नेपालको राजनीति लामो समयदेखि सिमित पुराना अनुहारहरूको ‘सिन्डिकेट’ भित्र निसास्सिएको थियो। तर, पछिल्लो समय दलीय संरचनाभित्र र बाहिरबाट जुन विद्रोहको आगो दन्किएको छ, त्यसले राजनीतिमा नयाँ युगको सङ्केत गरेको छ। यस सन्दर्भमा राजेन्द्र लिङ्देनको आँट, भर्खरै देखिएको जेन्जी आन्दोलनको जग, गगन थापाको कदम र मिडियाको ‘निषेधको राजनीति’ लाई एउटा फराकिलो चित्रमा हेर्न आवश्यक छ।
नेपाली राजनीतिमा स्थापित नेतृत्वलाई चुनौती दिन सकिँदैन भन्ने भाष्यलाई तोड्ने पहिलो साहसी कदम राजेन्द्र लिङ्देनले चालेका हुन्। उनले पुराना नेताहरू विरुद्ध विद्रोह गरेर राजतन्त्र र सनातन सभ्यतामा नयाँ पुस्ताले पनि चासो राखेर नेतृत्व गर्न सक्छ भनेर देखाइदिए। त्यो केवल एउटा पार्टी भित्रको चुनाव मात्र थिएन, त्यो ‘यथास्थिति’ विरुद्धको पहिलो शङ्खनाद थियो।
राजावादी विद्रोहकै परिमार्जित रूप राजेन्द्र लिङ्देन र राजावादीहरूले सडकबाट जुन असन्तुष्टिको विजारोपण गरे, त्यसको प्रभाव भर्खरै देखिएको ‘जेन्जी (Gen-Z) आन्दोलन’ मा स्पष्ट देखिन्छ। यो जेन्जी आन्दोलन एक्कासि वा शून्यतामा उदाएको होइन; यसको जग पनि राजावादीहरूकै विद्रोहको परिमार्जित र आधुनिक रूप थियो। पुराना दल र नेतृत्वप्रतिको चरम वितृष्णालाई राजावादीहरूले जसरी बाहिर ल्याएका थिए, नयाँ पुस्ता (Gen-Z) ले त्यसै भावनालाई आत्मसात् गर्दै अझ सशक्त शैलीमा प्रस्तुत गरे। अर्थात्, राजावादीहरूले बालेको विद्रोहको दियोलाई नै जेन्जी पुस्ताले राँको बनाएर अघि बढाएका हुन् भन्दा फरक पर्दैन।

विशेष महाधिवेशन र बाध्यात्मक विद्रोह सडकमा राजावादी र जेन्जी पुस्ताको विद्रोह देखेपछि नै मूलधारका दलभित्र पनि हलचल मच्चियो। गगन थापाले भर्खरै विशेष महाधिवेशनको माध्यमबाट जसरी नेतृत्वका लागि विद्रोह गरे र आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई पुनर्गठित गर्ने आँट देखाए, त्यो राजेन्द्रको विद्रोह र जेन्जी आन्दोलनकै बाध्यात्मक र सिलसिलेबार असर हो। गगनले बुझिसकेका थिए कि अब पनि पुरानै शैलीमा चल्ने हो भने पार्टीको भविष्य छैन तर विडम्बना, यति ठूलो राजनीतिक पृष्ठभूमि र जनभावनाको उभार आउँदा पनि मूलधारका मिडिया र बौद्धिक बहसहरू भने पूर्वाग्रहबाट मुक्त हुन सकेका छैनन्। अहिले देशको भावी प्रधानमन्त्री वा मुख्य नेतृत्वको बहस चल्दा मिडियाले केवल केपी ओली, बालेन शाह र गगन थापाको नामलाई मात्र केन्द्रमा राखेको देखिन्छ। बहसको केन्द्रमा यी तीन पात्र (ओली, बालेन र गगन) मात्र हुनु र अरूलाई पूरै बेवास्ता गर्नु नै ‘निषेधको राजनीति’ को ज्वलन्त नमुना हो।
मिडियाको यो निषेधकारी चश्माले सबैभन्दा बढी अन्याय धरानका मेयर हर्क साम्पाङलाई गरेको छ। दलीय झन्डाबिना श्रमदान र जनसहभागिताको लोभलाग्दो मोडेल खडा गर्ने हर्क साम्पाङको नाम प्रधानमन्त्रीको दाबेदार वा राष्ट्रिय नेतृत्वको बहसमा नआउनु संयोग मात्र होइन।
जसले विद्रोहको जग बसाले (राजेन्द्र लिङ्देन), जसले त्यसलाई आधुनिक रूप दिए र जसले भुइँतहमा काम गरेर देखाए (हर्क साम्पाङ) र उनीहरूलाई बहसमै नल्याई केवल ओली, गगन र बालेनको वरिपरि घुम्नुले मिडियाको नियतमाथि प्रश्न खडा गरेको छ।
अन्त्यमा, गगन थापाको विद्रोह वा जेन्जी आन्दोलन, यी सबैको सूत्रधार कतै न कतै राजेन्द्र लिङ्देनको त्यो सुरुवाती विद्रोह नै थियो। तर, जबसम्म मिडियाले ‘केपी-बालेन-गगन’ को त्रिकोणबाट बाहिर निस्केर हर्क साम्पाङ र राजेन्द्र लिङ्देनजस्ता पात्रलाई बहसमा समान स्थान दिँदैन, तबसम्म यो देशको राजनीतिक बहस अधुरो, एकाङ्की र निषेधकारी नै रहनेछ।
चेतना भया..
प्रतिक्रिया