतज्ञता असल चरित्रको परिचय हो भने कृतघ्नता नैतिक दरिद्रताको परिचय हो। जसले आफूलाई सहयोग गर्ने मानिसलाई बिर्सिन्छ, उसले केवल एउटा व्यक्ति बिर्सिएको हुँदैन, आफ्नो विगत, आफ्नो धरातल र आफ्नै संस्कारसमेत बिर्सिरहेको हुन्छ।
हाम्रो नेपाली समाजमा दुःख पर्दा सापटी दिने, आपत् पर्दा सहयोग गर्ने, अप्ठ्यारोमा परेकालाई उद्धार गर्ने र एकअर्काको सुखदुःखमा साथ दिने सुन्दर संस्कार छ। तर यही संस्कार र मानवताको अनुचित फाइदा उठाउने मानिसहरू पनि छन्।
सापटी लिने बेला अनेकौँ दुःखका कथा सुनाउने, हात जोड्ने, समयमै फिर्ता गर्छु भनेर वचन दिने तर पैसा हात परेपछि फोन नउठाउने, सम्पर्कविहीन हुने, अनेक बहाना बनाउने, उल्टै पैसा दिनेलाई शत्रु ठान्ने र उसको पैसा पचाउन खोज्ने प्रवृत्ति अत्यन्त निकृष्ट प्रवृत्ति हो।
सापटी लिनु अपराध होइन। आर्थिक समस्या पर्नु पनि अपराध होइन। परिस्थितिवश तोकिएको समयमा पैसा फिर्ता गर्न नसक्नु मात्रै पनि बेइमानी होइन। तर तिर्न सक्ने क्षमता हुँदाहुँदै नतिर्नु, पैसा पचाउने नियत राख्नु, झुटमाथि झुट बोल्नु र सहयोग गर्ने मानिसलाई नै छल्नु गम्भीर नैतिक अपराध हो।
समस्या परेको हो भने वास्तविकता बताउन सकिन्छ, समय माग्न सकिन्छ, किस्ताबन्दीमा तिर्न सकिन्छ। तर ऋणदातालाई ढाँटेर, छलेर, सम्पर्कबाट भागेर वा उल्टै उसैलाई दोष दिएर आफू इमानदार साबित हुन सकिँदैन।
कसैले तपाईंलाई आफ्नो दुःख, पसिना र मेहनतबाट कमाएको रकम विश्वास गरेर सापटी दिएको हुन्छ। तपाईंले त्यो पैसा मात्रै लिनुभएको हुँदैन, उसको विश्वास पनि लिनुभएको हुन्छ। त्यसैले सापटी फिर्ता गर्नु केवल आर्थिक दायित्व पूरा गर्नु होइन, विश्वासको सम्मान गर्नु पनि हो।
अरूको पैसा मारेर आफू सम्पन्न भएको ठान्ने, अरूलाई ठगेर व्यापारमा सफल भएको भ्रम पाल्ने, अरूको श्रमको मूल्य नदिएर धन कमाउने र इमानदार मानिसलाई झुक्याएर आफूलाई बुद्धिमान् ठान्नेहरू वास्तवमा आफ्नै पतनको जग निर्माण गरिरहेका हुन्छन्।
बेइमानी गरेर मानिस केही समय अगाडि बढेजस्तो देखिन सक्छ। छलकपट गरेर पैसा कमाउला, ठगी गरेर सम्पत्ति जोड्ला, झुट बोलेर पद प्राप्त गर्ला, विश्वासघात गरेर अवसर हात पार्ला। तर बालुवामाथि बनाइएको घरजस्तै बेइमानीमाथि निर्माण गरिएको सफलता पनि कमजोर हुन्छ। परिस्थितिको एउटा ठूलो धक्काले त्यस्तो सफलता छोटो समयमै धराशायी हुन सक्छ।
अरूलाई ठगेर कमाएको धनले घर बनाउन सकिएला, तर सम्मान बनाउन सकिँदैन। अरूको पैसा मारेर महँगो गाडी चढ्न सकिएला, तर उच्च चरित्र प्राप्त गर्न सकिँदैन। अरूलाई धोका दिएर ठूलो पदमा पुग्न सकिएला, तर असल मानिसको मनमा स्थान बनाउन सकिँदैन।
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा विश्वास, पारस्परिक सहयोग, सामाजिक सम्बन्ध र आपसी सद्भाव सामाजिक पुँजीका महत्वपूर्ण आधार हुन्। आर्थिक पुँजीले मानिसलाई भौतिक रूपमा सम्पन्न बनाउन सक्छ, तर सामाजिक पुँजीले उसलाई समाजमा स्थापित, सम्मानित र विश्वासयोग्य बनाउँछ। सामाजिक मनोविज्ञान र व्यवहारवादी अर्थशास्त्रमा पनि दीर्घकालीन सहकार्यका लागि विश्वास र विश्वसनीयतालाई विशेष महत्व दिइन्छ।
पटकपटक बेइमानी गर्ने मानिसले क्रमशः आफ्नो सामाजिक पुँजी गुमाउँदै जान्छ। उसका लागि सहयोग, सहकार्य र नयाँ अवसरका ढोकाहरू बन्द हुँदै जान्छन्। उसले आफ्नो पतन कहिले सुरु भयो भन्ने थाहा नपाउन पनि सक्छ। तर विश्वास गुमाउँदै जाने मानिसको दीर्घकालीन प्रगतिको आधार कमजोर हुँदै जान्छ।
बैंकमा करोडौँ रुपैयाँ भएर पनि दुःख पर्दा विश्वास गर्न सकिने एउटा मानिस नहुनु र सामान्य आर्थिक अवस्था भएर पनि सुखदुःखमा साथ दिने मानिसहरू हुनुबीच ठूलो अन्तर छ।
संसारमा सबैभन्दा संवेदनशील कुरा विश्वास हो। विश्वास निर्माण गर्न वर्षौं लाग्न सक्छ, तर त्यसलाई भत्काउन एउटा बेइमानी नै पर्याप्त हुन सक्छ। कसैले आफूमाथि आँखा चिम्लेर विश्वास गरेको छ भने त्यो उसको कमजोरी होइन, उसले आफूलाई दिएको उच्च सम्मान हो।
सहयोगको बदला सहयोग गर्न नसकिएला, उपकारको बदला उपकार गर्न नसकिएला, तर कम्तीमा उपकार गर्ने मानिसमाथि घात त गर्नु हुँदैन। आफूले सहयोगको प्रतिफल दिन नसके पनि सहयोगीको मन दुखाउने, उसलाई बदनाम गर्ने र उसैलाई धोका दिने काम गर्नु हुँदैन।
इमानदार मानिसलाई मूर्ख ठान्ने, सरल मानिसलाई कमजोर ठान्ने, सहयोगी मानिसलाई उपयोग गर्ने र सहनशील मानिसलाई हेप्नेहरू वास्तवमा आफ्नै नैतिक दरिद्रताको प्रदर्शन गरिरहेका हुन्छन्।
कसैले तपाईंको बेइमानी बुझेर पनि मौनता साँधेको छ भने उसले केही नबुझेको होइन। सम्भवतः उसले आफ्नो संस्कार र स्तर तपाईंको व्यवहारका कारण खस्काउन नचाहेको हो। हरेक बेइमानीको जवाफ बेइमानीबाटै दिनुपर्छ भन्ने छैन। कहिलेकाहीँ मौनता र दूरी नै सबैभन्दा प्रभावकारी जवाफ हुन्छन्।
म सगौरव भन्न सक्छु, मैले आजसम्म कसैलाई धोका दिएको छैन, बरु जीवनमा धेरैबाट धोका खाएको छु। मैले विश्वास गरेका मानिसहरूबाटै विश्वासघात भोगेको छु। आफ्नै ठानेकाहरूबाटै चोट पाएको छु। सहयोग गरेकाहरूबाटै बेइमानीको सामना गर्नुपरेको छ। तर त्यसका कारण मलाई आफ्नो इमानदारीप्रति कुनै पछुतो छैन।
धोका खाने म खराब हुँदै होइन, धोका दिनेहरू खराब हुन्। विश्वास गर्नु मेरो संस्कार हो, विश्वासघात गर्नु उनीहरूको चरित्र हो। सहयोग गर्नु मेरो मानवता हो, त्यसको दुरुपयोग गर्नु उनीहरूको नैतिक कमजोरी हो।
अरूले बेइमानी गरे भन्दैमा मैले पनि बेइमानी गर्नुपर्छ भन्ने छैन। अरूले आफ्नो चरित्र गुमाए भन्दैमा मैले पनि आफ्नो चरित्र गुमाउनुपर्ने कुनै कारण छैन।
मैले जीवनमा धोका खाएर पाठ सिकेको छु, तर धोका दिन सिकेको छैन। मानिस चिन्न सिकेको छु, तर मानिसलाई ठग्न सिकेको छैन। विश्वास गर्दा सचेत हुन सिकेको छु, तर विश्वासघात गर्न सिकेको छैन।
