– टंक पन्त,
नेपालमा भोटेकोशीबाट आएको बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिको बिबरण अझै एकीन हुन बांकी छ तर लाशको खात बढ्दै गएको छ भने बाढीमा परेर हराउनेको संख्या दैनिक १०हजार भन्दा कम नभएको आंकलन गरिएको छ । सिंगो देशका लागि इतिहासमै सबै भन्दा दर्दनाक क्षणमा यति खेर सम्पूर्ण नेपाली छन । जलवायु परिवर्तनका कारण तिब्बतमाथिको हिंउको ठूलो पहाड नै खसेपछि भोटेकोशी एक सय मिटर माथि सम्म उर्लेर आउदा रसुवाको टिमुरे स्याप्रुवेसीलाई समुन्द्रको ठूलो माछाले एकै गासमा मानबलाई कर्लप्पै निले जसरी निल्यो । त्यो भेलले नुवाकोटको त्रिशुली बजारलाई पनि सत्यानाश बनायो । दुइ दर्जन बढी सडक मार्गका पुल बगे । गाइ बस्तु,भेडा वाख्रा, लत्ता कपडा भांडाकुडा गरगहना बाहेक भौतिक क्षति नै १० खर्ब बढी भएको अनुमान गरिएको छ ।
करीव १० हजार नागरिकहरु त्यो उर्लदो बाढीमा परेर अहिले बेपत्ता छन् । झण्डै सात मेघावाटको हाइड्रोपावर ध्वंश भएका छन । चीनको सीमानाको इमिरिगेशन भवन देखि स्यापु््र्वेसी, टिमुरे, त्रिशुली जस्ता वजार सम्पूर्ण रुपमा बगरमा परिणत मात्र भएनन बजारका नागरिकहरुले बाढीको भेलमा परेर ऐया पनि भन्न पाएनन । नेपाली सेना, सशस्त्र प्रहरी क्याम्प, नेपाल प्रहरी कार्यालय देखि अन्य सरकारी कार्यालयसंगै हजारौ नागरिकहरु पहाडै उर्लेर आए जस्तो गरी आएको कालो तुवांलो जस्तो भेलमा एकै गास हुन पुगे । ०८३ भदौ १० गते बुधवार बिहान ८ बजेर ३७ मिनेट तिर आएको भोटेकोशीको बाढीले गर्दा सिंगो नेपाल भावबिह्वल स्तब्ध भएको छ । मुलुकका नागरिकहरुको आंखा एक हप्ता भैसक्दा पनि ओभाएका छैनन भने हराएका परिवारका सन्तान यति धेरै तनाबमा छन कि उनीहरुलाई सम्हाल्नै नसक्ने अबस्था सिर्जना भएको छ । न लाश भेटिएको छ न सास । तर पनि सास सहित जीवित अबस्थामै भेटिन्छन कि आशा पनि अझै हराएको छैन । त्यस्तो मानसिक तनाबमा रहेका परिवारको संख्या नगन्य छ भने घरवार सहित सिंगो परिवार नै गुमाउनेहरु कति संख्यामा छन भन्ने कुरा अझै एकीन हुन सकेको छैन । किनकि सिंगो गाउं र वजार नै खर्ल्याखुर्लुप्प पारेर बाढीले बगाएको छ । बांकी रहेका घरहरु खण्डहर बनेका छन् । बिकसित देशको तापक्रमको असरले नेपालका हिमालहरु खतरामा छन् भन्ने बहस केही बर्ष यता देखि चलिरहेकै बेला आज नेपालले त्यसको ठूलो महामारी र महाप्रलयको धक्का बेहोर्न बाध्य भएको छ । आफुले नगरेको गल्तीको शिकार नेपाल हुन पुगेको छ ।

