काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई परम्परागत राजनीतिक संस्कारबाट बाहिर निकाल्ने अभियान सुरु गरेको घोषणा गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका कम्युनिस्ट शक्तिहरूलाई एउटै झन्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् ।
शनिबार सुर्खेतमा आयोजित रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीलाई ‘झोले युग’बाट ‘फाइल युग’मा प्रवेश गराएको घोषणा गरे । राजनीतिक दलका नेता तथा कार्यकर्तालाई ‘झोले’ भनेर व्यङ्ग्य र अपमान गर्ने प्रवृत्ति अन्त्य गर्न पार्टीका प्रशिक्षण, अधिवेशन तथा महाधिवेशनमा झोलाको सट्टा फाइल वा डायरी प्रयोग गर्ने अभियान सुरु गरिएको उनले बताए ।
विगतमा कांग्रेस, एमाले, माओवादीलगायतका दलका कार्यकर्तालाई झोले भन्ने गरिएकोमा पछिल्लो समय रास्वपाका कार्यकर्तालाई समेत ‘झोले’, ‘घण्टे’ र ‘खराने’ भन्न थालिएको उल्लेख गर्दै लामिछानेले त्यस्ता शब्दप्रति व्यङ्ग्यात्मक टिप्पणी गरे ।
‘कम्तीमा रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौँ, घण्टे र खराने युगबाट पनि निकालौँला,’ उनले भने ।
लामिछानेले झोलाको सट्टा प्रयोग गरिने फाइल र डायरीमा जनताका समस्या, गुनासा, आवश्यकता र विकासका मुद्दाहरू समेटिनुपर्ने बताए । सक्ने कार्यकर्ताले आफैँ सामग्री किन्ने र नसक्नेलाई अरूले सहयोग गर्ने संस्कारको विकास गर्नसमेत उनले आग्रह गरे ।
सोही कार्यक्रममा लामिछानेले कर्णालीको विकासलाई निर्वाचनको हारजितसँग नजोड्ने प्रतिबद्धता व्यक्त गरे । कर्णालीका जनताले रास्वपालाई एक मत पनि नदिए पार्टी सरकारमा रहुन्जेल कर्णाली विकासको प्राथमिकतामा रहने उनले बताए ।
विगतमा राजनीतिक दलहरूले आफ्ना उम्मेदवारलाई जिताए मात्र सडक, पुल र विकासका पूर्वाधार निर्माण गरिदिने आश्वासन बाँड्ने गरेको आरोप लगाउँदै उनले रास्वपाले विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे ।
लामिछानेले विगतका सशस्त्र विद्रोहबाट कर्णालीले ठूलो मानवीय क्षति बेहोरेको स्मरण गर्दै हिंसा र रक्तपातबिना पनि राजनीतिक परिवर्तन सम्भव रहेको बताए । कसैको कोख नरित्याई, कसैको सिउँदो नउजाडी र बालबालिकालाई टुहुरा नबनाई राजनीतिक विद्रोह गर्ने उद्देश्यले रास्वपाको जन्म भएको उनको भनाइ थियो ।
पार्टी स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन अझै बाँकी रहेको उनले स्वीकार गरे । कर्णालीमा पार्टीको कमजोर संसदीय प्रतिनिधित्वका बाबजुद यहाँका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने बताउँदै उनले नेता तथा कार्यकर्ताको घेराभन्दा बाहिर निस्केर दैलेख आसपासका बस्तीमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने जानकारीसमेत दिए ।
यसैबीच, काठमाडौंमा शनिबार आयोजित अर्को कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले नेपालका साना तथा ठूला सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने अभियानलाई थप तीव्रता दिने बताएका छन् ।
विगतमा वामपन्थी जनमतलाई एकीकृत गर्दै समाजवादको आधार तयार गर्ने उद्देश्यले गरिएको पार्टी एकता टिकाउन नसकिएको स्वीकार गर्दै उनले विगतको असफलताकै कारण एकताको प्रयास छाड्न नहुने धारणा राखे ।
प्रचण्डले नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्यको प्रस्ताव अघि सारिएको जानकारी दिँदै कम्युनिस्ट एकतासँगै अन्य राजनीतिक शक्तिहरूबीच पनि संयुक्त मोर्चा निर्माण गर्ने प्रयास भइरहेको बताए ।
शान्ति सम्झौता, संविधान निर्माण, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूबीच व्यापक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि सकारात्मक र रचनात्मक संवाद भइरहेको दाबी गरे ।
एकातिर सत्तारूढ रास्वपाका सभापति लामिछाने परम्परागत राजनीतिक संस्कार परिवर्तन, विकास र नागरिकसँगको प्रत्यक्ष संवादमा जोड दिइरहेका छन् भने अर्कोतिर पूर्वप्रधानमन्त्री प्रचण्ड कम्युनिस्ट शक्तिहरूको पुनर्गठन, एकता र राजनीतिक मोर्चाबन्दीमा केन्द्रित देखिएका छन् । दुवै नेताका शनिबारका अभिव्यक्तिले नेपाली राजनीतिमा उनीहरूका फरक प्राथमिकता, रणनीति र आगामी कार्यदिशालाई सङ्केत गरेका छन् ।
प्रतिक्रिया