अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो प्रशासनअन्तर्गत सरकार बन्द (शटडाउन) हुने सम्भावना बढेको छ। मंगलवार मध्यरातदेखि संघीय निकायका धेरै सेवाहरू बन्द हुन सक्ने चेतावनी दिइएको छ, किनकि रिपब्लिकन र डेमोक्र्याटबीच बजेट सम्बन्धी सहमति हुन सकेको छैन।
मुख्य विवाद स्वास्थ्य बीमा योजना (Affordable Care Act ओबामाकेयर) का थप सब्सिडीबारे हो। डेमोक्र्याटहरूले यी सब्सिडीको निरन्तरता सुनिश्चित गर्न कानुनी प्रावधान राख्नुपर्ने माग गर्दै आएका छन्, तर रिपब्लिकनले यो विषयलाई सरकार चलाउनुपर्ने तात्कालिक फन्डिङसँग जोड्न नमिल्ने बताएका छन्।
सोमबार अपराह्न राष्ट्रपति ट्रम्प, सीनेट र प्रतिनिधिसभाका शीर्ष नेताहरूबीच भएको उच्चस्तरीय बैठकबाट कुनै समाधान ननिस्किँदा संकट अझै गहिरिएको हो। बैठकपछि सीनेट बहुमतका नेतृत्त्व गरिरहेका रिपब्लिकन नेता जोन थुनले रिपब्लिकन प्रस्तावमाथि फेरि मतदान गराउने घोषणा गरे।
थुनले विपक्षी नेता चक शुमरलाई “सरकारी खर्चलाई ओबामाकेयर सब्सिडीसँग बाँधेर रोकिनु गैरजिम्मेवार छ” भन्दै डेमोक्र्याटहरूलाई दबाब दिन प्रयास गरिरहेका छन्।
तर शुमरले भने “अब निर्णय राष्ट्रपति ट्रम्पको हातमा छ। उनीहरूले हाम्रो स्वास्थ्य सेवा सुरक्षाको माग स्वीकार नगरी सरकार खुलाउन खोज्नु भनेको लाखौँ अमेरिकनलाई जोखिममा पार्नु हो।”
रिपब्लिकन पार्टीले सात हप्ताका लागि अस्थायी बजेट स्वीकृत गर्ने ‘स्टपग्याप’ विधेयक तयार पारेको छ। यो विधेयक हाउसबाट पारित भइसकेको छ तर डेमोक्र्याटले सीनेटमा रोकिरहेका छन्।
रिपब्लिकनहरूको योजना स्पष्ट छ — सोही प्रस्तावलाई बारम्बार मतदानमा ल्याएर डेमोक्र्याटहरूलाई जनमतको दबाबमा झुकाउने। बहुमत ह्वीप जोन बरासोले भने, “हामी सरकार चलाउने यो विधेयक पारित नभएसम्म बारम्बार ल्याउनेछौं।”
रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूको अडान लामो समय टिक्दैन भन्ने विश्वास व्यक्त गरेका छन्। सेनेटर केभिन क्रामरले भने, “यदि शटडाउन भयो भने पनि लामो समय टिक्दैन। डेमोक्र्याटहरू सरकार बन्द राखेर बस्न सक्दैनन्।”
डेमोक्र्याटहरूले भने अमेरिकी स्वास्थ्य सेवा प्रणाली ‘ध्वस्त’ हुने चेतावनी दिँदै तत्काल समाधान खोज्नुपर्ने बताएका छन्। सिनेटर पीटर वेल्चले भने, “हामी अमेरिकनलाई उच्च स्वास्थ्य खर्च र अनिश्चिततामा छोड्न सक्दैनौं। सरकार खुलाउने सम्झौतामा स्वास्थ्य सुरक्षालाई कानुनी आधार दिनै पर्छ।”
सिनेटर जोन फेटरम्यानले पनि चिन्ता व्यक्त गर्दै भने, “सरकार बन्दले करोडौँ नागरिकको जीवन अस्तव्यस्त पार्छ। यस्तो सन्देश हाम्रो देश, मित्र राष्ट्र र शत्रुहरूलाई के देखाउँछ?”
राजनीतिक विश्लेषकहरूका अनुसार समय अत्यन्तै थोरै बाँकी छ र दुबै पक्ष आफ्नो अडानमा अडिग छन्। यदि आज रातिसम्म सहमति भएन भने संघीय सेवाहरू आंशिक वा पूर्ण रूपमा बन्द हुनेछन्। यसको असर सरकारी कर्मचारीदेखि लिएर आर्थिक बजार र सामान्य जनजीवनमा पर्नेछ।
रिपब्लिकनहरू विश्वासमा छन् कि दोष डेमोक्र्याटमाथि जान्छ भने डेमोक्र्याटहरू भन्छन् — “स्वास्थ्य सेवा र सामाजिक सुरक्षा कमजोर पारेर सरकार चलाउने सम्झौता गर्न सकिँदैन।”
आगामी केही घण्टामा राजनीतिक सहमति भएन भने राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा पहिलो पटक संघीय सरकार आंशिक रूपमा बन्द हुने निश्चितजस्तै देखिएको छ।
प्रतिक्रिया