आज करीब १० हजार नागरिक हराएका छन् भने एक हजार बढीको लाश क्षतबिक्षत अबस्थामा भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीे ज्यानको वाजी थापेर पनि एक एक पोका चाउचाउ र एक एक बोतल पानीको भरमा नागरिकहरुको उद्धारमा रातदिन नभनेर खटिएका छन । सिंगो सरकार बाचेकाहरुलाई उद्धार गर्ने र घाइतेहरुको उपचारसंगै क्षतबिक्षत शबहरुलाई ब्यबस्थापन गर्न लागि परेको छ । प्रधानमन्त्री , गृहमन्त्री स्वयंको खटाइ हेर्दा साच्चिकै प्रशंसनीय छ । यस्तो अबस्थामा पनि कतिपय बुजु्रकहरु हस्तेमा हैसे गरी हातमा हात मिलाउनुको साटो कोठामा बसेर आलोचना गर्नमै समय खर्च गर्न ब्यस्त छन् । धिक्कार छ त्यस्ता अमानवीय दानबहरु प्रति । स्थानीय सरकार रमिते बनेको जस्तो देखिएको छ । संघीय सरकारले बास्तै गरेन भन्ने हो कि आफनो ठाउंवाट भूमिका खेल्ने हो ? स्वभाविक रुपमा यो प्रश्न उठेको छ ।तर कतिपय स्थानीय जनप्रतिनधिहरुले साच्चै नै ऐतिहासिक भूमिका खेलेका छन् ।तिनीहरु प्रति स्यालुट गर्नुपर्छ । कतिपय सांसदहरुले कसरी आयो त्यति ठूलो बाढी , नेपाल सरकार किन सचेत भएन भन्ने जस्ता पूर्ण रुपमा असान्दर्भिक प्रश्न गर्न पनि लाज मानेनन् । संसदमा कतिपय सांसदहरुको आलोचना गर्नका लागि गरेको आलोचनाका स्वर अहिले पनि हास्यास्पद र सांसदहरु हुन भन्न पनि लाज लाग्ने खालका छन् ।

मुलुक यति ठूलो महाप्रलयकारी महाबिपत्तिमा पर्दा सिंगो देश एक हुनु पर्ने र राष्ट्रिय एकताको भाव देखाउनुपर्नेमा कतिपय राजनीति गर्छॅु भन्नेहरुले उल्टो सोचाइ बनाएको देखिन्छ । नेपाल सरकारले पनि यस्तो समयमा फराकिलो सोच बनाएर सबैलाई एक भएर राहत र उद्धारमा लाग्न एवं उद्धार गरिएकालाई गासवासको ब्यबस्थाका लागि सबैले आआफनो ठाउंवाट भूमिका खेल्न अपिल सहित आह्वान गर्नुपर्छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसंगै अन्य जिल्लाका नागरिकहरुलाई प्रत्यक्ष असर पारेको बाढीमा हराएका करीब १० हजार नागरिकका परिवार आफन्तको आशुको भेल संगालेको भए धेरै पोखरी भरिन्थे होला जमीनमा त्यति धेरै आशु बगेको छ भने धेरै परिवारको आंशु पनि सुकेर आंखा सुन्निएका छन् । लाश पनि नभेटिने सास पनि नभेटिने अनि के छ के छ भन्ने अन्यौलले सबै भन्दा बढी पीडा दिएको छ । त्यो पीडाको कुनै मापन नै छैन । म आफै बाढीले खण्डहर बनेका क्षेत्रको अबलोकन गर्दा र त्यहां बाचेका केही नागरिकहरुको अबस्था हेर्दा आफुलाई सम्हाल्न सकिन । साना बाबु नानी छन् तिनका बावु आमा दाजु दिदी बहिनी भाइ, काका काकी वा कोही नातेदार समेत छैनन । ती चार पांच बर्षका बाबु नानीले बाबा मामू दिदी भन्दै रोइरहेको आवाजले उद्धार गरेर ल्याउने सेना प्रहरीका पनि आशुं थामिएका थिएनन । यस्ता कहाली लाग्दा दर्दनाक दृश्य यति धेरै छन् कसरी सम्हाल्ने र कसरी ब्यबस्थापन गर्ने भन्ने चुनौति छ । यो अबस्थामा बास्तबमै राष्ट्रिय एकताको खांचो छ ।

भोटेकोशीवाट आएको बाढीले बगाएका लाशहरु चितवन पुग्दा सम्म क्षतबिक्षत भएका छन् । कैयौ लाशहरु हिलोमा गाडिएको अबस्थामा भेटिएका छन् कसैको टाउकै छैन त कसैको हात , खुट्टा मात्र भेटिएको छ । परिचय खुल्ने केही आधार छैन । र लाशको दावी गर्न आउने परिवार नातेदार पनि छैनन । त्यस्ता लाशहरु जसरी पनि ब्यबस्थापन गर्नुपर्ने आबश्यकता छ । नत्र त्यसैवाट हैजा बढ्न सक्छ । बिज्ञहरुको पनि सल्लाह अनुसार जति बर्ष पछि माग हुन आएमा डिनए गर्न मिल्ने गरी सुरक्षा निकायकोे घेराभित्र रहने गरी खाल्टो खनेर ब्यबस्थापन गर्दा बिरोध गर्नका लागि बिरोध गर्ने पनि देखिए । हाम्रो देशमा राख्ने स्थान छैन । रसुवा देखि बगाएर क्षत बिक्षत अबस्थामा भेटिएका लाशहरु जे जसरी हुन्छ ब्यबस्थापन गर्नुको बिकल्प थिएन पनि । तर पनि कतिपय सामाजिक संजालहरु नेगेटिभ मसीले रंगाएको देख्दा आश्चर्य लागेको छ । कि त सहयोग गर्नु अन्यथा चूप लाग्नु नि । संकटको बेलामा सवै नेपाली नागरिकको एउटै आवाज हुनुपर्छ र अब यो महाबिपद्लाई पार लगाउन नेपालको स्रोत साधनले भ्याउदैन त्यसैले सिंगो राष्ट्रका नागरिकले एउटै आवाजमा नेपाल र नेपालीलाई जे चाहिने हो त्यो अन्तरराष्टिय जगत समक्ष अपील गर्नुपर्छ ।

