इरानकी चर्चित मानवअधिकार अभियन्ता तथा २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदीलाई इरानी सुरक्षा निकायले पक्राउ गरेको भन्दै उनका समर्थक र संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नार्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी सहर मशहदमा अन्य केही अभियन्तासहित “हिंसात्मक तरिकाले” नियन्त्रणमा लिइएको हो।
नोबेल समितिले मोहम्मदीको पक्राउप्रति गहिरो चिन्ता जनाउँदै इरानी अधिकारीहरूलाई उनको अवस्थाबारे तत्काल स्पष्ट पार्न, सुरक्षा सुनिश्चित गर्न र कुनै पनि सर्तबिना रिहा गर्न आह्वान गरेको छ। यद्यपि यस विषयमा इरान सरकारको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन।
महिलामाथिको दमनविरुद्ध आवाज उठाउँदै मानवअधिकारको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएकी मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनी सन् २०२१ देखि तेहरानको कुख्यात एभिन कारागारमा थुनिएकी थिइन्। गत डिसेम्बर २०२४ मा स्वास्थ्य कारण देखाउँदै उनलाई तीन साताका लागि अस्थायी रूपमा जेलमुक्त गरिएको थियो, तर त्यसपछि पुनः जेल फर्किनुपर्ने अवस्थामा थिइन्। उनीमाथि एकपछि अर्को गर्दै सुनाइएका कैयौँ सजाय कार्यान्वयनको क्रममा थिए।
नयाँ पक्राउ एक अधिवक्ता खोस्रो अलीकोर्दीको स्मृतिसभामा सहभागी हुने क्रममा भएको बताइएको छ। अलीकोर्दी गत साता आफ्नै कार्यालयमा मृत फेला परेका थिए। नर्वेमा आधारित ‘इरान ह्युमन राइट्स’ संस्थाले उनको मृत्यु शंकास्पद रहेको भन्दै स्वतन्त्र छानबिनको माग गरेको थियो। स्मृतिसभाका क्रममा “तानाशाहको मृत्यु होस्” र “इरान जिन्दावाद” जस्ता नाराहरू लागेका कारण अन्य केही अभियन्ताहरू पनि पक्राउ परेका छन्।
मोहम्मदीका पति ताघी रहमानीले बीबीसी पर्सियनसँग कुरा गर्दै उनकी पत्नीलाई जबर्जस्ती पक्राउ गरिएको बताए। उनका अनुसार स्मृतिसभामा उपस्थित अधिवक्ताका भाइले उक्त घटनालाई प्रत्यक्ष देखेका थिए। रहमानीले यसलाई मानवअधिकार कानुनविरुद्धको कदम र प्रतिशोधको स्वरूप भएको आरोप लगाएका छन्। पछिल्लो समय इरानमा राज्यको दमन झन् कडा बन्दै गएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे।
हालै मोहम्मदीले इजरायलसँग भएको जुन युद्धविरामपछि इरानी अधिकारीहरूले दमन अझै तीव्र बनाएको आरोप लगाएकी थिइन्। उनले टाइम पत्रिकामा लेख्दै इरानी राज्यले व्यक्तिगतदेखि सार्वजनिक जीवनका हरेक पक्ष नियन्त्रणमा राखेको उल्लेख गरेकी थिइन्। उनका अनुसार निगरानी, सेन्सरशिप, मनपरी पक्राउ, यातना र हिंसाको निरन्तर त्रासले नागरिकहरूको शान्ति भङ्ग भएको छ।
मोहम्मदीले नोबेल समितिलाई आफूले शासन पक्षका “एजेन्टहरू”बाट अप्रत्यक्ष रूपमा धम्की पाएको जानकारी पनि दिएकी थिइन्। यदि उनले इरानभित्र सार्वजनिक गतिविधि र अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार तथा लोकतन्त्रका पक्षमा बोल्न छोडेनन् भने उनको सुरक्षामा गम्भीर खतरा हुने चेतावनी दिइएको थियो।
यस्ता धम्की र निरन्तर दबाबका बाबजुद मोहम्मदी पछिल्लो एक वर्षदेखि झन् निर्भीक देखिएकी थिइन्। उनले अनिवार्य हिजाब लगाउन अस्वीकार गर्दै देशभरका अभियन्तासँग भेटघाट गरिरहेकी थिइन्।
नार्गेस फाउन्डेसनका अनुसार मोहम्मदी जीवनभरमा १३ पटक पक्राउ परिसकेकी छन् र अहिलेसम्म उनलाई कुल ३६ वर्षभन्दा बढी जेल सजाय तथा १५४ कोर्रा हान्ने फैसला सुनाइएको छ। उनको पछिल्लो पक्राउले इरानमा मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको अवस्थामाथि फेरि गम्भीर प्रश्न खडा गरेको छ।
Norwegian Nobel Committee Condemns the Brutal Arrest of Narges Mohammadi
The Norwegian Nobel Committee is deeply concerned by today’s brutal arrest of Narges Mohammadi alongside a number of other activists. Ms. Mohammadi – the 2023 Nobel Peace Prize laureate – is a staunch defender of human rights, freedom of expression and democratic participation in Iran.
The Norwegian Nobel Committee calls on the Iranian authorities to immediately clarify Mohammadi’s whereabouts, ensure her safety and integrity, and to release her without conditions. The Committee stands in solidarity with Narges Mohammadi and all those in Iran who work peacefully for human rights, the rule of law, and freedom of expression.
Given the close collaboration between the regimes in Iran and Venezuela, the Norwegian Nobel Committee notes that Ms. Mohammadi is arrested just as the Nobel Peace Prize has been awarded to the Venezuelan opposition leader, Maria Corina Machado.
–Jørgen Watne Frydnes
Chair of the Norwegian Nobel Committee
प्रतिक्रिया