अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकार पुनः सञ्चालन गर्न कानूनमा हस्ताक्षर गरेका छन्, जससँगै अमेरिकी इतिहासकै सबैभन्दा लामो चलेको सरकार बन्द (Government Shutdown) अन्त्य भएको छ।
राष्ट्रपति ट्रम्पले सोमबार संकेत गरेका थिए कि सरकार चाँडै खुल्नेछ। लामो समयसम्म बजेट अभावका कारण संघीय कर्मचारीहरूले तलब नपाउनु, हवाई उडानमा ढिलाइ हुनु र हवाई यातायात नियन्त्रणमा जनशक्ति कमी हुनुजस्ता समस्या तीव्र बन्दै गएका थिए।
नयाँ विधेयकले आर्थिक वर्ष २०२५ को बजेट स्तरलाई निरन्तरता दिँदै आगामी जनवरी ३० सम्म सरकारलाई सञ्चालन गर्न अनुमति दिएको छ। यस अवधिमा आर्थिक वर्ष २०२६ को दीर्घकालीन बजेट प्रस्ताव तयार गर्न समय मिल्नेछ।
यस कानूनले ४२ मिलियनभन्दा बढी अमेरिकी नागरिकहरूलाई राहत दिने SNAP (Supplemental Nutrition Assistance Program) लाई पनि आगामी सेप्टेम्बरसम्मका लागि निरन्तरता दिएको छ। यो कार्यक्रमले न्यून आम्दानी भएका नागरिकहरूलाई खाद्यान्न खरिदका लागि डेबिट कार्डमार्फत सहयोग पुर्याउँछ।
त्यसैगरी, उक्त विधेयकले अक्टोबर महिनामा सुरु गरिएका कर्मचारी कटौती (layoffs) फिर्ता गर्ने र बन्द अवधिमा काम नगरेका संघीय कर्मचारीहरूलाई तलब उपलब्ध गराउने व्यवस्था गरेको छ।
सरकार पुनः सञ्चालन हुनुअघि, अक्टोबर १ बाट सुरु भएको ४० दिनभन्दा लामो बजेट अवरोधमा रिपब्लिकन र डेमोक्र्याट सांसदबीच सम्झौता हुन सकेको थिएन। अन्ततः सेनेटले सोमबार राति ६०–४० मतले विधेयक पारित गर्यो, जसमा आठ जना डेमोक्र्याट सांसदले पनि रिपब्लिकन पक्षमा मत दिएका थिए। त्यसपछि प्रतिनिधि सभाले बुधबार आफ्नो संस्करण पारित गरेको हो।
यो सम्झौता लामो समयदेखि चलिरहेको विवादको समाधानका रूपमा आएको हो, जब हवाई यातायात र TSA कर्मचारीहरू लगातार दोस्रोपटक तलब नपाउने अवस्थामा पुगेका थिए। जनशक्ति कमीका कारण उडानमा ढिलाइ र हवाई सेवामा अव्यवस्था फैलिएको थियो।
रिपब्लिकन र डेमोक्र्याटबीचको मुख्य विवाद स्वास्थ्य सम्बन्धी प्रावधानहरूमा केन्द्रित थियो। ट्रम्प र रिपब्लिकनहरूले डेमोक्र्याटहरूलाई “अवैध आप्रवासीहरूलाई स्वास्थ्य बीमा दिन खोजेको” आरोप लगाएका थिए। उनीहरूले ट्रम्पको “One Big Beautiful Bill” का केही प्रावधानहरू — जसले अमेरिकी नागरिक नभएकाहरूका लागि मेडिकेड योग्यता घटाएको थियो — हटाउने प्रस्तावविरुद्ध विरोध गरेका थिए।
डेमोक्र्याटहरू भने आफ्नो पक्षमा Affordable Care Act (Obamacare) अन्तर्गतका सबसिडीहरूलाई स्थायी रूपमा विस्तार गर्न चाहन्छन्, जसको म्याद २०२५ को अन्त्यमा सकिँदैछ।
हाल ट्रम्पले हस्ताक्षर गरेको अस्थायी खर्च विधेयकमा ती सबसिडी विस्तारको प्रावधान छैन। तर सेनेटका बहुमत नेता जोन थ्युनले आगामी डिसेम्बरसम्म यी कर छुटहरू (credits) निरन्तरता दिने विधेयकमा मतदान गर्ने सहमति जनाएका छन्।
