आज पत्रकारिता पनि कतै कतै फेसनजस्तै बन्न थालेको छ। सस्तो लोकप्रियता, भाइरल हुने लोभ, भ्युज, लाइक र फलोअरको पछि दौडिँदा पत्रकारिताको मूल धर्म, मर्म र जिम्मेवारी नै ओझेलमा पर्न थालेका छन्। मोबाइल घुमायो, मनमा जे आयो त्यही बोल्यो, कुनै कुरा पुष्टि नै नगरी फेसबुक, युट्युब वा टिकटकमा पोस्ट गर्यो अनि आफूलाई पत्रकार घोषणा गर्यो अहिले यस्तो प्रवृत्ति बढ्दो छ।
पत्रकारिता रहरको विषय मात्र होइन। पत्रकारिता गर्न तथ्य बुझ्नुपर्छ, स्रोत जाँच्नुपर्छ, अर्को पक्ष सुन्नुपर्छ, विषयको संवेदनशीलता बुझ्नुपर्छ र आफूले लेखेको वा बोलेको कुराले समाजमा कस्तो प्रभाव पार्छ भन्ने सोच्नुपर्छ। पत्रकारको एउटा गलत शब्दले कसैको प्रतिष्ठा ध्वस्त हुन सक्छ, परिवारमा तनाव आउन सक्छ, व्यवसाय प्रभावित हुन सक्छ, समाजमा भ्रम फैलिन सक्छ र कहिलेकाहीँ ठूलो द्वन्द्वसमेत निम्तिन सक्छ।
तर आज कतिपयलाई यी कुराको कुनै मतलब छैन। कसैले कतै केही भन्यो, सामाजिक सञ्जालमा कुनै पोस्ट देखियो, एउटा भिडियो क्लिप भेटियो त्यसैलाई आधार बनाएर “ब्रेकिङ”, “भण्डाफोर”, “सनसनी”, “देश हल्लियो” भन्दै सामग्री उत्पादन गरिन्छ। कुरा सत्य हो कि होइन, सन्दर्भ के हो, प्रमाण छ कि छैन, सम्बन्धित पक्षको भनाइ के छ यी कुरा पछि पर्छन्। पहिलो प्रश्न हुन्छ कति भ्युज आउला ?
यही मानसिकता पत्रकारिताका लागि खतरनाक छ।
फेसबुक, युट्युब, टिकटक वा अन्य डिजिटल माध्यम आफैँमा खराब होइनन्। यी आधुनिक पत्रकारिताका अत्यन्त प्रभावकारी माध्यम हुन्। तर माध्यम आधुनिक हुँदैमा पत्रकारिताको आधारभूत मूल्य परिवर्तन हुँदैन। सत्य, तथ्य, निष्पक्षता, जिम्मेवारी, संवेदनशीलता र जवाफदेहिता हिजो पनि आवश्यक थिए, आज पनि छन् र भोलि पनि रहनेछन्।
मोबाइल राम्रो भयो भन्दैमा मानिस पत्रकार हुँदैन। क्यामेरा बोक्दैमा पत्रकार हुँदैन। माइक्रोफोन समात्दैमा पत्रकार हुँदैन। फेसबुक पेज, युट्युब च्यानल वा लाखौँ फलोअर हुनु पनि पत्रकारिताको प्रमाणपत्र होइन। पत्रकारको वास्तविक शक्ति उसको क्यामेरा होइन, उसको विवेक हो। उसको पहिचान भ्युज होइन, विश्वसनीयता हो।
आज अर्को समस्या पनि देखिन्छ सबै विषयमा सबैलाई बोल्नैपर्ने रोग। राजनीति, अर्थतन्त्र, स्वास्थ्य, युद्ध, कूटनीति, कानून, धर्म, विज्ञान, सेयर बजार—विषय जे आए पनि आफू नै विशेषज्ञझैँ बोल्ने। न विषयको अध्ययन, न तथ्यको ज्ञान, न जिम्मेवारीको बोध। “मलाई थाहा छैन” भन्न सक्नु पनि पत्रकारिताको इमानदारी हो। पत्रकार सबै विषयको विज्ञ हुनुपर्दैन; उसले सही विज्ञ खोज्न र सही प्रश्न गर्न जान्नुपर्छ।
समाचार र विचारबीचको सीमासमेत धमिलो बन्दै गएको छ। “मलाई लाग्छ” भन्ने व्यक्तिगत अनुमानलाई तथ्यजस्तो प्रस्तुत गरिन्छ। कसैले आरोप लगायो भने त्यसलाई दोष प्रमाणित भएझैँ लेखिन्छ। कसैले “हुन सक्छ” भन्यो भने शीर्षकमा “भइसक्यो” बनाइन्छ। पत्रकारितामा आरोप तथ्य होइन, अनुमान प्रमाण होइन र सामाजिक सञ्जालको पोस्ट आधिकारिक दस्तावेज होइन।
दर्शक र पाठकको पनि यसमा जिम्मेवारी छ। सन्तुलित, तथ्यपूर्ण र शान्त समाचारभन्दा उत्तेजक, रिस उठाउने, डर देखाउने र सनसनीपूर्ण सामग्री बढी हेरियो भने बजार त्यतै जान्छ। हामीले जे क्लिक गर्छौँ, जे शेयर गर्छौँ र जसलाई वाहवाही गर्छौँ, त्यही प्रकारको सूचना संसार अझ ठूलो हुँदै जान्छ।
पत्रकारिता आलोचना हो, गाली होइन। प्रश्न हो, प्रतिशोध होइन। स्वतन्त्रता हो, मनपरी होइन। सार्वजनिक हित हो, व्यक्तिगत स्वार्थ होइन।
पत्रकार हौँ भन्नेहरूले त झन् पत्रकारितामाथि अन्याय नगरौँ। अपुष्ट कुरा नबोलौँ। नबुझेको विषयमा सर्वज्ञानी नबनौँ। आरोपलाई तथ्य नबनाऔँ। विचारलाई समाचार भनेर नबेचौँ। भ्युजका लागि मानिसको प्रतिष्ठासँग नखेलौँ।
समाचार प्रकाशन गर्नुअघि कम्तीमा चार प्रश्न आफैँलाई सोधौँ यो सत्य हो ? यसको प्रमाण के छ ? अर्को पक्षको भनाइ के छ ? यसले कसलाई कस्तो असर पार्न सक्छ ?
पत्रकारिता सबैभन्दा पहिले समाचार हाल्ने दौड होइन, सही समाचार दिने जिम्मेवारी हो। समाजलाई सबैभन्दा चर्को बोल्ने पत्रकार होइन, विश्वास गर्न सकिने पत्रकार चाहिएको छ।
भ्युज आज आउँछ, भोलि हराउँछ। भाइरल प्रसिद्धि क्षणिक हुन्छ। तर पत्रकारले एकपटक गुमाएको विश्वास सजिलै फर्किँदैन।
त्यसैले पत्रकारितालाई फेसन होइन, जिम्मेवारी बनाऔँ; रहर होइन, साधना बनाऔँ। पत्रकारिता गर्ने हो भने यसको धर्म र मर्म बुझेर गरौँ। किनकि पत्रकारको एउटा जिम्मेवार शब्दले कसैलाई न्याय दिन सक्छ, र एउटा गैरजिम्मेवार शब्दले कसैको जीवनभरको प्रतिष्ठा नष्ट गर्न सक्छ।
लेखक अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका अध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया