
काठमाडौं, असार ५ (१९ जुन २०२६) । नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार, सर्जक, प्राविधिक तथा सञ्चारकर्मीहरूको योगदानलाई सम्मान गर्दै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार–२०८३ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रको विकास, संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कारमा वरिष्ठ हास्यव्यंग्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठ लाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ। उनलाई नगद रु. ३ लाख ७५ हजारसहित सम्मान गरिएको हो। नेपाली कला, साहित्य, रंगमञ्च र चलचित्र क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
उत्कृष्ट चलचित्रको उपाधि ‘उनको स्वीटर’ ले जितेको छ। यही चलचित्रका निर्देशक नबिन चौहान उत्कृष्ट निर्देशक घोषित भए भने अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन्। वरिष्ठ कलाकार नीर शाह चलचित्र ‘परान’ मार्फत उत्कृष्ट अभिनेताको पुरस्कारबाट सम्मानित भए।
त्यस्तै ‘परान’ चलचित्रका लागि दीपक प्रसाद आचार्य र यम थापाले संयुक्त रूपमा उत्कृष्ट लेखकको पुरस्कार प्राप्त गरेका छन्। चलचित्र ‘कोशेढुंगा’ का बाबु श्रेष्ठ उत्कृष्ट छायाङ्कन तथा नहकुल खड्का उत्कृष्ट सम्पादनतर्फ पुरस्कृत भए। ‘इन्दिरा धिमे मैचा’ (नेपाल भाषा) उत्कृष्ट आदिवासी चलचित्र घोषित भयो।
जुरी प्रोत्साहन पुरस्कार अभिनेत्री आना शर्मा (रमिताको पिरती) तथा बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी) लाई प्रदान गरिएको छ भने विशेष चलचित्र पुरस्कार चलचित्र ‘नाक्छोङ’ का निर्देशक ज्योति राज राईलाई प्रदान गरिएको छ।
समारोहमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता तथा प्रदर्शक डा. सिंह गुरुङ, चलचित्र पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्री एञ्जिला सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता बिनोद सेरचन तथा प्रोडक्सन म्यानेजर शङ्कर पाण्डेलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै स्वर्गीय चलचित्र पत्रकार दिनेश सिटौलालाई मरणोपरान्त सम्मान गर्दै रु. ५० हजार नगद प्रदान गरिएको थियो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले बोर्डका पछिल्ला गतिविधि, नीतिगत सुधार, चलचित्र उद्योगको प्रवर्द्धनका लागि गरिएका प्रयास तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमबारे प्रकाश पार्दै सम्पूर्ण कलाकार, निर्माता, निर्देशक, प्राविधिक, पत्रकार तथा उपस्थित अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरेका थिए। उनले नेपाली चलचित्र उद्योगलाई थप व्यवस्थित, व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन बोर्ड निरन्तर सक्रिय रहेको बताए।
चलचित्रकर्मी तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले अध्यक्ष दिनेश डिसीको कार्यकालमा चलचित्र विकास बोर्डले उल्लेखनीय र प्रशंसनीय कार्यहरू गरिरहेको प्रतिक्रिया दिएका छन्। चलचित्र क्षेत्रका विविध समस्या समाधान, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता, चलचित्र नीति सुधार तथा कलाकारमैत्री वातावरण निर्माणका कारण बोर्ड अहिले चलचित्रकर्मीहरूको प्रशंसाको पात्र बन्दै गएको धारणा कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले नेपाली चलचित्र, कला र