अमेरिकाको ऐतिहासिक सरकार बन्द अन्त्य भए पनि स्वास्थ्य बीमा–सुब्सिडी (Obamacare Subsidies) सम्बन्धी ठूलो राजनीतिक संघर्ष अब मात्र सुरु भएको छ।
प्रतिनिधि सभा सदस्य इभेट क्लार्कले एमएसएनबीसीसँग कुरा गर्दै भनिन्— “यो अब अर्को चरणको कठोर लडाइँको सुरूवात हो।”
सरकार पुनः सञ्चालन गर्न बनेको विधेयकका बदलामा, सेनेटका आठ डेमोक्र्याट सांसदले सेनेटका बहुमत नेता जोन थ्युनसँग आगामी डिसेम्बरसम्म डेमोक्र्याटहरूले चाहेको विधेयकमाथि मतदान हुने प्रतिबद्धता प्राप्त गरेका छन्। उक्त विधेयकले २०२५ पछि समाप्त हुन लागेको Obamacare सब्सिडी लम्ब्याउनेछ।
तर कुन रूपमै विधेयक आउनेछ भन्ने स्पष्ट छैन। डेमोक्र्याटहरूलाई सफलतापूर्वक पारित गर्न कम्तीमा १३ रिपब्लिकन सांसदको मत आवश्यक पर्नेछ।
दुवै पक्ष वार्ताका लागि तयार जस्तो देखिए पनि यथार्थमा सम्झौता गर्न निकै कठिन हुने सम्भावना छ।
डेमोक्र्याटहरू सब्सिडीलाई बिना परिवर्तन लम्ब्याउन चाहन्छन्, तर रिपब्लिकनहरू आय सीमितता, सब्सिडी कटौती, न्यूनआय भएका व्यक्तिले अनिवार्य रूपमा केही रकम तिर्ने जस्ता कडा सुधार माग्दैछन्। यी दुवै माग मिलाउन नसकिए कुनै विधेयक अघि बढ्ने अवस्था छैन।
सबैभन्दा जटिल विषय गर्भपतन (Abortion) सम्बन्धी प्रावधान बन्न सक्ने देखिएको छ।
२०१० मै पारित भएको Obamacare मा Hyde Amendment को भाषा समावेश छ, जसले संघीय पैसाले गर्भपतन गर्न निषेध गर्छ। तर रिपब्लिकनहरूले थप कडा प्रतिबन्ध राख्न खोजिरहेका छन्। थ्युन र चालक रिपब्लिकन सांसदहरूले सब्सिडी विस्तारमा नयाँ गर्भपतन प्रतिबन्ध अनिवार्य गर्नुपर्ने दाबी गर्दै आएका छन्।
डेमोक्र्याटहरू भने यसलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्नेमा अडिएका छन्। प्रतिनिधि डेबी वासरम्यान शुल्ट्जले भनिन्— “यो स्वास्थ्य बीमा सस्तो बनाउने विषय हो, गर्भपतन विवाद होइन। यो त उनीहरूले वार्ता बिगार्न राखेको विषबिरुवा मात्र हो।”
यसबीच, प्रतिनिधि सभा र सेनेटबीच पनि तालमेल छैन। सेनेट नेता थ्युनले दिएर गएको वाचा प्रतिनिधि सभाले मान्नेछ कि मान्दैन भन्ने स्पष्ट छैन।
प्रतिनिधि सभा नेता माइक जोनसन र बहुमत नेता स्टीभ स्कालिसले Obamacare सब्सिडी विस्तारको कुनै प्रतिबद्धता नभएको बताएका छन्।
यदि सेनेट र प्रतिनिधि सभाले सहमति गरे पनि, अन्तिम हस्ताक्षर राष्ट्रपति डोनाल्ड ट्रम्पकै हातमा हुनेछ। ट्रम्पले लामो समयदेखि Obamacare को विरोध गर्दै आएका छन् र हालै उनले भनेका थिए— “पैसा बीमा कम्पनीलाई होइन, अमेरिकीहरूलाई पठाइनुपर्छ।”
त्यसैले, प्रस्ताव पारित भए पनि राष्ट्रपति भिटो लगाउन सक्ने सम्भावना उच्च छ।
डेमोक्र्याटहरूलाई वास्तविक समाधानको आशा धेरै कम छ। प्रतिनिधि मेलानी स्टान्सबरीले भने— “अर्का दुई महिनामा रिपब्लिकनहरूले अमेरिकी स्वास्थ्य प्रणाली सुधार गर्छन् भन्ने विश्वास गर्नु नै मूर्खता हो।”
यसरी, सरकार बन्द सकिए पनि — स्वास्थ्य बीमा सब्सिडीको युद्ध शुरु भएको छ।
प्रतिक्रिया