नेपालीहरूको महान् पर्व बडादसैँको उल्लाससँगै नेपाली चलचित्र बजारमा पनि नयाँ उत्साह थपिएको छ। लामो समयदेखि दर्शकको प्रतीक्षामा रहेको चर्चित दीपक–दीपा समूहको नयाँ चलचित्र ‘छ माया छपक्कै २’ शनिबार फूलपातीको अवसर पारेर देशभरका चलचित्र हलहरूमा प्रदर्शनमा आएको छ। चलचित्रको व्यापक प्रचारप्रसार, सामाजिक सञ्जालमा देखिएको चर्चा र दसैँको अवसरले यसको प्रदर्शनलाई विशेष बनाएको छ।
नेपाली चलचित्र क्षेत्रमा दीपकराज गिरी र दीपाश्री निरौला केवल दुई कलाकारका नाम मात्र होइनन्, दर्शकले विश्वास गर्ने एउटा स्थापित मनोरञ्जन ब्रान्डका रूपमा चिनिन्छन्। हास्यव्यङ्ग्य, पारिवारिक कथा, सामाजिक सन्देश र मनोरञ्जनलाई एकै ठाउँमा प्रस्तुत गर्ने उनीहरूको शैलीले विगतदेखि नै ठूलो दर्शकवर्ग निर्माण गरेको छ। त्यसैले दसैँ आयो कि दीपक–दीपाको चलचित्र सम्झिने दर्शकहरू यसपालि पनि ‘छ माया छपक्कै २’ प्रति उत्साहित देखिएका छन्।
चलचित्रलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। यसअघि सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’ को लोकप्रियता र सफलताको पृष्ठभूमिमा तयार गरिएको दोस्रो शृङ्खलाले पनि हास्य, प्रेम, परिवार र समसामयिक सामाजिक–राजनीतिक विषयलाई रोचक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।
चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई प्रमुख भूमिकामा छन्। उनीहरूसँगै दीपाश्री निरौला, कर्मा, निर्मल शर्मा, रमा थपलिया, प्रकाश घिमिरे, रवीन्द्र झा, रामप्रसाद खनाल, मेक्सम गौडेललगायत कलाकारहरूको अभिनय रहेको छ। कथा निर्देशक लामा र दीपकराज गिरीले संयुक्त रूपमा तयार पारेका हुन् भने पटकथा तथा संवादमा दीपकराज गिरीको छ।
चलचित्रका निर्माता रोहित अधिकारी हुन्। नेपाली चलचित्र उद्योगमा सक्रिय र ऊर्जाशील निर्माताका रूपमा चिनिएका अधिकारीले यसपटक पनि व्यावसायिक सम्भावना बोकेको मनोरञ्जनात्मक चलचित्र दर्शकमाझ ल्याएका छन्। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता छन् भने दीपाश्री निरौला सल्लाहकारको भूमिकामा रहेकी छन्।
यसपटक चलचित्रको चर्चा नेपालमा मात्र सीमित छैन। अमेरिका, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमानलगायत देशमा पनि प्रदर्शनको व्यवस्था गरिएको छ भने बेलायत, जापान र क्यानडासहितका अन्य अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन तालिका सार्वजनिक गरिएको छ। यसले नेपाली चलचित्रको बजार विश्वभरका नेपाली समुदायसम्म विस्तार हुँदै गएको सकारात्मक संकेत दिएको छ।
चलचित्रको शीर्षक गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा सुरु भएको थियो। दसैँको बिदा, परिवारसँग चलचित्र हेर्ने परम्परा र दीपक–दीपा समूहप्रति दर्शकको पुरानो आकर्षणले यसको प्रचारप्रसारलाई थप बल पुर्याएको देखिन्छ। यसैबीच चलचित्रले मल्टिप्लेक्स तथा सिंगल स्क्रिनमा राम्रो सङ्ख्यामा शो प्राप्त गरेको छ। यद्यपि, अन्य नयाँ चलचित्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ।
नेपाली चलचित्र उद्योगका लागि दसैँ केवल चाडपर्व होइन, व्यावसायिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण अवसर हो। परिवारका सदस्यहरू एकसाथ मनोरञ्जन लिन हलसम्म पुग्ने समय भएकाले यस अवधिमा प्रदर्शन हुने चलचित्रप्रति निर्माता, वितरक र हल सञ्चालकहरूको विशेष अपेक्षा रहन्छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले विगतमा लगातार लोकप्रिय चलचित्र दिँदै नेपाली दर्शकलाई हलसम्म आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। अब ‘छ माया छपक्कै २’ ले त्यो विश्वासलाई कति निरन्तरता दिन सक्छ भन्ने कुरा दर्शकको वास्तविक प्रतिक्रियाले निर्धारण गर्नेछ।
प्रदर्शनको पहिलो दिन भएकाले चलचित्रको अन्तिम व्यावसायिक सफलता वा दर्शकको समग्र मूल्याङ्कनबारे निष्कर्ष निकाल्न अझै समय छ। तर प्रचारप्रसार, कलाकारहरूको लोकप्रियता, निर्माण समूहको अनुभव र पर्वको अवसरले चलचित्रप्रति सकारात्मक अपेक्षा जगाएको छ।
राम्रो नेपाली चलचित्र बने, दर्शकले साथ दिए र निर्माताहरूले गुणस्तरीय प्रस्तुतिलाई प्राथमिकता दिए नेपाली चलचित्र उद्योग अझ बलियो बन्ने निश्चित छ। यही आशासहित ‘छ माया छपक्कै २’ को सम्पूर्ण निर्माण समूह, कलाकार र प्राविधिक टोलीलाई सफलताको शुभकामना !
अन्त्यमा दर्शकहरूलाई एउटै प्रश्न : ‘छ माया छपक्कै २’ हेर्नुभयो ? कस्तो लाग्यो कुन्नि ? हेर्नुभएको छ भने आफ्नो प्रतिक्रिया दिनुहोला, नहेर्नुभएको भए हेरेर भन्नुहोला है ! राम्रो नेपाली चलचित्रलाई माया र साथ दिऔँ, नेपाली कला र कलाकारलाई प्रोत्साहन गरौँ।











प्रतिक्रिया