दैनिक १० घण्टा बन्द रहँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिवारबाट दैनिक आठ घण्टा मात्रै बन्द रहँदा अन्तर्राष्ट्रिय उडानमा यसअघि महँगिएको टिकट मूल्य थप सस्तो हुने अधिकारी र व्यवसायीले बताएका छन्। विमानस्थलको धावनमार्ग विस्तारका कारण यसअघि बिहान ८ बजेबाट राती १० बजेसम्म मात्रै भइरहेका उडानहरू अब बिहान ७ बजे खुल्ने ११ बजे बन्द हुनेछ। नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल सञ्चालनको अवधि यसअघिको १४ घण्टाबाट बढेर १६ घण्टा पुग्दा १२ प्रतिशत उडान थप हुने अपेक्षा गरिएको छ।
“बिहान आन्तरिक उडान धेरै हुन्छ। सात बजे खुल्दा हामीले थप १५ वटा आन्तरिक उडान व्यवस्थापन सक्छौँ,” नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल भन्छन्। “बेलुका अन्तर्राष्ट्रिय उडान धेरै हुन्छ। राती ११ बजेसम्म विमानस्थल खुल्दा थप पाँचवटा उडान र पाँचवटा अवतरण गरेर १० वटा उडान थप्न सकिन्छ।” प्राधिकरणका सूचना अधिकारी भूलले कतिपय वायुसेवा कम्पनीले माग गरेर पनि दिन नसकिएका केही उडानहरू अब थप गर्न सकिने बताए।
“हिजोको दिनमा विमानस्थल बन्द हुँदा जुन-जुन वायुसेवा कम्पनीलाई हामीले उडान दिन सकेका थिएनौँ। अब त्यो वायुसेवा कम्पनीको माग बमोजिमको थप उडान कार्यतालिका हामी दिन सक्छौँ,” उनले भने।
उडान सङ्ख्या थपिएसँगै नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुहरू लैजाने क्षमता पनि स्वतः बढ्ने भएका कारण महँगिएको टिकट दर थप घट्ने नागरिक उड्डयन प्राधिकरणको दाबी छ।
“प्रतिस्पर्धामा आधारित भाडा प्रणाली हो। उडान सङ्ख्या थपिएसँगै भाडा दर पनि घटिहाल्छ,” उनले भने।
नेपाल असोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’का अध्यक्ष कुमारमणि थपलिया प्राधिकरणले समयमै जानकारी नगराएका कारण हवाई टिकटको मूल्य घट्न अझै केही समय लाग्न सक्ने बताउँछन्।
“प्राधिकरणलाई उडान अवधि बढ्ने दुई महिना अघि नै थाहा थियो। प्राधिकरणले विन्टर सेड्युल संशोधन गरेर दिएको भए सुरुबाटै सिटहरू थपिन्थ्यो। त्यसो नहुँदा अब १०-१२ दिनपछि मात्रै यसको प्रभाव देखिन्छ,” उनले भने।
अहिले जाडो महिना भएका कारण हवाई यात्रुहरूको चाप पनि कम भएका कारण माग-आपुर्तिका आधारमा नै हवाई भाडा केही घटेको अवस्था रहेको ट्राभल एजेन्सी सञ्चालकहरू बताउँछन्।
नेपालमा पर्यटकहरू आउने याम र चाडबाडका समयमा आन्तरिक सँगै अन्तर्राष्ट्रिय उडानमा यात्रुहरूको चाप हुने गर्छ।
“पर्यटकहरूको सिजन छैन। नेपालीहरूको आवागमन पनि पहिले भन्दा घटेका कारण यात्रुको चाप घटेको छ। उडान अवधिले पनि मूल्य घट्न थप सहयोग चाहिँ गर्छ,” थपलिया भन्छन्।
थपलियाका अनुसार त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द रहँदा गत नोभेम्बरमा एकतर्फी नै ५० हजारसम्म पुगेको काठमाण्डूबाट दिल्लीको हवाई टिकट अबको साता ३२ हजारसम्म दुईतर्फी नै पाइने देखिएको छ।
“यो बीचमा दुबई लगायतका केही गन्तव्यको खासै घटेको थिएन अब त्यो पनि घट्नसक्छ,” उनले भने।
दैनिक २१ घण्टा खुला हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदा त्यसबेला अन्तर्राष्ट्रिय उडानहरू ३० प्रतिशतसम्म कटौती भएका थिए।
नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान र अवतरणमा प्रत्यक्ष असर पर्ने धावनमार्ग भन्दा ७५ मिटर आसपास भइरहेको निर्माण कार्य ६० प्रतिशत सकिएको छ।
“जुन काम गर्दा उडान प्रभावित हुन्छ त्यो काम ६० प्रतिशत सकिएको छ,” भूलले भने।
विमानस्थल विस्तारको पूर्ण काम सन् २०२६ को अन्त्यतिर मात्रै सकिने कार्यतालिका भए तापनि धावनमार्गसँग जोडिएका पार्किङ, ट्याक्सी वे लगायतका संरचनाहरूको निर्माण मार्च अन्तिमभित्र सक्ने योजना प्राधिकरणको थियो। बीबीसी न्यूज नेपालीका अनुसार सूचना अधिकारी भूलले निर्धारित समयभित्रै उडान प्रभावित हुने क्षेत्रमा संरचना निर्माणको काम सक्ने गरी काम भइरहेको दाबी गरे।
“अप्रिल सुरुबाट विमानस्थल साबिककै क्षमतामा चल्छ,” उनले भने।
प्राधिकरणका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८० लाख यात्रु व्यवस्थापनको क्षमता राख्छ। धावनमार्ग विस्तारको काम सकिएपछि सन् २०२६ को अन्त्यबाट विमानस्थलले वार्षिक एक करोड यात्रु व्यवस्थापनको क्षमता बनाउने भूल बताउँछन्।
“विमानस्थलको क्षमता एअरस्पेस, एअर ट्राफिक र धावनमार्गको क्षमतामा निर्भर रहन्छ। विस्तार पछि एअर ट्राफिक र एअर स्पेस बाहेकको अन्य क्षमता बढ्ने भएकोले गर्दा सम्पूर्ण कामहरू भइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता २० देखि २५ प्रतिशत बढेर झन्डै वार्षिक एक करोड यात्रु हामी व्यवस्थापन गर्न सक्छौँ भन्ने हाम्रो अनुमान छ,” सूचना अधिकारी भूल भन्छन्। – अशोक दाहाल
प्रतिक्रिया