त्यस्ता बेइमान मानिसहरू जिन्दगीमा जहाँ पुगून्, जे गरून्, जति पैसा कमाऊन्, जति ठूलो पदमा पुगून्, उनीहरूको वास्तविक चरित्र थाहा पाएका इमानदार मानिसहरूका अगाडि उनीहरूको विश्वसनीयता समाप्त भइसकेको हुन्छ। जसलाई धोका दिएका छन्, उसका अगाडि शिर ठाडो पारेर, आँखा जुधाएर बोल्ने नैतिक साहस गुमाइसकेका हुन्छन्। उनीहरूको बोली, आश्वासन र कृत्रिम आत्मीयता त्यहाँ बिक्न छाडिसकेको हुन्छ।
इमानदार मानिससँग संसारका सबै सुविधा नहुन सक्छन्, तर उसँग आत्मसम्मान हुन्छ। उसले आफ्नो विगत लुकाउनुपर्दैन। आफ्ना प्रत्येक झुटलाई ढाकछोप गर्न अर्को झुट बोल्नुपर्दैन। कसैको फोन आउँदा डराउनुपर्दैन। कसैलाई बाटोमा देख्दा बाटो बदल्नुपर्दैन। ऊ आफ्नो विवेकका अगाडि निश्चिन्त भएर उभिन सक्छ।
नेपालमा मात्र होइन, विदेशमा बस्ने नेपाली समुदायमा पनि हामीले यस्ता प्रवृत्तिमाथि आत्मसमीक्षा गर्न आवश्यक छ। आफ्नो देश, गाउँघर र परिवारबाट टाढा रहेका बेला एकअर्काको सहयोग, विश्वास र आत्मीयताको अझ बढी आवश्यकता पर्छ। त्यस्तो परिस्थितिमा पनि आफ्नै समुदायका मानिसलाई ठग्ने, सापटी लिएर नतिर्ने, साझेदारीमा बेइमानी गर्ने र व्यक्तिगत स्वार्थका लागि विश्वासघात गर्ने प्रवृत्तिले सिङ्गो समुदायको विश्वास र एकतामा चोट पुर्याउँछ।
कुनै एक व्यक्तिको बेइमानीका कारण अर्को इमानदार र वास्तविक समस्यामा परेको व्यक्तिले समेत सहयोग नपाउने अवस्था आउन सक्छ। त्यसैले बेइमानीले दुई व्यक्तिबीचको सम्बन्ध मात्रै बिगार्दैन, यसले समाजमा रहेको सहयोग र सद्भावको संस्कारलाई समेत कमजोर बनाउँछ।
हाम्रा पूर्वीय दर्शन, हिन्दू धर्मदर्शन, बौद्ध दर्शन तथा विभिन्न धार्मिक र नैतिक परम्पराहरूले सत्य, सदाचार, कृतज्ञता र आत्मसंयमलाई विशेष महत्व दिएका छन्। उपनिषद्को ‘सत्यमेव जयते’ अर्थात् सत्यकै विजय हुन्छ भन्ने उद्घोष जीवनलाई नैतिक मार्गमा सञ्चालन गर्न प्रेरित गर्ने दर्शन हो।
धर्म भनेको मन्दिर जानु, पूजा गर्नु, टीका लगाउनु, व्रत बस्नु वा धार्मिक प्रवचन दिनुमा मात्रै सीमित छैन। व्यवहारमा इमानदार हुनु, कसैको हक नखानु, लिएको ऋण तिर्नु, कसैलाई धोका नदिनु, सहयोग गर्नेलाई नबिर्सिनु र आफ्नो वचनको पालना गर्नु पनि धर्म हो।
दिनभरि मानिसलाई ठग्ने, अरूको पैसा मार्ने, झुट बोल्ने, बेइमानी गर्ने अनि बिहानबेलुका भगवान्को पूजा गरेर आफूलाई धार्मिक ठान्नुको कुनै नैतिक अर्थ छैन। अरूको हक मारेर मन्दिरमा ठूलो दान गर्दैमा त्यो बेइमानी मेटिँदैन।
कसैको पैसा खाएर धर्म कमाउन सकिँदैन। कसैलाई रुवाएर पुण्य कमाउन सकिँदैन। कसैको विश्वासको हत्या गरेर धार्मिक र संस्कारवान् बन्न सकिँदैन।
मानिसबाट गल्ती हुन सक्छ। तर अनजानमा भएको गल्ती र योजनाबद्ध रूपमा गरिएको विश्वासघात एउटै कुरा होइनन्। गल्ती स्वीकार गर्ने, पश्चात्ताप गर्ने, क्षमा माग्ने, क्षति सच्याउने र व्यवहारमा परिवर्तन ल्याउने मानिसलाई सुधारको अवसर दिन सकिन्छ। तर पटकपटक बेइमानी गर्ने र अरूको उदारताको निरन्तर दुरुपयोग गर्ने मानिससँग दूरी कायम गर्नु आत्मसम्मानको रक्षा पनि हो।
