तेहरान, ईरान / ईरानका सर्वोच्च नेता अल खामेनीले अमेरिकाले आफ्नो देशमाथि कुनै पनि प्रकारको सैन्य आक्रमण गरे त्यसको परिणाम “क्षेत्रीय युद्ध” हुने कडा चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रमा सैन्य शक्ति बढाइरहेका बेला खामेनीको यो अभिव्यक्ति आएको हो।
आइतबार तेहरानको केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै ८६ वर्षीय खामेनीले भने, “यसपटक यदि उनीहरूले युद्ध सुरु गरे भने, त्यो क्षेत्रीय युद्ध हुनेछ।” ३७ वर्षदेखि निरन्तर रूपमा सर्वोच्च सत्ता सम्हाल्दै आएका खामेनीले यो चेतावनी हजारौँ समर्थकको उपस्थितिमा दिएका हुन्।
उक्त कार्यक्रम सन् १९७९ मा फ्रान्सको निर्वासनबाट आयातोल्लाह रुहोल्लाह खोमेनी ईरान फर्किएको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको थियो। यही घटनाले ईरानी क्रान्तिको बाटो खोलेको थियो, जसको परिणामस्वरूप अमेरिका समर्थित तत्कालीन शासक मोहम्मद रेजा शाह पहलवी देश छोड्न बाध्य भएका थिए।
खामेनीले अमेरिकाले ईरानका विशाल तेल र प्राकृतिक ग्यास स्रोतहरू “निल्न खोजिरहेको” आरोप लगाउँदै हालै भएका सरकारविरोधी आन्दोलनहरूलाई “कूजस्तै प्रयास”को संज्ञा दिए। उनका अनुसार ती आन्दोलनका क्रममा सरकारी कार्यालय, बैंक, मस्जिद तथा सुरक्षासम्बन्धी संरचनामाथि आक्रमण गरियो।
उनले पछिल्लो हिंसालाई सन् २००९ को ‘ग्रीन मुभमेन्ट’सँग तुलना गर्दै अर्को “षड्यन्त्र” भने। “देश सञ्चालनका संवेदनशील र प्रभावकारी केन्द्रहरू ध्वस्त पार्ने उद्देश्यले प्रहरी, सरकारी निकाय, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC), बैंक र मस्जिदहरूमा आक्रमण गरियो र कुरान जलाइयो,” खामेनीले दाबी गरे।
खामेनीको चेतावनीपछि राष्ट्रपति ट्रम्पले ईरानसँग सम्झौता हुनसक्ने आशा व्यक्त गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “अवश्य पनि उनी त्यसो भन्छन्। आशा छ, हामी सम्झौता गर्नेछौँ। यदि सम्झौता भएन भने, उनी सही थिए कि थिएनन् भन्ने थाहा हुनेछ।”
ईरानमा पछिल्ला प्रदर्शनहरू डिसेम्बर २८ बाट सुरु भएका थिए। सुरुमा तेहरानको व्यापारिक क्षेत्रमा व्यापारीहरूले तीव्र आर्थिक गिरावट, कुप्रबन्धन र भ्रष्टाचारविरुद्ध विरोध जनाएका थिए। पछि ती प्रदर्शनहरू व्यक्तिगत तथा सामाजिक स्वतन्त्रता, ऊर्जा र पानी संकट, वायु प्रदूषणलगायत विषयमा राष्ट्रव्यापी असन्तोषमा परिणत भए।
संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरू र विदेशस्थित विपक्षी समूहहरूको दाबीअनुसार सुरक्षाबलको कारबाहीमा हजारौँ मानिस मारिएका छन्। संयुक्त राष्ट्रसंघका एक विशेष प्रतिवेदकले मृतक संख्या २० हजार नाघ्न सक्ने बताएका छन्। अमेरिकीस्थित कार्यकर्ताहरूले ६,७१३ जनाको मृत्यु भएको दाबी गर्दै थप १७ हजार घटनाको अनुसन्धान भइरहेको बताएका छन्। केही स्रोतहरूले अझ उच्च संख्या उल्लेख गरेका छन्।
