काठमाडौं, साउन ४ । देशभर निरन्तर भइरहेको वर्षाका कारण पहिरो, बाढी र सडक कटानको समस्या बढ्दै जाँदा कम्तीमा ९ वटा प्रमुख राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। यसले यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनमा ठूलो असर परेको छ।
नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी प्रभाव कोशी र बागमती प्रदेशका राजमार्गमा परेको छ। वर्षा अझै जारी रहेकाले थप पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै अनावश्यक यात्रा नगर्न र अत्यावश्यक यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरिएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण अहिले एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
त्यस्तै इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोला क्षेत्रमा आएको पहिरोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा पहिरो खस्दा दिक्तेल–भोजपुर सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा लगातारको वर्षासँगै नदीको बहाव बढेपछि बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको छ।
त्यसैगरी काठमाडौं–हेटौंडा कान्ति लोकपथमा पनि बाढी तथा पहिरोको जोखिम उच्च देखिएपछि अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सवारी सञ्चालन बन्द गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला तथा कोदारी क्षेत्रमा खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चीनसँगको प्रमुख व्यापारिक मार्ग भएकाले यसको अवरोधले ढुवानी व्यवस्थामा समेत असर पर्ने देखिएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डा क्षेत्रमा रहेको पासाङल्हामु राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
उता चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। यसले काठमाडौं–पोखरा तथा पश्चिम नेपालतर्फको आवागमन प्रभावित बनेको छ।
त्यसैगरी धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहे पनि जवाङखोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षा अझै जारी रहेकाले थप पहिरो, बाढी र सडक कटान हुन सक्ने जोखिम रहेको जनाएको छ। यात्रुहरूलाई यात्रा अघि सडकको वास्तविक अवस्था बुझ्न, मौसमको जानकारी लिन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले पनि देशका धेरै स्थानमा अझै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।


प्रतिक्रिया