अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीमाथि तीव्र प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको दाबी गरेका छन्। ट्रम्पका अनुसार डेमोक्र्याटहरू हालैको सरकार बन्द (शटडाउन) र अन्य विषयमा आफ्नै विफलता लुकाउन “ध्यान मोड्ने चाल” खेलिरहेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भने, “डेमोक्र्याटहरूले शटडाउन र अन्य धेरै विषयमा गरेका खराब कामबाट ध्यान हटाउन एपस्टीनको झुटो मुद्दा फेरी उठाइरहेका छन्। यस्तो जालमा पर्नु धेरै खराब वा मूर्ख रिपब्लिकनहरूको काम मात्र हुन्छ।”
उनले डेमोक्र्याटिक पार्टीलाई देशलाई जबर्जस्ती बन्द गराएर १.५ ट्रिलियन डलरभन्दा बढी आर्थिक क्षति पुर्याएको आरोप लगाए। ट्रम्पका अनुसार, “डेमोक्र्याटहरूको अहिलेको व्यवहारले देशलाई बन्द गराउनुका साथै लाखौँ नागरिकलाई जोखिममा पारेको छ, र त्यसको उचित मूल्य तिनले चुकाउनुपर्छ।”
राष्ट्रपतिले रिपब्लिकन सांसदलाई चेतावनी दिदै भने कि एपस्टीन प्रकरण वा अन्य कुनै विवादमा नअल्झिई, देश खोल्ने र डेमोक्र्याटहरूको कारण भएको “विशाल क्षति” मर्मत गर्ने विषयमै केन्द्रित हुनुपर्नेछ।
ट्रम्प र डेमोक्र्याटिक पार्टीबीच सरकार बन्द, स्वास्थ्य नीतिसम्बन्धी विवाद तथा बजेट व्यवस्थापनमा पछिल्ला दिनमा चर्को द्वन्द्व चलिरहेको छ। डेमोक्र्याटहरूले भने ट्रम्पको आरोपलाई निराधार भनी अस्वीकार गरेका छन्।
यसबीच, शटडाउनले संघीय कर्मचारीदेखि खाद्य सहायता (SNAP) को आश्रित लाखौँ नागरिकसम्म ठूलो असर पारेकाले अमेरिकी राजनीतिक वृतमा आरोप–प्रत्यारोप थप तीव्र बन्दै गएको छ।
प्रतिक्रिया