क्षमा गर्नु महानता हुन सक्छ, तर क्षमा गर्नु भनेको उसैलाई पुनः धोका दिने अवसर दिनु होइन। नाता पर्छ भन्दैमा बेइमानी सहिरहनुपर्छ भन्ने छैन। आफन्त हो भन्दैमा आफ्नो आत्मसम्मान गुमाउनुपर्छ भन्ने पनि छैन।
मेरो विचारमा जीवनमा धेरै मानिस कमाउनुभन्दा केही असल मानिस कमाउनु महत्वपूर्ण हुन्छ। हजारौँ चिनजान हुनुभन्दा दुःख पर्दा सम्झिन सकिने केही विश्वासिला मित्र हुनु मूल्यवान् हुन्छ। क्षणिक फाइदाका लागि सम्बन्ध बिगार्नुभन्दा केही आर्थिक वा भौतिक लाभ त्यागेर पनि सम्बन्ध जोगाउनु बुद्धिमानी हुन्छ।
तर सम्बन्ध जोगाउने जिम्मेवारी सधैँ एक पक्षको मात्र हुन सक्दैन। सम्बन्ध दुवैतर्फबाट निभाउनुपर्छ। सम्मान दुवैतर्फबाट हुनुपर्छ। इमानदारी दुवैतर्फबाट हुनुपर्छ।
हामीले आफ्ना सन्तानलाई पनि पैसा कमाउन मात्र सिकाएर पुग्दैन। इमानदार हुन, दिएको वचन पूरा गर्न, लिएको ऋण तिर्न, श्रमको सम्मान गर्न, सहयोगीप्रति कृतज्ञ हुन र कसैको विश्वासमाथि घात नगर्न सिकाउनुपर्छ। सन्तानका लागि करोडौँको सम्पत्ति छाडेर जानुभन्दा उनीहरूलाई इमानदारीपूर्वक जीवन बिताउन सक्ने असल संस्कार दिएर जानु महत्वपूर्ण हुन्छ।
मैले जीवनमा अनेकौँ उतारचढाव देखेको छु। सफलता र असफलता, सम्मान र अपमान, प्रशंसा र आलोचना, सहयोग र विश्वासघात सबै अनुभव गरेको छु। तर यी सबै अनुभवबाट मैले सिकेको महत्वपूर्ण पाठ के हो भने, परिस्थितिहरू परिवर्तन भए पनि आफ्नो मूल चरित्र परिवर्तन गर्नु हुँदैन।
मेरो जीवनको एउटा ठूलो सन्तुष्टि छ। आफ्नो स्वार्थ पूरा गर्न कसैसँग झुट बोल्न, कसैलाई धोका दिन, बेइमानी गर्न, कसैको पैसा मार्न वा आफ्नो आत्मसम्मान बन्धकी राखेर कसैका अगाडि हात फैलाउनुपर्ने अवस्था आजसम्म आएको छैन। भविष्यमा पनि त्यस्तो परिस्थिति नआओस् भन्ने मेरो भगवान्सँग प्रार्थना छ।
कसैले मलाई धोका दिएर आफूलाई विजेता ठानेको छ भने उसलाई मेरो भन्नु केही छैन। उसले क्षणिक स्वार्थ पूरा गरेको होला, तर एउटा इमानदार सम्बन्ध गुमाएको छ। उसले केही पैसा प्राप्त गरेको होला, तर मेरो विश्वास गुमाएको छ। उसले मलाई हराएको ठानेको होला, तर वास्तवमा उसले मेरो नजरमा आफ्नो सम्मान गुमाएको छ।
म कसैको अहित चाहन्नँ। कसैको पतनको कामना गर्दिनँ। कसैसँग प्रतिशोध लिनु पनि छैन। मानिसका आफ्नै कर्म, व्यवहार र निर्णयले उसको भविष्य निर्माण गरिरहेका हुन्छन्। गलत कर्म गर्ने मानिसको पतनको कामना गरिरहनु आवश्यक छैन। उसका आफ्नै गलत कर्महरू उसको पतनका कारण बन्न सक्छन्।
अन्त्यमा, हामी सबैले एक पटक आफैँलाई मूल्याङ्कन गरौँ। हामीले कसैको सापटी लिएर नियतवश नतिरेका त छैनौँ ? हामीले आफ्नो स्वार्थका लागि कसैको विश्वास तोडेका त छैनौँ ? हामीलाई कठिन अवस्थामा सहयोग गर्ने आफन्त, साथीभाइ र इष्टमित्रहरूलाई बिर्सिएका त छैनौँ ? आफूलाई पर्दा हात दिने मानिसहरूप्रति कृतज्ञ छौँ कि कृतघ्न बनेका छौँ ? हामी अरूबाट जस्तो इमानदारीको अपेक्षा गर्छौं, आफूले पनि त्यस्तै इमानदारी देखाएका छौँ कि छैनौँ ?
अरूको चरित्रमाथि प्रश्न उठाउनुभन्दा पहिले आफ्नो चरित्रको परीक्षा लिन सक्नु नै नैतिक चेतना हो।
सम्बन्ध एक दिनका लागि होइन, जीवनभरिका लागि बनाऔँ। आफूलाई सहयोग गर्ने मानिसलाई कहिल्यै नबिर्सिऔँ। सापटी लिएको पैसा इमानदारीपूर्वक फिर्ता गरौँ। दिएको वचन पूरा गरौँ। कसैको हक नमारौँ। कृतज्ञ बनौँ, कृतघ्न नबनौँ। स्वार्थका लागि विश्वास नबेचौँ। क्षणिक लाभका लागि दीर्घकालीन सम्बन्ध नगुमाऔँ।
धनसम्पत्ति यही संसारमा छाडेर जानुपर्छ। पद, शक्ति र प्रतिष्ठा पनि अस्थायी हुन्। तर हामीले गरेका असल काम, निभाएका इमानदार सम्बन्ध र देखाएको नैतिक चरित्र हामी नरहेपछि पनि मानिसहरूको स्मृतिमा बाँचिरहन सक्छन्।
धोका खाएर बाँच्नुपरे पनि बाँचौँला, तर कसैलाई धोका दिएर बाँच्न नपरोस्। आफैँ ठगिनुपरे पनि परोस्, तर कसैलाई ठग्न नपरोस्। आफ्नो भाग कम भए पनि होस्, तर अरूको भाग खोसेर खान नपरोस्। आर्थिक रूपमा गरिब हुनुपरे पनि होऔँला, तर नैतिक रूपमा गरिब हुन कहिल्यै नपरोस्।
किनकि इमानदारीभन्दा ठूलो सम्पत्ति, आत्मसम्मानभन्दा ठूलो प्रतिष्ठा, कृतज्ञताभन्दा सुन्दर संस्कार र असल चरित्रभन्दा ठूलो परिचय मेरो नजरमा संसारमा अरू कुनै छैन।
बुझ्नेलाई यति नै पर्याप्त छ। बुझ्नै नचाहनेहरूलाई संसारका सबै दर्शन पढाएर पनि बुझाउन सकिँदैन।
हे भगवान् ! मेरो इमानदारी, स्वाभिमान, सत्यनिष्ठा र असल संस्कारको रक्षा गरिदेऊ। कसैलाई ढाँट्ने, छल्ने, ठग्ने, अरूको हक मार्ने, कृतघ्न बन्ने र विश्वासघात गर्ने बुद्धि मलाई कहिल्यै नदेऊ। कसैका अगाडि आफ्नो स्वाभिमान गुमाएर हात फैलाउन नपरोस्। बेइमान, स्वार्थी, कपटी, कृतघ्न र विश्वासघाती प्रवृत्तिका मानिसहरू मेरो जीवनमा नजिक पनि नआऊन्।
बरु थोरै मानिससँग सम्बन्ध रहोस्, तर जति रहोस्, पवित्र, आत्मीय, इमानदार र जीवनभरिका लागि रहोस्। आज बितेर जान्छ, भोलि आउँछ, पर्सि पनि आउँछ। सधैँ सम्झिराखौँ, एउटा माघले मात्रै जाडो जाँदैन !
प्रतिक्रिया