संसारका विभिन्न देशमा छरिएर रहेका लाखौँ नेपालीहरूको मनमा आज एउटै प्रश्न उठिरहेको छ। हामी जन्मिएको, हुर्किएको, हाम्रो पुर्खाले रगत पसिना बगाएको देश नेपालसँगको हाम्रो नाता किन कमजोर बनाइँदैछ ? विदेशको नागरिकता लिनु जीवनको आवश्यकता, रोजगारी, सुरक्षा, परिवार, पेशा वा परिस्थितिको परिणाम हुन सक्छ, तर त्यसैका आधारमा कसैको इतिहास, वंश, भावना, मातृभूमिप्रतिको प्रेम र जन्मभूमिसँगको सम्बन्ध समाप्त हुँदैन। पासपोर्ट बदलिन सक्छ, बसोबासको देश बदलिन सक्छ, तर आफ्नो पुर्खाको देश, आफ्नो माटो र आफ्नो पहिचान बदलिँदैन।
त्यसैले संसारभर छरिएर रहेका नेपालीहरूको आवाज स्पष्ट छ। नेपाली वंशजको नागरिकतालाई निरन्तरता देऊ। एक पटकको नेपाली सधैंको नेपाली। हामीलाई हाम्रै देशसँग अलग नबनाऊ।
यो कुनै एक व्यक्ति, एउटा संस्था वा कुनै राजनीतिक समूहको मात्र माग होइन। यो पुस्तौँसम्म नेपालसँग जोडिइरहन चाहने नेपाली डायस्पोराको अस्तित्व, पहिचान र भावनाको प्रश्न हो।
नेपालको संविधानले गैरआवासीय नेपालीका लागि निश्चित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। तर व्यवहारमा उनीहरूको नागरिकता, सम्पत्ति, पारिवारिक अधिकार, प्रशासनिक प्रक्रिया र राज्यसँगको सम्बन्ध अझै सहज, स्पष्ट र स्थिर हुन सकेको छैन। कागजमा अधिकार दिएर व्यवहारमा प्रयोग गर्न कठिन बनाउनु समाधान होइन।
अझ महत्वपूर्ण कुरा के हो भने पछिल्लो निर्वाचनअघि विभिन्न राजनीतिक दलहरूले गैरआवासीय नेपालीहरूको भावनालाई सम्बोधन गर्दै “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने धारणा, नागरिकताको निरन्तरता, सम्पत्ति अधिकार, लगानीको सुरक्षा र विदेशमा रहेका नेपालीलाई नेपालसँग अझ मजबुत रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैले आज सरकार र राजनीतिक नेतृत्वलाई सीधा प्रश्न सोध्नैपर्छ। चुनावका बेला गरेको बाचा कहाँ गयो ? भुल्यौ ?
जनतासँग मत माग्दा एउटा कुरा गर्ने र सत्तामा पुगेपछि अर्को भाषा बोल्ने राजनीतिक संस्कार नेपालले धेरै पटक देखिसकेको छ। पुराना सरकारहरूले पटकपटक गैरआवासीय नेपालीका सवालमा आश्वासन दिए। समिति बनाए। घोषणा गरे। भाषण गरे। तर ठोस निर्णय र पूर्ण कार्यान्वयनमा पुग्दा विषयलाई अलमल्याइयो। अहिले नयाँ राजनीतिक शक्तिहरूबाट धेरै अपेक्षा गरिएको थियो। उनीहरूले पुरानाभन्दा फरक राजनीति गर्ने, जनतासँग गरेको बाचा पूरा गर्ने र नेपाली डायस्पोरासँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने बताएका थिए। तर अहिले त्यही प्रतिबद्धताबाट पछि हट्ने, बोली फेर्ने वा विषयलाई पन्छाउने संकेत देखिन थाले भने प्रश्न उठ्नु स्वाभाविक हो।
