स्विट्जरल्यान्डको एक चर्चित स्की रिसोर्ट क्षेत्रमा रहेको बारमा भएको भीषण आगलागीबारे स्विस अधिकारीहरूले विस्तृत जानकारी सार्वजनिक गरेका छन्। नयाँ वर्षको उत्सव चलिरहेका बेला भएको उक्त घटनामा ४० जनाको ज्यान गएको छ भने ११९ जना घाइते भएका छन्।
प्रारम्भिक अनुसन्धानका आधारमा अधिकारीहरूले आगलागीका विभिन्न सम्भावित कारणमाथि अनुसन्धान जारी राखेको बताएका छन्। हालसम्मको अनुमान अनुसार शैम्पेनका बोतलमा जडान गरिएका झिलिमिली स्पार्कलरहरू बारको छानोसँग अत्यधिक नजिक पुगेपछि आगो लागेको हुनसक्ने अधिकारीहरूको भनाइ छ। छानोमा आगो लागेपछि केही सेकेन्डमै आगलागी तीव्र गतिमा फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
भ्यालेस क्षेत्रकी महान्यायाधिवक्ता Beatrice Pilloud ले अनुसन्धान अझै जारी रहेको स्पष्ट पार्दै कुनै पनि सम्भावनालाई अहिले नै अस्वीकार गर्न नसकिने बताइन्। उनले बारको छानोमा प्रयोग गरिएको फोम सामग्री नियमानुसार जडान गरिएको थियो वा थिएन भन्ने विषय पनि अनुसन्धानको दायरामा रहेको जानकारी दिइन्। “अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुनेछ, अनुसन्धानलाई निष्पक्ष रूपमा अघि बढ्न दिनु आवश्यक छ,” उनले भनिन्।
यस घटनामा घाइते भएका ११९ जनामध्ये हालसम्म ११३ जनाको औपचारिक पहिचान भइसकेको स्विस प्रहरीले जनाएको छ। पहिचान भएकामध्ये ७१ जना स्विस, १४ फ्रान्सेली, ११ इटालियन, चार सर्बियन, एक–एक जना बोस्नियन, बेल्जियन, लक्जेम्बर्गका नागरिक, पोलिस र पोर्चुगिज रहेका छन्। बाँकी केही घाइतेहरूको राष्ट्रियता अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मृतक ४० जनाको औपचारिक पहिचान प्रक्रिया भने अझै जारी छ। स्विस न्यायिक प्रहरी प्रमुख Pierre-Antoine Lengen ले मृतकको सही पहिचान गर्नु नै अहिलेको “पूर्ण प्राथमिकता” भएको बताए। उनका अनुसार डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (DVI) प्रणाली प्रयोग गरिएको छ, जसमा प्रहरी, फरेन्सिक विज्ञ, चिकित्सक तथा दन्त चिकित्सकहरूको संयुक्त टोली संलग्न छ। “कुनै पनि गल्ती स्वीकार्य हुँदैन, मृतकका अवशेष सही परिवारलाई नै हस्तान्तरण गर्नुपर्छ,” उनले जोड दिए।
घटनापछि भ्यालेस अस्पतालमा गम्भीर घाइतेहरूको उपचार चर्को दबाबका बीच गरिएको अस्पताल प्रशासनले जनाएको छ। भ्यालेस अस्पतालका महानिर्देशक एरिक बोनभिनका अनुसार आगलागीको रात ५५ जना गम्भीर घाइते अस्पताल ल्याइएका थिए। तीमध्ये १३ जना उपचारपछि घर फर्किएका छन् भने ११ जना अझै सियोन अस्पतालमा उपचाररत छन्। बाँकी २८ जनालाई स्विट्जरल्यान्डका अन्य अस्पताल तथा फ्रान्स र इटालीका विशेष बर्न सेन्टरहरूमा सारिएको छ। सियोन अस्पतालमा रहेका चार जना बिरामीको अवस्था अति गम्भीर रहेको र उनीहरू सघन उपचार कक्षमा रहेको जानकारी दिइएको छ।
भ्यालेस क्षेत्रका अध्यक्ष Mathias Reynard ले नयाँ वर्षको अवसरमा पर्यटक र स्थानीयको चाप अत्यधिक बढेका बेला यो दुर्घटना भएको बताउँदै पीडित परिवारका लागि प्रत्येक क्षण पीडादायी भएको उल्लेख गरे। “उत्तर नपाएको हरेक मिनेट पीडित परिवारका लागि असह्य छ,” उनले भने।
यस घटनाको सम्झनामा जनवरी ९ मा क्रान्स–मोन्टानामा राष्ट्रिय शोक सभा आयोजना गरिने र पीडितप्रति समवेदना व्यक्त गर्न अनलाइन समवेदना पुस्तिका पनि सार्वजनिक गरिने जानकारी दिइएको छ। स्विस अधिकारीहरूले अनुसन्धान निष्पक्ष र गहिरो रूपमा अघि बढाइने र दोषी देखिए कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया