सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले यतिबेला कर्णाली प्रदेश उत्सवमय बनेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि हिमाली तथा पहाडी बस्तीसम्म खेलकुदको रौनक छाएको छ ।
देशका सातै प्रदेश र विभिन्न विभागीय टोलीका खेलाडीहरूको सहभागितामा आयोजित प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने भएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
प्रतियोगितालाई सफल बनाउन संघीय तथा प्रदेश सरकार, स्थानीय तह, खेलकुद क्षेत्रका पदाधिकारी र सर्वसाधारण सक्रिय भएका छन् । मन्त्री पोखरेल र सामाजिक सुरक्षामन्त्री सीता वादीले बक्सिङ प्रतियोगिताको अवलोकन गर्दै खेलाडीहरूको हौसला बढाएका छन् ।
यसैबीच, राष्ट्रिय खेलकुदको सन्देश गाउँगाउँमा पुर्याउन सञ्चालन गरिएको ओलम्पिक टर्च र्यालीलाई जुम्लाको तातोपानी गाउँपालिकामा पञ्चेबाजा र स्थानीय स्याउको मालासहित भव्य स्वागत गरिएको छ ।
विकास र पूर्वाधारका दृष्टिले पछाडि परेको कर्णालीका लागि दशौँ राष्ट्रिय खेलकुद आफ्नो क्षमता, मौलिक संस्कृति, पर्यटन, सम्भावना र आतिथ्यलाई राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक अवसर बनेको छ ।
प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, पर्यटन प्रवर्द्धन र कर्णालीको आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया