वासिङ्टन डीसी, अक्टोबर १४। अमेरिकामा महँगी पुनः बढेको छ। अमेरिकी श्रम मन्त्रालयअन्तर्गतको ब्युरो अफ लेबर स्टाटिस्टिक्सले सार्वजनिक गरेको भनिएको सेप्टेम्बर महिनाको विवरणअनुसार वार्षिक मुद्रास्फीति दर अगस्टको ३.४ प्रतिशतबाट बढेर ३.७ प्रतिशत पुगेको छ।
विवरणअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य सूचकांक मासिक रूपमा ०.६ प्रतिशतले वृद्धि भएको छ। सबैभन्दा ठूलो मूल्यवृद्धि ऊर्जा क्षेत्रमा देखिएको छ। पेट्रोलको मूल्य एक महिनामै ९.१ प्रतिशत र एक वर्षमा ३४.२ प्रतिशत बढेको बताइएको छ। आवास, यातायात, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य उपभोग्य वस्तुको खर्चमा समेत दबाब कायम रहेको जनाइएको छ।
खाद्यान्न र ऊर्जाबाहेकका वस्तु तथा सेवाको मूल्यवृद्धि मापन गर्ने कोर मुद्रास्फीति दर पनि २.४ प्रतिशतबाट २.६ प्रतिशत पुगेको विवरणमा उल्लेख छ। यसले महँगीको समस्या पेट्रोलियम पदार्थमा मात्र सीमित नरहेको संकेत गर्छ।
बढ्दो मुद्रास्फीतिले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी ब्याजदरसम्बन्धी निर्णयलाई थप जटिल बनाउन सक्छ। महँगी नियन्त्रणका लागि ब्याजदर उच्च राखिए घरकर्जा, सवारीसाधन कर्जा तथा व्यवसाय सञ्चालनका लागि लिइने ऋणको लागतमा दबाब कायम रहन सक्छ।
नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि महँगी, पेट्रोलको मूल्य र सर्वसाधारणको जीवनयापन खर्च प्रमुख आर्थिक तथा राजनीतिक मुद्दा बनेका छन्। मध्यपूर्वको तनाव र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताले पनि अमेरिकी बजारमा थप दबाब सिर्जना गर्न सक्ने चिन्ता छ।
महँगीको प्रत्यक्ष असर विशेषगरी निश्चित आम्दानी भएका परिवार, घर खरिद गर्ने तयारीमा रहेका उपभोक्ता, साना व्यवसायी तथा दैनिक सवारीसाधन प्रयोग गर्ने नागरिकमा पर्न सक्छ। आगामी महिनामा पेट्रोलियम पदार्थको मूल्य, रोजगारीको अवस्था र फेडरल रिजर्भको नीतिले अमेरिकी अर्थतन्त्रको दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।
प्रतिक्रिया