अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को सहर नेपाली कला, संस्कृति र परम्पराले रंगिएको छ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित आयोजित ‘नेपाल उत्सव’ मा हजारौँ नेपाली तथा स्थानीय अमेरिकी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियासहित विभिन्न नेपाली सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उत्सवले सान फ्रान्सिस्कोलाई एक दिनका लागि ‘नेपालमय’ बनाएको थियो । कार्यक्रममा नेपालको बहुजातीय संस्कृति, मौलिक वेशभूषा, परम्परा र सांस्कृतिक विविधताको भव्य प्रदर्शन गरिएको थियो ।
उत्सवमा सहभागी हुन लस एन्जलस, सान डिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङ बीचलगायत क्यालिफोर्नियाका विभिन्न सहर तथा आसपासका राज्यबाट नेपाली समुदाय सान फ्रान्सिस्को पुगेका थिए ।
सान फ्रान्सिस्को सिटी हलबाट सुरु गरिएको ‘नेपाल डे परेड’ एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेडका क्रममा सहरको मुख्य क्षेत्र ‘मार्केट स्ट्रिट’ सवारीसाधनका लागि बन्द गरेर पैदल यात्रुका लागि खुला गरिएको थियो । नेपाली झण्डा, सांस्कृतिक झाँकी र बाजागाजासहितको परेडले सहरको वातावरण नै उत्सवमय बनेको थियो ।
विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले आ–आफ्नो पहिचान झल्कने झाँकी प्रदर्शन गरेका थिए । नेपाली मौलिक पोशाक, सांस्कृतिक नृत्य र परम्परागत कला प्रस्तुतिले स्थानीय अमेरिकी समुदायलाई समेत आकर्षित गरेको थियो ।
कार्यक्रमका मुख्य आकर्षणमा पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, जीवित कुमारीको प्रस्तुति, धिमे बाजा तथा लाखे नाच रहेका थिए । नेपाली मौलिक संस्कृतिको जीवन्त प्रस्तुति देखेर विदेशी दर्शकहरू पनि उत्साहित बनेका थिए ।
नेपाली समुदायलाई प्रोत्साहन दिन अमेरिकी स्थानीय जनप्रतिनिधिहरू, विभिन्न सिटी काउन्सिल सदस्य, मेयरहरू तथा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारीहरू समेत कार्यक्रममा सहभागी भएका थिए ।
एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीका अनुसार उत्सवले नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै नेपालको संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
प्रतिक्रिया