सरकारले एउटा कुरा स्पष्टसँग बुझ्नुपर्छ। गैरआवासीय नेपाली केवल विदेशबाट पैसा पठाउने मानिस होइनन्। उनीहरू नेपालका छोराछोरी हुन्। उनीहरूका आमाबुबा नेपालमा छन्। दाजुभाइ, दिदीबहिनी नेपालमा छन्। पुर्खाको घर नेपालमा छ। जग्गाजमिन नेपालमा छ। संस्कार नेपालमा छ। भाषा नेपालसँग जोडिएको छ। धार्मिक र सांस्कृतिक सम्बन्ध नेपालसँग छ। लाखौँ नेपालीहरूले विदेशमा बसेर पनि नेपालमा घर बनाएका छन्, लगानी गरेका छन्, विद्यालय, अस्पताल, मन्दिर, सामाजिक संस्था, परोपकारी अभियान र विकास परियोजनामा सहयोग गरेका छन्। उनीहरूको सीप, पूँजी, अनुभव, अन्तर्राष्ट्रिय पहुँच र नेटवर्क नेपालका लागि ठूलो शक्ति हो।
त्यसैले आफ्नै नागरिकलाई भावनात्मक र कानुनी रूपमा नेपालबाट टाढा बनाउनु कुनै पनि दृष्टिले राष्ट्रिय हितमा हुन सक्दैन।
यहाँ अर्को गम्भीर प्रश्न पनि उठ्छ। यदि नेपालले विभिन्न आधारमा विदेशी नागरिकलाई अंगीकृत नागरिकताको बाटो खुला राख्छ भने सदियौँदेखि नेपाली वंशमा जन्मिएका, नेपालमै जन्मिएका वा नेपाली आमाबुबाका सन्तानले अर्को देशको नागरिकता लिएको कारण नेपालसँगको मूल नागरिक सम्बन्ध किन गुमाउनुपर्ने ? राज्यले विदेशीलाई नेपाली बनाउने कानुनी व्यवस्था बनाउन सक्छ भने आफ्नै नेपाली वंशजलाई नेपालसँग जोडिराख्ने व्यवस्था झन् स्वाभाविक, न्यायसंगत र आवश्यक हुनुपर्ने होइन र ?
यसको अर्थ राष्ट्रिय सुरक्षा, संवेदनशील सार्वजनिक पद, संवैधानिक जिम्मेवारी वा निश्चित सरकारी अधिकारहरूमा कुनै सीमा हुनुहुँदैन भन्ने होइन। आवश्यक परे संवेदनशील क्षेत्रका लागि स्पष्ट अपवाद बनाउन सकिन्छ। तर त्यसको नाममा नेपाली वंशजलाई नै आफ्नो मातृभूमिसँगको आधारभूत सम्बन्धबाट अलग गर्नु उचित हुँदैन। संसारका धेरै देशहरूले डायस्पोरालाई राष्ट्रिय शक्ति मान्छन्। नेपालले पनि आफ्ना मानिसलाई समस्या होइन, सम्पत्ति र शक्ति ठान्न सिक्नुपर्छ।
गैरआवासीय नेपाली नागरिकताको अहिलेको व्यवस्था पर्याप्त छ भनेर ढुक्क बस्न पनि मिल्दैन। व्यवहारिक अधिकार कार्यान्वयनमा गम्भीर चुनौती छन्। नागरिकता लिएपछि पनि त्यसको प्रयोगमा समस्या आउने, सरकारी निकायबीच स्पष्टता नहुने, सम्पत्ति, लगानी, बैंकिङ, उत्तराधिकार र प्रशासनिक काममा जटिलता देखिने अवस्था रहिरह्यो भने त्यस्तो नागरिकताको अर्थ कमजोर हुन्छ।
त्यसैले अब संसारभरका नेपालीहरू सचेत हुनुपर्ने समय आएको छ। यो विषयलाई कुनै पार्टीको समर्थन वा विरोधका रूपमा होइन, नेपाली वंशजको दीर्घकालीन राष्ट्रिय अधिकारका रूपमा उठाउनुपर्छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जापान, युरोप, मध्यपूर्व, अफ्रिका, एसिया र संसारका अन्य मुलुकमा रहेका नेपालीले एउटै आवाजमा सरकारलाई सम्झाउनुपर्छ। हामीले चुनावका वाचा बिर्सेका छैनौँ।
सामाजिक सञ्जाल आज संसारभरका नेपालीलाई जोड्ने सबैभन्दा बलियो माध्यम बनेको छ। त्यसैले फेसबुक, एक्स, टिकटक, युट्युब, इन्स्टाग्राम र अन्य माध्यमबाट शान्तिपूर्ण, तथ्यपूर्ण र निरन्तर दबाब सिर्जना गर्नुपर्छ। सांसदलाई लेखौँ। मन्त्रीलाई सोधौँ। राजनीतिक दललाई उनीहरूको घोषणापत्र सम्झाऔँ। चुनावअघि बोलेका भाषण सम्झाऔँ। एउटै प्रश्न गरौँ। तपाईंहरूको बाचा के थियो ?
