अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोविरुद्धको दबाब अभियानलाई अझ कडा बनाउँदै लगेका छन् र मादुरो जस्तो “कठोर शासक” देशको नेतृत्वमा रहनु हुँदैन भन्ने आफ्नो धारणा स्पष्ट पारेका छन्। यसैबीच, भेनेजुएलाका सहयोगी राष्ट्र चीन र रूसले अमेरिकाको पछिल्ला कदमप्रति तीव्र प्रतिक्रिया जनाउँदै क्षेत्रीय तनाव बढ्दै गएको संकेत दिएका छन्।
ट्रम्प प्रशासनले पछिल्ला महिनाहरूमा ल्याटिन अमेरिकाको समुद्री क्षेत्रमा लागुऔषध ओसारपसारसँग सम्बन्धित भएको दाबी गरिएका डुंगाहरूलाई लक्षित गर्दै लगातार आक्रमणहरू गरेको छ। यही महिनामात्रै अमेरिकाले भेनेजुएलाभित्र र बाहिर आवतजावत गर्ने प्रतिबन्धित तेल ट्यांकरहरूमा “पूर्ण नाकाबन्दी” घोषणा गरेको थियो। यसका लागि क्यारिबियन र आसपासका क्षेत्रमा अमेरिकी नौसैनिक शक्ति उल्लेखनीय रूपमा बढाइएको छ।
अमेरिकी प्रशासनले यी कारबाहीहरूलाई अमेरिकामा लागुऔषधको प्रवाह रोक्ने प्रयासको हिस्सा भनेको भए पनि, समग्र अभियान मादुरोलाई सत्ताबाट हटाउने उद्देश्यतर्फ केन्द्रित देखिन्छ। यो ट्रम्पद्वारा मादुरोमाथि गरिएको पहिलो दबाब होइन। उनले आफ्नो पहिलो कार्यकालमै भेनेजुएलामाथि कडा प्रतिबन्ध लगाए र विपक्षी नेता हुआन ग्वाइदोको समर्थन गरेका थिए।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको दबाब अभियान मादुरोलाई पद त्याग गर्न बाध्य पार्न “सम्भवतः पर्याप्त” हुने बताएका छन्। “उनी के गर्न चाहन्छन्, त्यो उनकै कुरा हो,” ट्रम्पले भने, “तर मलाई लाग्छ, त्यस्तो गर्नु उनीका लागि बुद्धिमानी हुनेछ। अब हामी के हुन्छ भनेर हेर्नेछौं।”
ह्वाइट हाउसले ऐतिहासिक रूपमा भेनेजुएलामा शासन परिवर्तनको लक्ष्य राखेको छ कि छैन भन्ने प्रश्नमा टिप्पणी गर्न अस्वीकार गर्दै आएको छ। तर अमेरिकाले मादुरोलाई वैध राष्ट्रप्रमुखको रूपमा मान्यता नदिने र उनलाई लागुऔषध कारोबारसँग जोडिएको आरोप लगाउँदै आएको छ।
अमेरिकाको यी कदमप्रति चीन र रूसले कडा आपत्ति जनाएका छन्। भेनेजुएलाको तट नजिकै अमेरिकी सेनाले तेल ट्यांकरहरू नियन्त्रणमा लिएपछि चीनले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको आरोप लगाएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले अन्य देशका जहाजहरू मनपरी रूपमा कब्जा गर्नु सार्वभौमिकता र सुरक्षामाथिको हस्तक्षेप भएको बताए। उनले एकतर्फी दबाब र ‘बुलिङ’ शैलीको कार्यप्रति बेइजिङको विरोध रहेको स्पष्ट पारे।
यसैबीच, रूसको परराष्ट्र मन्त्रालयले रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र भेनेजुएलाका विदेशमन्त्री इभान गिलबीच टेलिफोन संवाद भएको जानकारी दिएको छ। उक्त वार्तामा रूसले भेनेजुएलाका नेतृत्व र जनताप्रति पूर्ण समर्थन र ऐक्यबद्धता पुनः पुष्टि गरेको जनाइएको छ। मन्त्रालयको वक्तव्यमा वासिङ्टनले क्यारिबियन क्षेत्रमा तनाव बढाउने कदम चालेको भन्दै यसले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय जलयातायातमा गम्भीर खतरा सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ।
रक्षा तथा विदेश नीति अध्ययनसम्बन्धी क्याटो इन्स्टिच्युटकी वरिष्ठ अनुसन्धानकर्ता क्याथरिन थम्पसनका अनुसार, रूस र चीनजस्ता प्रतिस्पर्धी राष्ट्रहरू ट्रम्प प्रशासनले मादुरो शासनलाई किन यति प्राथमिकतामा राखेको हो भन्ने विषयमा अलमलमा पर्न सक्छन्। उनका अनुसार भेनेजुएलाले अन्य अन्तर्राष्ट्रिय विवादित क्षेत्रहरूजति अमेरिकाको हितमा प्रत्यक्ष खतरा नपुर्याउने हुँदा पनि ‘अमेरिका फर्स्ट’ नीतिका बीच मादुरोमाथि यति ध्यान केन्द्रित हुनु उनीहरूका लागि बुझ्न गाह्रो हुन सक्छ।
ट्रम्प प्रशासनले सेप्टेम्बरदेखि यता ल्याटिन अमेरिकी समुद्री क्षेत्रमा करिब ३० वटा आक्रमण गरेको जनाएको छ। लागुऔषध ओसारपसार नियन्त्रणका लागि ट्रेन दे आरागुआ, सिनालोआ कार्टेलजस्ता समूहहरूलाई विदेशी आतङ्कवादी संगठन घोषणा गरिएको छ। साथै, क्षेत्रीय उपस्थितिलाई अझ बलियो बनाउन अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर. फोर्डसमेत पठाइएको छ, जुन असाधारण कदम मानिन्छ।
समुद्री आक्रमणसँगै ट्रम्पले पछिल्ला महिनाहरूमा भेनेजुएलाको भूभागमै पनि आक्रमण गर्न सकिने संकेत दिएका छन्। “हामी अहिले यस्तो स्तरमा लागुऔषध डुंगाहरू ध्वस्त पारिरहेका छौं, जुन पहिले कहिल्यै देखिएको थिएन,” ट्रम्पले डिसेम्बरको सुरुवातमा भनेका थिए, “छिट्टै हामी जमिनमा पनि त्यही गर्नेछौं।”
यद्यपि ट्रम्प प्रशासनले यी आक्रमण गर्ने कानुनी अधिकार आफूहरूसँग रहेको दाबी गरे पनि डेमोक्र्याटहरू र केही रिपब्लिकन सांसदहरूले यसको वैधतामाथि प्रश्न उठाएका छन्। अमेरिकी सिनेटका अल्पमत नेता चक शुमर, टिम केन, एडम शिफ र र्यान्ड पललगायत सांसदहरूले भेनेजुएलाभित्र वा विरुद्ध अमेरिकी सेना प्रयोग गर्न नपाइने व्यवस्था गर्न ‘वार पावर्स’ प्रस्तावसमेत पेश गरेका छन्।
प्रतिक्रिया