अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँगको टकरावलाई अभूतपूर्व स्तरमा पुर्याउँदै त्यहाँ आउने–जाने सबै तेल ट्याङ्करमाथि पूर्ण नाकाबन्दीको आदेश दिएका छन् । ट्रम्पले राष्ट्रपति निकोलस मादुरोको शासनलाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गर्दै भेनेजुएलाले अमेरिकी सम्पत्ति चोरी गरी आतंकवाद, लागुऔषध तस्करी, मानव बेचबिखन तथा अन्य आपराधिक गतिविधिमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत दिएको सन्देशमा दक्षिण अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो नौसैनिक घेराबन्दी भेनेजुएलाको वरिपरि तैनाथ गरिएको दाबी गरेका छन् । उनले यो घेराबन्दी अझै विस्तार हुँदै जाने र त्यसको प्रभाव मादुरो शासनले कल्पना पनि नगरेको स्तरको हुने चेतावनी दिएका छन् । अमेरिकाबाट चोरी गरिएका तेल क्षेत्र, भूमि र अन्य सम्पत्ति फिर्ता नगरेसम्म दबाब जारी रहने ट्रम्पको भनाइ छ ।
उनका अनुसार मादुरो शासनले कथित रूपमा चोरी गरिएका तेल क्षेत्रबाट निकालेको तेल प्रयोग गरी आफूलाई आर्थिक रूपमा टिकाइरहेको छ भने त्यसैबाट लागुऔषध आतंकवाद, मानव बेचबिखन, हत्या र अपहरणजस्ता गतिविधि सञ्चालन भइरहेको छ । यी सबै कारण देखाउँदै अमेरिकाले भेनेजुएलाको शासनलाई औपचारिक रूपमा विदेशी आतंकवादी संगठनको सूचीमा राखेको ट्रम्पले घोषणा गरेका छन् ।
यस निर्णयसँगै ट्रम्पले भेनेजुएलामा आउने–जाने प्रतिबन्धित सबै तेल ट्याङ्करमाथि ‘पूर्ण र सम्पूर्ण नाकाबन्दी’ लागू गरिएको स्पष्ट पारेका छन् । साथै, बाइडेन प्रशासनको समयमा भेनेजुएलाबाट अमेरिका पठाइएका अवैध आप्रवासी र अपराधीलाई तीव्र गतिमा फिर्ता पठाइरहेको पनि उनले बताएका छन् । अमेरिकालाई कुनै पनि देश, आतंकवादी वा आपराधिक समूहले लुट्न, धम्क्याउन वा हानि पुर्याउन नदिइने र अमेरिकी तेल, भूमि तथा सम्पत्ति तत्काल फिर्ता हुनुपर्ने उनको अडान छ ।
यसैबीच, ट्रम्पले बुधबार भेनेजुएलाको तट नजिकै ‘स्किपर’ नामक एक तेल ट्याङ्कर अमेरिकी नियन्त्रणमा लिइएको घोषणा गरे । यस घटनाले अमेरिका–भेनेजुएला तनावलाई झनै चर्काएको छ । अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीका अनुसार उक्त ट्याङ्कर भेनेजुएला र इरानबाट प्रतिबन्धित तेल ढुवानी गर्न प्रयोग भइरहेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
अमेरिकी प्रशासनका अनुसार ‘स्किपर’ जस्ता जहाजहरू प्रतिबन्ध छल्न गोप्य रूपमा तेल ओसारपसार गर्ने ठूलो सञ्जालको हिस्सा हुन् । यस्ता जहाजहरू विदेशी झण्डा प्रयोग गर्ने, नाम र स्वामित्व पटक–पटक परिवर्तन गर्ने, ट्रान्सपोंडर बन्द गरेर निगरानी छल्ने र समुद्रकै बीचमा तेल सार्ने जस्ता तरिका अपनाएर आफ्नो गतिविधि लुकाउने गर्छन् । यस्तो ‘घोस्ट शिप’ नेटवर्कमा करिब एक हजार ट्याङ्कर संलग्न रहेको दाबी गरिएको छ, जसले रुस, इरान र भेनेजुएलाजस्ता प्रतिबन्धित देशबाट तेल विश्व बजारमा पुर्याउने गर्छ ।
रिपोर्टअनुसार ‘स्किपर’ ट्याङ्करमा डिसेम्बरको सुरुवातमा करिब १८ लाख ब्यारेल तेल लोड गरिएको थियो । नियन्त्रणमा लिनुअघि त्यसबाट करिब दुई लाख ब्यारेल तेल अन्यत्र सारिएको बताइएको छ । हालको औसत तेल मूल्यका आधारमा उक्त ट्याङ्करमा रहेको तेलको मूल्य ६० मिलियनदेखि १०० मिलियन डलरसम्म हुन सक्ने अनुमान गरिएको छ ।
तेल नाकाबन्दी र ट्याङ्कर नियन्त्रणसँगै अमेरिकी सेनाले भेनेजुएलाको नजिकै लागुऔषध तस्करीमा संलग्न जहाजहरूविरुद्ध सैन्य कारबाहीसमेत तीव्र बनाएको छ । सेप्टेम्बरयता त्यस्ता जहाजहरू लक्षित कम्तीमा २२ वटा आक्रमण भएको र ती कारबाहीमा ८७ जनाको मृत्यु भएको बताइएको छ ।
यी सैन्य कारबाही र नाकाबन्दीलाई भेनेजुएलामाथि अमेरिकी दबाब रणनीतिको हिस्सा मानिएको छ, जसको उद्देश्य केवल लागुऔषध तस्करी रोक्नु मात्र नभई तेलसम्पन्न भेनेजुएलामा मादुरो शासनलाई कमजोर पार्नु पनि रहेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया