फ्रान्सको राजधानी पेरिसमा आईतबार तामांग समुदायको प्रमुख पर्व २८६१ औं तामाङ ल्होछार भब्यताका साथ बीच सम्पन्न भएको छ। तामाङ घेदुङ फ्रान्सको आयोजनामा सम्पन्न यस सांस्कृतिक समारोहमा ३०० भन्दा बढी दर्शकहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्यता दिएको थियो ।
कार्यक्रममा तामांग समुदायका महिला र पुरुष हरुले विभिन्न परम्परागत भेषभूषामा आकर्षक रूपमा प्रस्तुत हुँदै कार्यक्रमको रौनक बढाएका थिए। विशेष आकर्षणका रूपमा परम्परागत तामांग गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो।बिहान सबेरै तामांग धर्म गुरु द्वारा गत बर्ष फ्रान्समा मृत्यु हुनु भएका दिबंगत आत्माहरुको चिर शान्तिको लागि पूजापाठ गरिएको थियो ।कार्यक्रमको सुरुवातमा रास्ट्रिय गान बजाईएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास फ्रान्सका महामहिम राजदूत सुधिर भट्टराईले मेन्दो माया, मैच्याङ र च्याङ्वाको सेलोलाई देशको सांस्कृतिक पहिचानको रुपमा हेरिने बताउनु भएको थियो । उनले यस्ता सांस्कृतिक कार्यक्रमले बिदेशमा जन्मे हुर्केका पुस्तालाई नेपाल संग जोड्ने काम गर्ने उल्लेख गर्नु भएको थियो ।फ्रान्समा हुने जुनसुकै कार्यक्रम राजुताबासको पूर्ण सहयोग हुने बताउनु भएको थियो ।
यस समारोहको सञ्चालन सुरेश डुल्छेन लामा तामांगले गर्नु भएको थियो।कार्यक्रमको सुरुवातमा ल्होछार पर्बको महत्वको बारेमा सुरेश लामा तामांगले प्रकाश पर्नु भएको थियो।निशा लामाले आयोजक को तर्फ बाट उपस्थितहरुलाई नयाँ वर्ष २८६१ को शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष लोक पुन मगर, नेपाली एकता समाज फ्रान्सका संस्थापक तप्त भण्डारी, नेपाली सांस्कृतिक गृह फ्रान्सका अध्यक्ष नन्द कुमार थेवे, नेपाली जनसंपर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, साहित्यकार हरिहर अर्याल ,साहित्यकार,रक्तदान अभियन्ता प्रसान्त उप्रेती ज्यु लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सुभकामना मन्तब्यको क्रममा साहित्यकार उप्रेतीले तामांग घेदुङ्ग फ्रान्सको कार्यक्रम आयोजनाको लागि आर्थिक सहयोग गर्नु हुने सामाजिक मनहरुको प्रसंशा खुलेर गर्नु भएको थियो । उहाँले सामाजिक सद्भाव बढाउन यस संस्थाले गरेको योगदानको चर्चा गर्दै गर्दा कार्यक्रम स्थल तालीले गुन्जायमान भएको थियो।
कार्यक्रममा दोस्रो पुस्ताका तामांग युवा युवती हरूले पनि सक्रिय सहभागिता जनाए, जसले कार्यक्रममा नयाँ पुस्ताको सांस्कृतिक चासो र उत्साहलाई झल्कायो। उनीहरूको उपस्थितिले तामांग समुदायको पहिचान र मौलिकताको निरन्तरतालाई बलियो बनाएको सहभागीहरूले बताए ।
कार्यक्रममा प्रस्तुत गरिएका परम्परागत नृत्य र गीतहरूले दर्शकहरूलाई विदेशमै बसेर पनि आफ्नो गाउँघरको सम्झना दिलाएका थिए। यो अवसरले परिसमा रहेका तामांग समुदायलाई एकत्रित गर्न र आफ्नो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न प्रोत्साहित गरेको छ।
तामांग घेदुङ्ग फ्रान्सका अध्यक्ष मिलन लामाले ल्होछार जस्तो सांस्कृतिक पर्वले समुदायलाई एकताबद्ध गर्नुका साथै नयाँ पुस्तामा आफ्नो परम्पराप्रति गर्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यो पर्वले समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको कुरा पनि उल्लेख गरे।यस वर्षको ल्होछारमा नेपाली समुदायको बाक्लो उपस्थितिले कार्यक्रमलाई अझ विशेष र यादगार बनाएको थियो। – प्रशान्त उप्रेती
प्रतिक्रिया