युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले रुसले युक्रेनको ऊर्जा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै बलिस्टिक मिसाइल प्रयोग गरेर आक्रमण गरेको बताएका छन्। राजधानी किभसहित देशका विभिन्न भागमा गरिएको मिसाइल र ड्रोन आक्रमणले विद्युत् केन्द्र र पूर्वाधारहरूलाई गम्भीर क्षति पुर्याएको छ। निजी ऊर्जा कम्पनी डीटेकका अनुसार यो आक्रमण सन् २०२६ मा हालसम्मकै सबैभन्दा शक्तिशाली प्रहार हो।
माइनस २० डिग्री सेल्सियस तापक्रम झरेको अवस्थामा गरिएको आक्रमणपछि किभका एक हजारभन्दा बढी अपार्टमेन्ट भवनहरू पुनः हीटिङविहीन बनेका छन्। पूर्वी सहर खार्किभको एउटा ठूलो ऊर्जा केन्द्र पूर्ण रूपमा नष्ट भएको बताइएको छ। राष्ट्रपति जेलेन्स्कीले रुसले कूटनीतिक समाधानको सट्टा आतंक र युद्ध विस्तारलाई रोजेको आरोप लगाउँदै युक्रेनका सहयोगी राष्ट्रहरूलाई मस्कोमाथि अधिकतम दबाब दिन आग्रह गरेका छन्। उनले भनेका छन्, “रुसले शान्ति होइन, आतंक रोजिरहेको छ। दबाब बिना यो युद्ध अन्त्य हुँदैन।”
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग सहमति गरेको भनिएको ‘ऊर्जा युद्धविराम’ समाप्त भएपछि भएको हो। जेलेन्स्कीका अनुसार रुसले उक्त समयलाई मिसाइल संकलन र अर्को आक्रमणको तयारीमा प्रयोग गरेको छ।
यही दिन नाटोका महासचिव मार्क रुट्टे किभ पुगेका थिए र युक्रेनी संसदलाई सम्बोधन गरेका थिए। उनले युक्रेनलाई आवश्यक हवाई प्रतिरक्षा मिसाइल उपलब्ध गराउन नाटो सदस्य राष्ट्रहरूलाई आफ्ना भण्डारणहरू गहिरोसँग प्रयोग गर्न आग्रह गरेका छन्। तर उनले पनि रुसको पछिल्लो आक्रमणले शान्तिप्रति कुनै गम्भीर संकेत नदिएको स्वीकार गरेका छन्।
युक्रेनी वायुसेनाका अनुसार रुसले ७० भन्दा बढी बलिस्टिक तथा क्रुज मिसाइल र करिब ४५० ड्रोन प्रहार गरेको थियो। तीमध्ये केवल ३८ मिसाइल मात्र खसाल्न सकिएको थियो। युक्रेनले विशेषगरी अमेरिकी ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका मिसाइलहरूको गम्भीर अभाव झेलिरहेको छ।
डीटेकले ओडेसासहित दुईवटा आफ्नै ऊर्जा केन्द्र फेरि पनि आक्रमणमा परेको पुष्टि गरेको छ। कम्पनीका अनुसार केही केन्द्रहरू केवल नागरिक हीटिङका लागि प्रयोग हुँदै आएका थिए। अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार नागरिक पूर्वाधारमाथि आक्रमण सम्भावित युद्ध अपराध मानिन्छ। निरन्तर आक्रमणका कारण मर्मत कार्य झन् कठिन बन्दै गएको छ र प्रणाली अझै कमजोर हुँदै बारम्बार ब्ल्याकआउटको जोखिम बढिरहेको छ।
देशभरबाट खटाइएका इन्जिनियरहरू हप्तौँदेखि रातदिन काम गरिरहेका छन्, तर जनशक्ति अपुग भएको बताइएको छ। धेरै नागरिकहरू दिनौँदेखि, कतिपय त हप्तौँदेखि नै घरमा हीटिङबिना बस्न बाध्य छन्। उनीहरू टोपी, कोट र कम्बलमा रात बिताइरहेका छन्। लामो समयसम्म बिजुली नआउने भएकाले धेरैले निःशुल्क तातो खाना लिन सूप किचनको सहारा लिइरहेका छन्।
किभकी एक नागरिक भेराले स्वयंसेवकहरूले बाँडेको स्ट्युको लाइनमा उभिँदै भनिन्, “रुसले हामीलाई चिसोमा जमाएर झुकाउन खोजिरहेको छ, तर उनीहरूले चाहेको कुरा पाउने छैनन्।” अर्का नागरिक भोलोदिमिरले केही दिन तातो रहने जनरेटर भएको स्थानीय विद्यालयमा बस्ने योजना बनाएका छन्। उनले भने, “दिनमा केही चल्छ, तर राति अत्यन्तै चिसो हुन्छ।” उनी रुसप्रति आक्रोशित देखिए। “उनीहरू नागरिकमाथि बम वर्षाइरहेका छन्। हामीलाई चिसोमा मर्न बाध्य पार्न खोजिरहेका छन्,” उनले भने।
पछिल्लो आक्रमणमा किभका थुप्रै आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् र खसालिएका मिसाइल तथा ड्रोनको भग्नावशेषका कारण आगलागीसमेत भएको छ। यस घटनामा थुप्रै मानिस घाइते भएका छन्।
***
अमेरिकी सेनाले अरब सागरमा अमेरिकी विमानवाहक युद्धपोत USS Abraham Lincoln तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एक इरानी ड्रोन खसालिएको जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, युद्धपोतबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि ड्रोन नष्ट गरेको हो। उक्त युद्धपोत इरानी तटबाट करिब ५०० माइल टाढा रहेको बताइएको छ। घटनामा कुनै अमेरिकी उपकरण क्षति नभएको र सैनिकहरू सुरक्षित रहेको जनाइएको छ।
यो घटना वासिङ्टन र तेहरानबीच बढ्दो तनावकै बीच भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक कार्यक्रम नियन्त्रणबारे सम्झौता नगरे सैन्य कारबाही गर्न सकिने चेतावनी दिँदै आएका छन्।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले अमेरिका–इरान वार्ता यसै साता तय भएको बताउँदै ट्रम्प पहिले कूटनीति, तर सबै विकल्प खुला भन्ने नीतिमा अडिग रहेको बताइन्।
इरानका सर्वोच्च नेता Ali Khamenei ले यसअघि इरानमाथि आक्रमण भए क्षेत्रीय युद्ध भड्किने चेतावनी दिएका थिए। ड्रोन घटनाबारे तेहरानले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
यसैबीच, अमेरिकी सेनाले इरानी रिभोल्युशनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा अमेरिकी झन्डा बोकेको व्यापारी जहाजलाई दुर्व्यवहार गरेको आरोप पनि लगाएको छ। सैन्य सहयोगपछि अवस्था नियन्त्रणमा आएको जनाइएको छ।
प्रतिक्रिया