Update Nepali Time: 5.41 PM, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्वाचन आयोगले तोकेको समयअनुसार साँझ ५ बजे औपचारिक रूपमा समाप्त भएको हो।
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदातालाई भने त्यसपछि पनि मतदान गर्न अनुमति दिइएको थियो। तर ५ बजेपछिमात्र मतदान केन्द्रमा पुग्ने मतदाताले भने मत हाल्न नपाउने व्यवस्था गरिएको थियो।
आयोगका अनुसार देशभरका अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। केही स्थानमा सामान्य विवाद देखिए पनि तत्काल समाधान गरेर मतदान प्रक्रिया सुचारु गरिएको थियो। दोलखा, सर्लाही र रौतहटका केही केन्द्रमा अल्पकालीन अवरोध भए पनि त्यसलाई समाधान गरी मतदान पुनः सञ्चालन गरिएको आयोगले जनाएको छ। दोलखाको तामाकोशी–४ स्थित मालु मतदान केन्द्रमा केही समय रोकिएको मतदान पुनः सञ्चालन गरिएको थियो।
निर्वाचन आयोगले मतदानको विस्तृत विवरण र प्रारम्भिक परिणामबारे जानकारी दिन साँझ पत्रकार सम्मेलन गर्ने जनाएको छ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलले ६१ प्रकारका निर्वाचन चिन्हसहित प्रतिस्पर्धा गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३,०१७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल ३,४०६ उम्मेदवार मैदानमा रहेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने १,३६३ पुरुष र १,७७२ महिला गरी कुल ३,१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान गरिएको हो।
यस पटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका थिए। जसमा
९६ लाख ६३ हजार ३५८ पुरुष
९२ लाख ४० हजार १३१ महिला
२०० अन्य मतदाता रहेका छन्।
त्यसबाहेक १ लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको थियो।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएको थियो भने १४३ अस्थायी मतदान केन्द्र पनि सञ्चालनमा आएका थिए।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। निर्वाचन सुरक्षाका लागि
७९ हजार ७२७ नेपाली सेना
७५ हजार ७९७ नेपाल प्रहरी
३४ हजार ५६७ सशस्त्र प्रहरी बल
१,९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी
१ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी
खटाइएको थियो।
मतदान केन्द्रहरूमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अशक्त मतदातालाई प्राथमिकता दिई मतदान गर्ने व्यवस्था गरिएको थियो।
निर्वाचन पर्यवेक्षण समिति नेपालले पनि प्रारम्भिक अनुगमनपछि निर्वाचन समग्रमा शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको छ। समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मतदाताको व्यवहार र निर्वाचन व्यवस्थापन विगतको तुलनामा सुधारिएको जनाएको छ।
पर्यवेक्षण टोलीले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विभिन्न समुदायका मतदाताको सहभागिता उत्साहजनक रहेको उल्लेख गरेको छ। राजनीतिक दल, उम्मेदवार र मतदाताको व्यवहार पनि अपेक्षाकृत संयमित र सहयोगी रहेको निष्कर्ष निकालिएको छ।
समितिले ३६ जिल्लाका २५० पालिकामा राष्ट्रिय र जिल्ला स्तरका करिब ४०० पर्यवेक्षक परिचालन गरेको थियो, जसमा पूर्वन्यायाधीश, पूर्वसचिव, प्राध्यापक र वरिष्ठ पत्रकारहरू समेत सहभागी थिए।
पर्यवेक्षणका क्रममा भने केही चुनौतीहरू पनि देखिएको उल्लेख गरिएको छ। कतिपय मतदातामा उम्मेदवार र निर्वाचन चिन्हबारे पर्याप्त जानकारी नभएको देखिएको समितिले जनाएको छ। प्रभावकारी मतदाता शिक्षा अभावका कारण कतिपय मतदातामा अन्योल देखिएको पनि प्रतिवेदनमा उल्लेख छ।
यसका साथै टाढाबाट मतदान गर्न आउने मतदाताले सवारी साधनको अभावका कारण समस्या भोगेको र केही मतदान केन्द्र अझै पूर्ण रूपमा अपाङ्गतामैत्री नभएको पनि औँल्याइएको छ।

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२ स्थित टोक्सेलमा बिहीबार (फागुन २१) भएको निर्वाचनमा अनौठो अवस्था देखिएको छ। यहाँका स्थानीय बासिन्दाले विकासका अधुरा कामप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा मतदान बहिष्कार गरेपछि दिनभर मतदान केन्द्र सुनसान रह्यो।
टोक्सेलमा रहेको सहिद स्मृति आधारभूत विद्यालय मतदान केन्द्रमा कुल ८०१ जना मतदाता सूचीमा रहेका छन्। तर दिउँसो ४ बजेसम्म एक जना पनि स्थानीय मतदाता मतदान गर्न नआएको निर्वाचन अधिकृत परवासी राईले जानकारी दिइन्।
उनका अनुसार स्थानीय मतदाता नआएपछि केन्द्रमा खटिएका कर्मचारीहरूले मात्र समानुपातिकतर्फ मतदान गरेका छन्। “स्थानीय कसैले पनि मतदान गर्न आउनुभएको छैन। कारणबारे आधिकारिक जानकारी छैन,” उनले भनिन्, “मतदान केन्द्रमा रहेका दुई पुरुष र दुई महिला कर्मचारीले मात्र समानुपातिकतर्फ मतदान गर्नुभएको छ।”
निर्वाचन अधिकृत राईले निर्धारित समय बेलुका ५ बजेसम्म प्रतीक्षा गरिने र त्यसपछि मतपेटिका सिल गरेर सम्बन्धित केन्द्रमा पठाइने बताइन्।
स्थानीयवासीले टोक्सेल क्षेत्रमा अस्पताल निर्माण गर्नका लागि १५७ रोपनी निजी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। तर बजेट अभाव भन्दै कोशी प्रदेश सरकारले योजना अघि नबढाएपछि स्थानीयमा असन्तोष बढेको हो।
त्यसैगरी भालुखोला–काफलडाँडा लिफ्टिङ खानेपानी आयोजना पनि लामो समयदेखि अलपत्र परेको छ। ट्यांकी निर्माण, पाइप बिछ्याउने काम र विद्युत् लाइन विस्तार सम्पन्न भए पनि पानी तान्ने मोटर खरिदका लागि बजेट नहुँदा आयोजना रोकिएको छ।
स्थानीय स्रोतका अनुसार विकासका मुद्दामा दबाब सिर्जना गर्न कांग्रेस, एमाले, रास्वपा र राप्रपासहितका दलहरूले समेत संयुक्त रूपमा मतदान नगर्ने निर्णय गरेका थिए।
स्थानीय बासिन्दाले मतदान केन्द्र नजिकै बसेर मतदातालाई भोट हाल्न नजान आग्रहसमेत गरेका थिए। यही कारण दिनभर केन्द्रमा मतदाताको उपस्थिति शून्यजस्तै रह्यो।
यसरी गाउँका अधिकांश मतदाताले मतदान नगर्ने निर्णय गरेर सरकार र सम्बन्धित निकायलाई विकासका अधुरा काम पूरा गर्न दबाब दिने प्रयास गरेका स्थानीयले बताएका छन्।
टोक्सेलको यो घटना नेपालको निर्वाचन इतिहासमै दुर्लभ उदाहरणका रूपमा हेरिएको छ, जहाँ विकासप्रति असन्तुष्टि जनाउँदै पूरै समुदायले मतदान बहिष्कार गरेको देखिएको छ।
प्रतिक्रिया