ईरानी अधिकारीहरूले भने अमेरिका र इजरायल समर्थित “आतङ्ककारीहरू” हिंसाका लागि जिम्मेवार रहेको बताएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार प्रदर्शनका क्रममा ३,११७ जनाको मृत्यु भएको छ, जसमा २,४२७ सर्वसाधारण र बाँकी सुरक्षाकर्मी रहेको भनिएको छ।
राष्ट्रपति मसूद पेजेशकियानले मृतक सबैको नाम र विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्, तर त्यसको समयसीमा भने दिएका छैनन्। सरकारले “झूटा दाबी र तथ्याङ्क” खण्डन गर्न भन्दै नागरिकलाई एसएमएस सन्देशसमेत पठाएको छ। “एकतर्फी सन्देशले रगत मेटिँदैन, धेरै ईरानीहरू अझै शोकमा छन्,” एक ईरानी महिलाले प्रतिक्रिया दिएकी छन्।
आन्तरिक तनाव कम गर्ने संकेतस्वरूप सरकारले महिलालाई मोटरसाइकल चलाउन अनुमति दिने तयारी भइरहेको जानकारी दिएको छ। तर संसदभित्र भने कट्टरपन्थी सांसदहरूले IRGC को पोशाक लगाएर “डेथ टु अमेरिका” नारा लगाएका दृश्य देखिएका छन्।
यो अवस्था युरोपेली संघले IRGC लाई ‘आतङ्ककारी संगठन’ घोषणा गरेपछि थप चर्किएको हो। यसको प्रत्युत्तरमा तेहरानले युरोपेली संघका सशस्त्र बलहरूलाई प्रतिबन्धित सूचीमा राखेको छ। IRGC ले यस्ता कदमले क्षेत्रीय शान्ति र सहकार्य झन् कठिन बनाउने चेतावनी दिएको छ।
यसैबीच ईरानी क्रान्तिको वार्षिकोत्सवका अवसरमा देशभर शक्ति प्रदर्शनका कार्यक्रमहरू आयोजना गरिएका छन्। IRGC, सेना, प्रहरी तथा अन्य सुरक्षाकर्मीहरूको सहभागितामा तेहरानका सडकमा परेड निकालिएको छ। सैनिक मोटरसाइकल ¥यालीसहित मेहराबाद विमानस्थलदेखि बेहेश्त–ए–जहरा चिहानसम्म मार्च गरिएको छ, जहाँ खोमेनीले सन् १९७९ मा पहिलो ऐतिहासिक भाषण दिएका थिए।
क्रान्ति दिवस आयोजनाका प्रमुख हमिद्रेजा हाजिबाबाईका अनुसार फेब्रुअरी ११ मा देशभर ठूला प्रदर्शनहरू आयोजना गरिनेछन्, जसले “वैश्विक अहंकारको उपस्थितिको अन्त्य” सन्देश दिनेछन्।
खामेनीले आफ्नो भाषणमा राज्यद्वारा आयोजित कार्यक्रममा लाखौँ मानिस सहभागी भएको दाबी गर्दै सरकारविरोधी प्रदर्शनमा भने “केही हजार मात्र” उत्रिएको दाबी गरे। यता सरकारी टेलिभिजन र सम्बन्धित च्यानलहरूले प्रदर्शनलाई “दंगा” भन्दै आलोचनात्मक कार्यक्रम प्रसारण गरिरहेका छन्। IRGCसँग आबद्ध एक टेलिभिजन च्यानलले प्रदर्शनकारीमाथि व्यंग्य गरेपछि व्यापक आलोचना भएको र च्यानलका निर्देशकलाई हटाइएको छ।
“उनीहरूले हाम्रो घाउमा नुन छर्किरहेका छन्,” सुरक्षाको कारण नाम नखुलाउन चाहने एक विद्यार्थीले प्रतिक्रिया दिएका छन्, “हाम्रा युवाहरू मारिए भनेर स्वीकार्छन्, अनि राज्य टेलिभिजनमै ती मृतकहरूलाई उपहास गर्छन्।”











प्रतिक्रिया