स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा बढ्दो आवास संकट, संसदमा सरकारका महत्वपूर्ण प्रस्ताव असफल भएपछि र आफ्नो अल्पमत सरकारमाथि राजनीतिक दबाब चर्किँदै गएपछि आगामी नोभेम्बर २९ मा आकस्मिक आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।
सोमबार राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै सान्चेजले सामाजिक सुधार अघि बढाउन र विशेषगरी आवास, सार्वजनिक सेवा तथा असमानताका समस्या समाधान गर्न संसदमा अझ बलियो प्रगतिशील बहुमत आवश्यक रहेको बताए। उनले आफ्नो सरकारले गल्ती गरेको र सबै लक्ष्य पूरा गर्न नसकेको स्वीकार गर्दै अब देशको भविष्यबारे निर्णय गर्ने जिम्मा जनताको भएको बताएका छन्।
निर्वाचन निर्धारित समयभन्दा करिब आठ महिना अगाडि हुन लागेको हो। स्पेनमा नियमित आमनिर्वाचन सन् २०२७ को गर्मीयामसम्म गरिसक्नुपर्ने व्यवस्था थियो।
सान्चेजको निर्णय संसदले भाडामा बस्ने नागरिकलाई थप सुरक्षा दिने उद्देश्यले ल्याइएका दुई आवाससम्बन्धी प्रस्ताव अस्वीकार गरेपछि आएको हो। ती प्रस्तावमा कमजोर आर्थिक अवस्थाका भाडावाललाई घरबाट निकाल्न रोक लगाउने, निश्चित भाडा सम्झौताको अवधि बढाउने, पर्यटक आवासमा कर कडाइ गर्ने र ठूला लगानी कोषले आवासीय सम्पत्ति खरिद गर्दा नियन्त्रण गर्ने उपाय समावेश थिए।
स्पेनको आवास संकट ८७ वर्षीया मारिकार्मेन अबास्काललाई म्याड्रिडस्थित उनले सात दशकभन्दा बढी समयदेखि बस्दै आएको घरबाट निकालिएपछि राष्ट्रिय बहसको केन्द्रमा पुगेको थियो। उनको मासिक भाडा ५०० युरोबाट एकाएक २ हजार ६५० युरोसम्म बढाइएको थियो। पछि रकम घटाइए पनि उनको पेन्सनभन्दा बढी नै रहेको बताइएको छ। उनलाई घरबाट स्ट्रेचरमा निकालिएको दृश्य सार्वजनिक भएपछि म्याड्रिड, बार्सिलोना र भ्यालेन्सियासहित विभिन्न सहरमा दशौं हजार मानिस सडकमा उत्रिएका थिए।
सान्चेज नेतृत्वको वामपन्थी गठबन्धनमा समाजवादी पार्टी र सुमार सहभागी छन्, तर संसदमा उनीहरूसँग स्पष्ट बहुमत छैन। सरकार टिकाउन क्याटालोनिया र बास्क क्षेत्रका क्षेत्रीय तथा स्वतन्त्रतावादी दलहरूको समर्थनमा निर्भर रहँदै आएको छ।
सन् २०१८ देखि प्रधानमन्त्री रहेका सान्चेज पछिल्ला महिनामा आवास संकटसँगै महँगी, आप्रवासन र आफ्नो पार्टी तथा निकट व्यक्तिहरूसँग जोडिएका भ्रष्टाचार अनुसन्धानका कारण पनि दबाबमा छन्।
विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टीका नेता अल्बर्टो नुनेज फेइहोले आकस्मिक निर्वाचनको घोषणाको स्वागत गर्दै अब स्पेनी जनताले परिवर्तन चाहने वा वर्तमान सरकारलाई निरन्तरता दिने भन्ने निर्णय गर्न पाउने बताएका छन्।
पछिल्ला अधिकांश जनमत सर्वेक्षणमा पिपुल्स पार्टी अगाडि देखिएको छ। तर एक्लै सरकार बनाउन पर्याप्त बहुमत नपुगे उसले दक्षिणपन्थी भोक्स पार्टीको समर्थन लिनुपर्ने सम्भावना देखिएको छ। त्यसैले नोभेम्बर २९ को निर्वाचन सान्चेजको राजनीतिक भविष्य मात्र नभई स्पेनको भावी राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
प्रतिक्रिया