क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को “क्यानडा अमेरिकाकै कारण बाँचेको छ” भन्ने अभिव्यक्तिलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। क्युबेक प्रान्तको ऐतिहासिक ‘प्लेन्स अफ अब्राहम’ क्षेत्रमा आयोजित मन्त्रिपरिषद् कार्यशालाका क्रममा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले क्यानडाको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र आत्मनिर्णयमाथि कुनै प्रश्न उठ्न नसक्ने बताएका हुन्। प्रधानमन्त्री कार्नीले भने, “क्यानडा र संयुक्त राज्य अमेरिकाबीच अर्थतन्त्र, सुरक्षा र सांस्कृतिक आदान–प्रदानमा दीर्घकालीन साझेदारी रहँदै आएको छ। तर क्यानडा अमेरिकाको कारण अस्तित्वमा रहेको देश होइन।” उनले थपे, “क्यानडा क्यानडेली भएकै कारण अघि बढिरहेको छ। हामी आफ्नै घरका मालिक हौँ। यो हाम्रो देश हो, हाम्रो भविष्य हो, र निर्णय गर्ने अधिकार पनि हाम्रो नै हो।”
यस अभिव्यक्तिपछि ह्वाइट हाउससँग प्रतिक्रिया मागिँदा अमेरिकी पक्षले राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेको पोस्टलाई मात्र उद्धृत गरेको थियो। सोही पोस्टमार्फत राष्ट्रपति ट्रम्पले क्यानडालाई ‘बोर्ड अफ पिस’ नामक अमेरिकी नेतृत्वमा गठन गरिएको उच्चस्तरीय अन्तर्राष्ट्रिय परिषद्मा सहभागी गराउने निमन्त्रणा फिर्ता लिएको जानकारी दिएका थिए। उक्त परिषद् गाजा क्षेत्रमा युद्धपछिको व्यवस्थापन र पुनर्निर्माणबारे निर्णय गर्न गठन गरिएको बताइएको छ।
राष्ट्रपति ट्रम्पले सार्वजनिक पत्रमार्फत लेखेका थिए, “बोर्ड अफ पिसले क्यानडालाई दिइएको सहभागिताको प्रस्ताव फिर्ता लिएको जानकारी यसै पत्रमार्फत गराइन्छ। यो अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित नेताहरूको मञ्च हुनेछ।” स्विट्जरल्यान्डको दाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा उक्त परिषद् औपचारिक रूपमा घोषणा भए पनि प्रधानमन्त्री कार्नी त्यसअघि नै कार्यक्रमस्थल छोडिसकेका थिए।
दाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा प्रधानमन्त्री कार्नी र राष्ट्रपति ट्रम्पबीचको कूटनीतिक तनाव खुला रूपमा देखिएको थियो। दुवै नेताले आ–आफ्नो सम्बोधनमा एकअर्कालाई लक्षित संकेतात्मक टिप्पणी गरेका थिए। प्रधानमन्त्री कार्नीले आफ्नो भाषणमा राष्ट्रपति ट्रम्पको नाम नलिई “नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै गएको” टिप्पणी गरे। उनले अमेरिकी विश्व नेतृत्वका केही सकारात्मक पक्ष स्वीकार गरे पनि हालको अन्तर्राष्ट्रिय व्यवस्था असफल दिशातर्फ उन्मुख भइरहेको दाबी गरे। प्रधानमन्त्री कार्नीले क्यानडाजस्ता मध्यम शक्ति भएका राष्ट्रहरूले अब अवसरको सदुपयोग गर्दै आफ्ना मूल्य, सिद्धान्त र लोकतान्त्रिक आदर्शमा आधारित नयाँ विश्व व्यवस्था निर्माणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए।
त्यसको भोलिपल्ट राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा क्यानडामाथि कटाक्ष गर्दै भने, “क्यानडाले अमेरिकाबाट धेरै सुविधा र लाभ पाइरहेको छ, त्यसका लागि कृतज्ञ हुनुपर्छ।” उनले थपे, “मैले हिजो तपाईंको प्रधानमन्त्रीको भाषण सुनेँ, उहाँ खासै आभारी देखिनु भएन। क्यानडा अमेरिकाकै कारण बाँचेको छ—यो कुरा सम्झनुहोस्, मार्क।” यी घटनाक्रमले क्यानडा र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धमा बढ्दो दूरी र तनावलाई स्पष्ट रूपमा उजागर गरेको छ। प्रधानमन्त्री कार्नीले भने यस अवस्थालाई क्यानडाले आफ्नै शक्ति पहिचान गर्ने, राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने र आफ्नै मूल्यमा आधारित भविष्य निर्माण गर्ने ऐतिहासिक मोडको रूपमा चित्रित गरेका छन्।
प्रतिक्रिया