कलाकारहरूको महत्वबारे चर्चा गर्दै चलचित्र क्षेत्र राष्ट्रको संस्कृति, पहिचान र सामाजिक चेतनाको महत्वपूर्ण माध्यम भएको बताए। उनले पुरस्कार तथा सम्मान प्राप्त गर्ने सम्पूर्ण चलचित्रकर्मीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सशक्त र गुणस्तरीय सिर्जनाका लागि शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको प्रारम्भमा चलचित्र विकास बोर्डका सचिव राजेश कुमार थापा ले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउने सबै कलाकार, सर्जक तथा चलचित्रकर्मीप्रति सम्मान प्रकट गरेका थिए।
यसैबीच अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका (International Artists Forum America) का अध्यक्ष, वरिष्ठ गायक, संगीतकार, साहित्यकार, पत्रकार तथा कलाकार राम प्रसाद खनाल ले राष्ट्रिय चलचित्र पुरस्कार–२०८३ मा पुरस्कृत तथा सम्मानित भएका सम्पूर्ण कलाकार, निर्देशक, निर्माता, पत्रकार, प्राविधिक तथा चलचित्रकर्मीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष खनालले जारी गरेको शुभकामना सन्देशमा नेपाली चलचित्र उद्योगले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय पहिचान बनाइरहेको उल्लेख गर्दै पुरस्कार विजेताहरूले आगामी दिनमा नेपाली चलचित्रलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले कला, संस्कृति र चलचित्र राष्ट्रको गौरव भएको उल्लेख गर्दै सम्पूर्ण पुरस्कार विजेता तथा सम्मानित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार–२०८३ समारोह नेपाली चलचित्र उद्योगका लागि गौरवपूर्ण क्षणका रूपमा हेरिएको छ। चलचित्रकर्मीहरूले यस कार्यक्रमलाई नेपाली चलचित्र क्षेत्रको सिर्जनशीलता, समर्पण, व्यावसायिकता र सांस्कृतिक योगदानको उच्च सम्मानका रूपमा व्याख्या गरेका छन्। कार्यक्रम भव्य, व्यवस्थित तथा सभ्य वातावरणमा सम्पन्न भएको थियो।

पुरस्कार विजेताको सूची
* दीर्घ साधना सम्मान – मदन कृष्ण श्रेष्ठ, बरिस्ठ अभिनेता (रु. तीन लाख 75 हजार नगदसहित)
* उत्कृष्ट चलचित्र – उनको स्वीटर (रु. 25 हजार नगदसहित)
* उत्कृष्ट निर्देशक – नबिन चौहान (उनको स्वीटर) (रु. 25 हजार नगदसहित)
* उत्कृष्ट अभिनेता – नीर शाह (परान) (रु. 25 हजार नगदसहित)
* उत्कृष्ट अभिनेत्री – मिरुना मगर (उनको स्वीटर) (रु. 25 हजार नगदसहित)
* उत्कृष्ट लेखक – दिपक प्रसाद आचार्य र यम थापा (परान) (रु. 25 हजार नगदसहित)
* उत्कृष्ट छायाङ्कन – बाबु श्रेष्ठ (कोशेढुंगा) (रु. 25 हजार नगदसहित)
* उत्कृष्ट सम्पादन – नहकुल खड्का (कोशेढुंगा) (रु. 25 हजार नगदसहित)
* उत्कृष्ट आदिवासी चलचित्र – इन्दिरा धिमे मैचा (नेपाल भाषा) (रु. 25 हजार नगदसहित)
* जुरी प्रोत्साहन – आना शर्मा (रमिताको पिरती) र बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी)
* विशेष चलचित्र पुरस्कार – नाक्छोङ (ज्योति राज राई)
सम्मान
* विष्णु गोपाल श्रेष्ठ – चलचित्र प्रदर्शक
* मेनुका प्रधान – अभिनेत्री
* डा. सिंह गुरुङ – निर्माता/प्रदर्शक
* प्रकाश सुवेदी – पत्रकार
* अभिनाश विक्रम शाह – निर्देशक
* रोहित रुम्बा – अभिनेता
* एञ्जिला सुब्बा – अभिनेत्री
* लक्ष्मी बर्देवा – अभिनेत्री
* बिनोद सेरचन – निर्माता
* शङ्कर पाण्डे – प्रोडक्सन म्यानेजर
* स्वर्गीय दिनेश सिटौला – पत्रकार (रु. ५० हजार नगदसहित)






























प्रतिक्रिया