यो कुनै सरकारविरोधी अभियान होइन। यो सरकारलाई आफ्नो प्रतिबद्धता सम्झाउने नागरिक अभियान हो।
NRN नेतृत्वलाई पनि मेरो विशेष आग्रह छ। नागरिकताको निरन्तरता विषय कुनै सम्मेलनको एउटा सत्र, घोषणापत्रको एउटा अनुच्छेद वा नेतासँग फोटो खिचाउने अवसरमा सीमित हुनु हुँदैन। यसलाई संगठनको प्रमुख एजेन्डा बनाइयोस्। विश्वभरका NCC र ICC ले साझा रणनीति बनाऊन्। कानुनविद्, संवैधानिक विज्ञ, राजनीतिक नेतृत्व, सांसद, सरकार र नेपाली डायस्पोराबीच निरन्तर संवाद चलाइयोस्। स्पष्ट कानुनी प्रस्ताव तयार होस्। आवश्यक संवैधानिक संशोधन भए त्यसका लागि राष्ट्रिय सहमति खोजियोस्।
यस मुद्दामा NRN नेतृत्व मौन बस्न मिल्दैन। नेतृत्वको अर्थ पद धारण गर्नु मात्र होइन, आवश्यक परेको बेला समुदायको आवाज बन्नु हो।
सरकारलाई पनि मेरो आग्रह छ। यो विषयलाई भावनात्मक नारामा मात्र सीमित नराख। चुनावमा बोलेको कुरा सम्झ। जनतासँग गरेको बाचा पूरा गर। नेपाली वंशजको नागरिकता निरन्तरताबारे स्पष्ट, दीर्घकालीन र व्यवहारिक कानुनी समाधान ल्याऊ। प्रक्रिया सरल बनाऊ। प्रशासनिक झन्झट हटाऊ। सम्पत्ति, उत्तराधिकार, लगानी, पारिवारिक सम्बन्ध र नागरिक पहिचानलाई सुरक्षित गर।
हामी नेपालमा केही खोस्न आएका होइनौँ। हामी त नेपालसँग जोडिइरहन चाहन्छौँ। हामी नेपाललाई कमजोर बनाउन होइन, बलियो बनाउन चाहन्छौँ। हामी विदेशमा बसेका हुन सक्छौँ, तर नेपाल हाम्रो इतिहास हो, पहिचान हो, भावना हो र पुर्खाको भूमि हो।
त्यसैले फेरि भन्छु। नेपाली वंशजको नागरिकतालाई निरन्तरता देऊ। एक पटकको नेपाली सधैंको नेपाली। हामीलाई हाम्रै देशसँग अलग नबनाऊ।
पुराना सरकारहरूले धोका दिए। नयाँ सरकारले पनि त्यही बाटो नसमातोस्। चुनावी बाचा कागजमा मात्र सीमित नहोस्। संसारभरका नेपाली अब सचेत बनौँ। आवाज उठाऔँ। सरकारलाई खबरदारी गरौँ।
मेरो पनि भनाइ यही हो, सुन्छौ सरकार ?
– आजीवन सदस्य, गैरआवासीय नेपाली संघ – NRNA
प्रतिक्रिया