काबुल । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा शनिबार बिहान एक विद्यालय नजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० विद्यार्थीको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश बालबालिका रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् ।
कुनार प्रान्तको राजधानी असदाबादस्थित अन्देरसेर क्षेत्रमा रहेको शागाई माध्यमिक विद्यालय नजिकै विस्फोट भएको हो । प्रारम्भिक विवरणमा सात जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको संख्या १० पुगेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।
तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीका अनुसार खानी सञ्चालनका लागि प्रयोग गरिने विस्फोटक पदार्थ भण्डारण तथा व्यवस्थापनमा भएको चरम लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुनार प्रान्तका सूचना तथा संस्कृति विभागका प्रमुख सामिउल हक बयानका अनुसार विद्यालय नजिकैको एउटा घरमा भएको विस्फोटबाट विद्यालय भवन र कक्षाकोठामा ठूलो क्षति पुगेको छ ।
विस्फोटपछि घाइते विद्यार्थीहरूलाई निजी सवारीसाधनमार्फत समेत असदाबादस्थित अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा उपचाररत बालबालिकाका अभिभावक र आफन्तहरूको भीड लागेको थियो । अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् भने करिब १५ जना अझै अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन् ।
घटनास्थलका तस्बिरहरूमा विद्यालयका कक्षाकोठाभित्र फुटेका सिसा, भग्नावशेष, विद्यार्थीका झोला, पुस्तक तथा जुत्ताहरू छरिएको देखिएको छ ।
अधिकारीहरूले घटनालाई प्रारम्भिक रूपमा दुर्घटना मानेका छन् । यद्यपि घटनाको विस्तृत अनुसन्धान जारी रहेको र लापरबाहीमा संलग्न पक्षको जिम्मेवारी निर्धारण हुन बाँकी रहेको जनाइएको छ ।
अफगानिस्तानमा खानी उद्योग अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भए पनि कमजोर सुरक्षा मापदण्ड र जोखिमपूर्ण सामग्रीको अव्यवस्थित भण्डारणका कारण बेलाबेलामा गम्भीर दुर्घटना हुने गरेका छन् ।
पछिल्लो घटनाले विद्यालय तथा मानव बस्ती नजिकै विस्फोटक पदार्थ भण्डारण गर्ने कार्यमाथि कडा नियमन र बालबालिकाको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ ।
प्रतिक्रिया