मुलुकको एक बर्षको वजेट बरावरको भौतिक क्षति भएको छ भने मानवीय क्षतिको कुनै मूल्य नै छैन र हुने कुरा पनि भएन । बिद्यालय बगेका छन् , बाबु आमा छैनन् साना साना नानी बाबु छन् तिनलाई बावु आमाको माया दिने गरी माया र शिक्षा दिनुपर्ने छ । बाचेकाहरुको घरवास , खानेकुरा छैन भने खेती योग्य जमीन पनि बगर बनेको छ । ब्यापार गरेकाहरुको सबै बगाएको छ । केवल शरीर छ अरु केही पनि तिनीहरुको सम्पूर्ण ब्यबस्थापन राज्यले गर्नुपर्ने छ । राहत र उद्धार पछिको सबै भन्दा ठूलो चुनौति राज्यका लागि ब्यबस्थापन हो । स्रोत साधन नभएको मुलुकका त्यो भन्दा ठूलो चुनौति अरु केही छैन यस्तो समयमा सरकार नागरिकहरुको अभिभावक हो । त्यो अभिभाबकत्व अनुभूति हुने खालको ब्यबहार र भूमिका राज्यले निर्वाह गर्नुपर्छ । यस्तो बेला केही कालोवाजारी गर्नेहरु सल्वलाउन थालेका छन् । संकटको फाइदा उठाउन खोज्ने अपराधिक मानसिकता बोकेकाहरुको पहिचान गरी समयमा कडा कारवाही गर्न सरकार पछि पर्नु हुंदैन । किनकि भुकम्पका वेला होस वा कोभिडका बेला कालोवजारी गर्ने र तिनलाई राजनीतिक संरक्षण गर्नेहरुको कुनै कमी थिएन । ठुला ठुला महासंकटको फाइदा उठाएर स्वार्थ पूर्ति गर्न खोज्नु भनेको अर्को महाअपराध हो ।

अहिले त्यस्तो नहोस भन्ने तर्फ सरकारको गंभीर रुपमा ध्यान जानुपर्छ कसैले त्यस्तो गरेको देखेमा एकले अर्कालाई खबर गर्ने र हतोत्साही गर्ने भूमिका स्वयं नागरिकहरुले पनि गर्नु पर्छ । देश संकटमा परेको बेला सबै नागरिकहरु तालीम नलिएका प्रहरी हो भन्ने रुपमा आफुलाई सम्झिनुपर्छ । राहत र उद्धारमा एकरुपता नभएको गुनासो स्वयं पीडितहरुले गर्न थालेका छन । रोइरहेका मनहरु, चरचर्ती चर्किरहेको मुटु र क्षतबिक्षत भएको दिमागलाई शान्त बनाउन धेरै मेहनत गनुपर्ने छ । त्यसकालागि काउन्सिलिङको पाटो पनि अर्को महत्वपुर्ण पक्ष रहेको छ । छिमेकमा रुवावासी छ तर अर्को छिमेकीले यस्तो बेला नाचगान रमाइलो गरेर पीडा थप्ने काम पनि नगरौ । चाडपर्वको मुखमा नेपाल र नेपालीले भोग्नुपरेको महाप्रलयकारी अकल्पनीय पीडालाई ध्यानमा राखी चाडपर्वमा गर्ने खर्च मानवीय सहयोगमा लगानी गरौ ।
सबैले एकले अर्कालाई सहयोग गरौ बिपत्तिमा सहयोगी हातहरु बढाउं र चराइरहेको घाउमा सबै मिलेर मलम पट्टि लगाउं त्यहि छ कामना । अन्त्यमा मृतात्मा प्रति श्रद्धासुमन ब्यक्त गर्र्देै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र हराइरहेका नागरिकहरु सकुशल फर्किन सक्नुहोस त्यहि छ भगवानसंग प्राथना ।
[email protected]



प्रतिक्रिया