काठमाडौं । चितवनको नारायणगढबाट अपहरण गरिएका १६ वर्षीय एक किशोरलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार सोमबार साँझ चितवनको नारायणगढ क्षेत्रबाट ती किशोरलाई पाँच–छ जनाको समूहले भारतीय नम्बर प्लेटको सवारी साधनमा जबरजस्ती राखेर अपहरण गरेको थियो। अपहरणकारीहरूले उनलाई काठमाडौं ल्याई एक होटलमा बन्धक बनाएका थिए।
अपहरणपछि पीडितका परिवारजनसँग ठूलो रकम माग गरिएको सूचना प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली सक्रिय भएको थियो। अनुसन्धानका क्रममा काठमाडौंको बसपार्क क्षेत्रस्थित एक होटलमा राखिएको अवस्थामा किशोरलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार अपहरणकारीहरूले बालकलाई नियन्त्रणमा राखेर परिवारसँग फिरौती रकम मागिरहेका थिए। सूचनाको आधारमा गरिएको खोजतलासपछि प्रहरीले होटलमा छापा मारेर किशोरलाई मुक्त गराएको हो।
घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्यका सुजित कुमार, गोलु कुमार, विक्की कुमार, मोहम्मद साहिद तथा अर्का एक गोलु कुमारलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको आपराधिक पृष्ठभूमि, नेपालमा उनीहरूको गतिविधि तथा अपहरणको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अपहरणजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अगाडि बढाइने जनाएको छ।
* पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमहानिर्देशक सञ्जीव गौतम थुनामा
उता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित चर्चित भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल तथा डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबार गौतमलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामा राख्न आदेश दिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनामा अनियमितता तथा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमसहित तत्कालीन निर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुलउपर गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय हुनुपर्ने मागदाबी गरेको छ।
यसअघि सोही प्रकरणमा तत्कालीन निर्देशक प्रदीप अधिकारीलाई पनि विशेष अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ। विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता सम्बन्धी यो मुद्दा पछिल्लो समय नेपालको सार्वजनिक खरिद र पूर्वाधार विकाससँग जोडिएका सबैभन्दा चर्चित भ्रष्टाचार प्रकरणमध्ये एकका रूपमा हेरिएको छ।
अदालतको पछिल्लो आदेशसँगै उक्त प्रकरणको न्यायिक प्रक्रिया थप गम्भीर चरणमा प्रवेश गरेको कानुनी क्षेत्रका जानकारहरूले बताएका छन्।
प्रतिक्रिया